Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ माघ २७ मंगलबार १९:५१:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर ... : विमलेन्द्र निधि (अन्तर्वार्ता) 

विगतमा नेपाली कांग्रेस मुलुकबाट हरायो भन्नेहरू अहिले टर्चलाइट लिएर देउवाजीलाई खोजिरहेका छन् 

Read Time : > 4 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ माघ २७ मंगलबार १९:५१:००

संसद् विघटन, चुनाव, आन्दोलन तथा मुलुकको वर्तमान राजनीतिक विषयमा केन्द्रित रही नेपाली कांग्रेसका उपसभापति, पूर्वउपप्रधानमन्त्री, कांग्रेसका नीति निर्माणमा प्रत्यक्ष दख्खल राख्ने विमलेन्द्र निधिसँग नयाँ पत्रिकाकर्मी हदिश खुद्दारले गरेको कुराकानी :

संसद् विघटनलाई लिएर यहाँहरूको सुरुमा एउटा निष्कर्ष आयो । तर, यहाँहरूकै पार्टीको नेतृत्वमा ०७२ सालमा जारी गरिएको संविधानको खिल्ली उडाउने र औचित्य नै समाप्त गर्ने गरी प्रधानमन्त्री ओलीबाट कदम चालिए पनि कांग्रेस नरम किन देखिन्छ ? 

प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, जनविरोधी र जनमतको अपमान हो । कांग्रेस यसमा नरम भएको छैन । कांग्रेस सधैँ जोस र होसमा हुन्छ । संविधानको औचित्य समाप्त भएको छैन । अहिले पनि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा नै हो । मुलुकमा संविधान छ र मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामै छ । संविधानको औचित्य समाप्त हुँदैन । प्रधानमन्त्री केपी ओलीबाट संघीयताविरोधी, गणतन्त्रविरोधी, संविधानविरोधी कार्य गरियो । त्यसको दण्डसजाय उनले भोग्ने हुन् । जनताले किन भोग्छन् ? संविधान र प्रणालीले किन भोग्छ ? मुलुकमा संविधान छ र रहिरहन्छ । 

सरकारले संसद् विघटन गरी चुनाव घोषणा गरेको छ । तर, प्रचण्ड–माधव समूह, जसपासहितका दलहरूले संसद् पुनस्र्थापना हुनुपर्छ भनिरहेका छन् । कांग्रेस के चाहन्छ ? 

हामी दुवैमा सहमत छौँ । संसद् पुनस्र्थापनामा भएको खण्डमा त्यसमा जान्छौँ । निर्वाचनमा भए निर्वाचनमा सहभागी हुन्छाँै । यो विषय अहिले अदालतमा छ । अदालतको जे फैसला हुन्छ, कांग्रेस सोहीअनुसार अगाडि बढ्छ । 

त्यसो भए चुनावमा यहाँहरू कसरी सहभागी हुनुहुन्छ ? 

चुनाव घोषणा असंवैधानिक होइन । संसद् विघटन असंवैधानिक हो । चुनाव प्रणाली असंवैधानिक हुँदैन । चुनाव घोषणा गर्नु र संसद् विघटन गर्नु दुवै छुट्टाछुट्टै विषय हो । देश र जनताको सर्वोच्च प्रतिनिधिसभा हो र प्रतिनिधिसभा चुनावबाट गठित जनताको सर्वोच्च संस्था हो । 

चुनाव त पूर्वराजा ज्ञानेन्द्र शाहले पनि घोषणा गरेका थिए, तर यहाँहरू सहभागी हुनुभएन नि ? 

राजा ज्ञानेन्द्रले आफ्नो मजबुरीमा चुनावको घोषणा गरेका थिए । अहिलेको चुनाव संविधानमा भएको व्यवस्थाअनुसार गरिएको छ । जुन संविधान नेपाली जनताले पटक–पटकको संघर्षले निर्माण गरेका छन् । यो चुनाव विधिसम्मत नै हो । निर्वाचन प्रणाली केपी ओलीको निजी प्रणाली होइन न निर्वाचन आयोगकै यो निजी प्रणाली हो ।

निर्वाचन प्रणाली हाम्रो संविधानमा लेखिएको छ । जुन संविधान हामी जनताद्वारा निर्वाचित सभाले बनाएको छ । त्यसकारण यी दुवै विषय फरक–फरक हो । आलु र भन्टा एउटै छैन, त्यस्तै यो पनि एउटै होइन । 

सरकारले तोकेको मितिमा चुनाव हुन्छ जस्तो लाग्छ यहाँलाई ? 

हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । सरकारले चुनावको घोषणा गरिसकेको छ । निर्वाचन आयोगले त्यसको तयारी थालिसकेको अवस्था छ ।

तर, एक पक्षले निर्वाचनको तयारी नगर्न निर्वाचन आयोगलाई नै रोकिरहेको छ नि ? 

जुन पक्षले निर्वाचन हुँदैन भनेको छ, त्यो समय र परिस्थितिले निर्धारण गर्छ । संविधान जारी भएपछि केही दलहरूले निर्वाचनमा सहभागी हुँदैनौँ भनिरहको थिए । तर, पछिबाट उनीहरू पनि निर्वाचनमा सहभागी भए नि । 

कतिपय दलका नेताले त यो चुनाव सरकारको नौटंकी हो । चुनाव गराउँदैन, संकटकाल लगाएर सत्ता लम्ब्याउने खेल गरेको भन्छन् त ? 

सरकारले संकटकाल लगाएर सत्ता लम्ब्याउँछ भन्ने कसैको शंका होला । तर, कांग्रेस शंकाको भरमा जाने पार्टी होइन । सरकारले संकटकाल घोषणा गरी राष्ट्रपति शासन लागू गर्छ भने त्यसको विरुद्धमा हामी संघर्षमा जान्छौँ । अहिले किन हतार गरर्ने ? 

राष्ट्रपति शासनको सम्भावना कति देख्नुभएको छ ? 

मैले त्यस्तो कुनै सम्भावना देखेको छैन । 

चुनाव भए कांग्रेसको एजेन्डा के ? 

संघीयता, लोकतन्त्र, संविधानको संरक्षण, विकास निर्माण, मुलुकको समृद्धि, शिक्षा, स्वास्थ्य तथा जनताको हित हाम्रो एजेन्डा हुन्छ । 

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम विदेशी शक्तिहरूको सहयोग र विश्वासमा लिएर चालेको कतिपयको आरोप छ । यसमा यहाँको के भनाइ छ ? 

मलाई त्यो थाहा छैन । म यो बुझ्छु कि नेपालको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टीलाई हराए कम्युनिस्टहरू मिलेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनायो । र, आज त्यही प्रधानमन्त्रीद्वारा अलोकतान्त्रिक, जनविरोधी, असंवैधानिक कदम चालिएको छ । यो कदम प्रधानमन्त्री ओलीले भारत, चीन, अमेरिका कसलाई सोधेर चालियो यो मलाई थाहा छैन । यो त ओजीजीसँग सोध्नुपर्छ । (हाँसो)

कांग्रेससहित सम्पूर्ण लोकतान्त्रिक पार्टीहरू प्रधानमन्त्री ओलीको यो कदमको विरोधमा आन्दोलन गरिरहेका छन् । तर, आन्दोलनमा दलहरूबीच सहकार्य देखिएको छैन । सबैले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् । आन्दोलनमा दलहरूबीच किन सहकार्यको भइरहेको छैन ?

कांग्रेस सही एजेन्डा र जायज माग लिएर आन्दोलन गरिरहेको छ । कसैको पछलग्गु भएर कांग्रेस जाँदैन । कांग्रेस आफ्नै नेतृत्वमा गरिरहेको र गरिरहन्छ । आन्दोलनमा दलहरूबीच त्यस्तो सहकार्यको वातावरणसमेत बनेको छैन । न त छलफल भएको भएको छ । 

विगतका अन्य आन्दोलन जस्तो कांग्रेसले यो आन्दोलनको नेतृत्व किन लिइरहेको छैन ? 

अहिले त मुख्य कांग्रेस मात्रै आन्दोलन गरिरहेको छ अन्य दलहरू त सहरकेन्द्रित आन्दोलन गरिरहेका छन् । कांग्रेस त वडावडामा, गाउँगाउँमा, टोलमा आन्दोलन गरिरहेको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, संविधानको पक्षमा रहेका दलसँग कांग्रेस सहकार्य गर्न तयार छ । तर, अहिलेसम्म त्यो विषयमा कुनै पार्टीसँग छलफल भएको छैन । समय आएपछि उनीहरूलाई समेटर अगाडि बढ्छौँ । 

अदालतको फैसला आएपछि मात्रै सहकार्य हुन्छ कि ? 

अहिले यो हाम्रो छलफल भएको विषय होइन । अहिले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोध गरिरहेका छौँ । अदालतको जे फैसला आउछ ससद पुनस्थपाना त्यसको पक्षमा पनि छौँ । चुनावको पक्षमा फैसला आउँछ त्यसमा पनि कांग्रेस सहमत छ । 

आन्दोलनमा सहकार्यका लागि सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दिनुपर्छ भन्ने कांग्रेसको अडान त होइन ? 

कांग्रेसको त्यस्तो कुनै अडान होइन । अहिले त प्रचण्ड–नेपाल समूहदेखिदेखि केपी ओलीलगायतका पनि शेरबहादुरजीलाई प्रधानमन्त्रीको अफर गरिरहेका छन् । तर, अहिले देउवाजीले त्यो इन्कार गर्दै आएको छ । उहाँले अहिलेको अवस्थामा पदभन्दा प्रणाली ठूलो हो भन्ने पक्षमा हुनुहुन्छ ।

त्यसकारण हामी अदालतको फैसलाको प्रतीक्षामा छौँ । यसले के अर्थ राख्छ भने शेरबहादुर देउवा कुनै व्यक्ति मात्र होइन । कांग्रेसको सभापति पनि हो । पार्टीको निर्णयले मात्रै केही हुन्छ । विगतमा नेपाली कांग्रेस मुलुकबाट हरायो भन्नेहरू अहिले टर्चलाइट लिएर देउवाजीलाई खोजिरहेका छन् । 

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाले पनि उनका नेता तथा कार्यकर्ताले ओलीको पक्षमा पहाडदेखि तराईसम्म जनलहर देखियो भनेर भन्छन् । यसमा यहाँको भनाइ के छ ? 

मैले त्यस्तो कहीँ देखेको छैन । कहाँ छ जनलहर ? र किन हुन्छ जनलहर ? जनताको पक्षमा के गरेका छन् र ? कुनै जनलहर होइन । यो तामझाम गरेर प्रधानमन्त्री केपी ओलीले सत्ताका दुरुप्रयोग मात्रै गरिरहेका छन् । 

अबको राजनीतिक कोर्स के हुन्छ जस्तो लाग्छ ? 

प्रधानमन्त्री ओलीको कदमले देशमा कम्युनिस्ट शक्ति कमजोर हुन्छ । जनताले अब बुझ्न थालेका छन् कम्युनिस्टको हातमा शासन–व्यवस्था दिनुहुँदैन भनेर । जनताले मुलुकमा संघीय लोकतान्त्रिक प्रणाली चाहेका थिए । सोहीअनुसार संविधान निर्माण पनि भयो । र, त्यसमै कसैले आक्रमण र प्रहार गर्छ भने ऊ आफैँ कमजोर र परास्त हुन्छ । यो नै मेरो भविष्यवाणी हो ।