मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार २१:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिनाका योजनाकार ढकाल जेल चलान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार २१:४२:००

ललितानिवास जग्गा हिनामिनाका योजनाकारमध्ये एक शोभाकान्त ढकाल पुर्पक्षका लागि कारागार चलान भएका छन् । विशेष अदालतमा उपस्थित भएका उनलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश दिएको हो । 

मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सो मुद्दामा विशेषले तीनजनालाई थुनामा पठाउने आदेश दिएको छ । 

अदालतमा उपस्थित भएका पहिलो प्रतिवादी मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाउने आदेश भएको थियो । पछि उनी सर्वोच्च अदालतबाट छुटे । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पनि थुनामा पठाउने आदेश भएकोमा उनी डिल्लीबजार कारागारमा छन् । 


ढकाललाई थुना पठाउन उनकी श्रीमती उमाकुमार ढकाल्नीको बयानलाई समेत आधार बनाइएको छ । 

छानबिन प्रतिवेदन, मालपोतका कर्मचारी,  परिस्थितिजन्य अवस्था, राणा परिवारको बयानका आधारमा विशेषले उनलाई थुनामा राख्नुपर्ने आदेश दिएको हो । 

आदेशम भनिएको छ, ‘थुनछेक आदेशतर्फ विचार गर्दा प्रतिवादीले आरोपित कसुरमा इन्कार गरे तापनि त्रिताल आयोगको छानबिन प्रतिवेदन, नवराज सुवेदीसमेतका व्यक्तिले गरिदिएको घटना विवरण कागज, आरोप दाबीअनुसार अधिग्रहण गरी समरजंग कम्पनीको नाममा दर्ता रहेका ललितानिवासमा पर्ने सरकारी जग्गाहरू मालपोत कार्यालय डिल्लीबजारबाट मिति २०४९/०९/२३ र २०४९/०७/२५ मा मिसिल नम्बर १०२४ र १०२५ बाट शैलजा राणालगायतका व्यक्तिहरूलाई फिर्ता गरी मिति २०६२/०९/१५ मा भएको हालसाबिक निर्णयबाट विभिन्न कित्ता जग्गाहरू उमाकुमारी ढकाल्नीसमेतका नाममा श्रेस्ता अद्यावधिक गरिएको सम्बन्धित श्रेस्ता पुर्जाबाट देखिएको निज प्रतिवादीकी श्रीमती उमाकुमारी ढकाल्नीले जग्गासम्बन्धी सबै कारोबार आफ्नो श्रीमानले गरेको भनी अदालतमा बयान गरेको, तत्कालीन अवस्थामा मालपोत कार्यालय काठमाडौंमा कार्यरत प्रकाशनारायण भट्टले व्यहोरा बुझ्न शोभाकान्त ढकाल पनि आउने गरेको भनी गरेको बयान, ललितानिवासअन्तर्गतका जग्गामध्ये प्रतिवादी शोभाकान्त ढकाल, निजकी श्रीमती उमाकुमार ढकाल्नीका नाममा विभिन्न मितिमा प्राप्त गरेको जग्गाको परिणाम, जग्गा प्राप्तिको पृष्ठभूमि, परिस्थितिजन्य अवस्था र यी प्रतिवादी उपरको आरोपित कसुरको गम्भीरतासमेतका पक्षहरूको समग्रतामा विचार गर्दा यी प्रतिवादी शोभाकान्त ढकालको हकमा विशेष अदालत ऐन २(५) को दफा ७ (ङ) को अवस्था विद्यमान रहेको देखिँदा प्रतिवादी शोभाकान्त ढकाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई कानुनबमोजिम गरी थुनामा राख्नु भनी थुनुवा पुर्जी दिई सम्बन्धित कारागारमा लेखी पठाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिमको आदेश पर्चा गरिदिएको छ ।’ 

उनीविरुद्ध ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । उनकी श्रीमती उमाकुमारी ढकाल्नीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको थियो । उनलाई अदालतले दुई लाख धरौटीमा छाडेको थियो ।