Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ २८ बुधबार २०:५१:००
Read Time : > 1 मिनेट
फिचर

म्यानमारको सैन्य कुविरुद्ध ‘राजकुमारीहरू’ आन्दोलनमा

Read Time : > 1 मिनेट
२०७७ माघ २८ बुधबार २०:५१:००

सैनिक शासक (कु)को विरोध गर्दै म्यानमारमा दिनप्रतिदिन आन्दोलन चर्किरहेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसमर्थितहरूले देशका विभिन्न सहरमा सैनिक शासकको विरोध जनाइरहेका भिडियो, तस्बिर अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले दिइरहेका छन् । 

यसैबीच आन्दोलनको पाँचौँ दिन (बुधबार) फरक किसिमको दृश्य देखिएको थियो । सैनिक शासनको विरोधमा किशोरीहरू फ्यान्सी ड्रेस (राजकुमारीले लगाउनेजस्तै पोसाक)मै आन्दोलनमा उपस्थित भएका थिए । हजारौँ किशोरी बल गाउन लगाएर म्यानमारको मुख्य सहर यांगुनमा उत्रिएका छन् । 

स्थानीय भाषामा यसलाई ‘राजकुमारीको विरोध’ भन्ने गरिन्छ । ती फ्यान्सी ड्रेसमा आन्दोलन गरिरहेका किशोरीले सैनिकको कुटपिट र लोकतन्त्र हननका कारण विरोध गर्न सडकमा आउनुपरेको प्रतिक्रिया दिएका छन् । ‘हामी सैनिकहरूको कुटपिटको विरोध प्रदर्शनमा भाग लिइरहेका छौँ, विरोधको शैली यो ड्रेस पनि एक हो,’ एक किशोरीले बिबिसीलाई भनिन् । फ्यान्सी ड्रेस लगाएका महिलाको कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

बिबिसीका अनुसार बुधबार बिहानदेखि नै सडकमा आन्दोलनकर्मी उपस्थित भएका छन् । प्रहरीले आन्दोलनकारीविरुद्ध लगातार दोस्रो दिन पनि रबर गोली तथा टियर ग्यास प्रयोग गरिरहेको छ । 

गत आइतबार म्यानमारको सेनाले निर्वाचित प्रजातान्त्रिक सरकारलाई हटाएर शासनसत्ता हातमा लिएको थियो । सेनाले एक वर्षका लागि सैनिक शासन रहने दोहो¥याउँदै आएको छ ।

कार्यालय बन्द गरी कर्मचारी पनि आन्दोलित
‘कु’को विरोधमा सरकारी कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । निजामती कर्मचारी दैनिक अफिस जानुको सट्टा सडकमा पुग्ने गरेका छन् । सैनिक प्रमुख मिङ ओङ हेङले सरकारी कर्मचारीलाई कुनै पनि आन्दोलनका कार्यक्रममा सहभागी नहुन आदेश दिएका छन् ।

सरकारी कर्मचारी आन्दोलनमा सहभागी भएको सूचना प्राप्त भए कडा कारबाही गर्ने सैनिक प्रमुख मिङ ओङले चेनावनी दिएका छन् । सैनिक प्रमुख मिङ ओङले कानुन तोड्ने जोकोही पनि कारबाहीमा पर्ने बताएका छन् । उनले आन्दोलनकारीसँग वार्ता गरेका छैनन् । तर, सरकारी टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा भने कानुन तोड्ने सबै कारबाहीमा पर्ने उद्घोष गरेका छन् । 

यद्यपि, सैनिक प्रमुखले चेतावनी दिए पनि विभिन्न सामाजिक संस्थाहरूले निजामती कर्मचारीहरूलाई लोकतन्त्र रक्षा गर्न सहयोग गर्नुपर्ने अपिल गरेका छन् । यसक्रममा ती संस्थाहरूले ‘डन्ट गो अफिस’ अफिस नजान भनी नारा लगाएका छन् । यसैबीच द नेसनल न्युजले आन्दोलन नियन्त्रणमा लिन खटिएका सैनिकहरू तीन लेयरमा रहेको जनाएको छ । सबैभन्दा अगाडिको समूहको हातमा फलामे डन्डी हुनेछ । त्यसपछिका सैनिकले टियर ग्यास बोकेका हुनेछन् । अन्तिम चरणमा गस्ती गर्ने सैनिकसँग रबर गोलीयुक्त बन्दुक रहेको द नेसनल न्युजले जनाएको छ । 

यो घेरासँगै पानीको फोहोरा फ्याँक्ने भ्यान हुनेछ । सेनाले यसै रणनीतिअनुरूप म्यानमारको विभिन्न सहरमा गस्ती गरिरहेको छ । सबैभन्दा बढी सैनिक राजधानीमा तैनाथ छन् । यसैबीच सुरक्षाकर्मीको कारबाहीमा दुई प्रदर्शनकारीको अवस्था गम्भीर भएको बताइएको छ । जसमा एक विद्यार्थी र एक डाक्टर छन् । ती दुवै प्रदर्शनकारी रबर गोलीबाट घाइते भएका हुन् ।

बिबिसीका अनुसार बुधबार भइरहेको प्रदर्शनमा एक लाखभन्दा बढी जनता सडकमा ओर्लिएका छन् । प्रदर्शनमा बौद्ध भिक्षु, शिक्षक तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति सहभागी छन् । आन्दोलनकारीहरूले नेतृ आङ साङ सुकीलगायत शीर्ष नेताको रिहाइ तथा म्यानमारमा अपदस्थ भएको सरकार पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् । 
–एजेन्सीको सहयोगमा