वीर गणेशमान सिंह दोस्रो १० किलोमिटर दूरीको रोडरेस आगामी चैतको पहिलो साता काठमाडौंमा हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा हुने प्रतिस्पर्धा ७ चैतमा हुनेछ ।
१० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भई पुनः त्यहीँ आएर टुंगिनेछ । पुरुष र महिला दुवैतर्फ शीर्ष पाँच स्थान हासिल गर्ने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको अनुमानित बजेट १२ लाख रहेको आयोजकले जनाएको छ । रेस डाइरेक्टर सुशीलनरसिंह राणाले प्रतियोगितामा पाँच सयको हाराहारीमा खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको जनाए । उनका अनुसार अर्काे साताबाट खेलाडी दर्ता प्रक्रिया सुरु हुनेछ ।
आयोजकले कोर्स रेकर्ड ब्रेक गर्ने पुरुष र महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने जनाएको छ । पुरुषतर्फ गोपीचन्द्र पार्कीको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड र महिलातर्फ सन्तोषी श्रेष्ठको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्स रेकर्ड छ ।