नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य साहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समितिले पूर्णता पाएको छ । समितिका सह–सभापतिहरूमा शक्तिकुमार बेगानी र सुबोधकुमार गुप्ता चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा शिखर इन्योरेन्सका सिइओ दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, सुनीलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र प्रकाश तिवारी चयन भएको महासंघ सचिवालयले जनाएको छ । समितिको आमन्त्रितहरूमा विजयसिंह वैद्य, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारहरूमा सौरभ ज्योति र अधिवक्ता रमण कर्ण चयन भएका छन् ।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकायहरू बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग–व्यवसाय फस्टाउने बताए । बैंकिङ, कर राजस्व, श्रमलगायतका समस्याहरूलाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेको पनि उनले जानकारी गराए ।
‘एकाइ साधन–स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही एकाइमार्फत नै समाधान गरी उद्यमी–व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘यसमा हामी छिट्टै मुभ हुन्छौँ ।’ उनले नेपालमा बिमा व्यवसाय तुलनात्मक रूपमा महँगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउँदै बिमा व्यवसाय हेर्ने नियामक निकायसँग बसेर यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समितिले दिने सुझाबबाट मुलुकभित्र वित्तीय र उद्योग–व्यवसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा जोड दिएका छन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिले तयार गर्ने सुझाबहरू साना–ठूला सबै प्रकारका उद्योग–व्यवसायलाई समेत अध्ययन गरिदिन सके त्यो बढी फलदायी हुनेमा जोड दिए ।
























