१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दीपक भट्ट रामेछाप
२०७७ माघ २७ मंगलबार ०९:४६:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

छात्रा र दलित विद्यार्थीको छात्रवृत्ति रकम हिनामिना

विद्यालयका प्रअले नै भ्रष्टाचार गरेको विद्यार्थी र अभिभावकको आरोप, प्रशासनले थाल्यो छानबिन

Read Time : > 2 मिनेट
दीपक भट्ट, रामेछाप
२०७७ माघ २७ मंगलबार ०९:४६:००

मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्तिबापत आएको करिब डेढ लाख रुपैयाँ हिनामिना भएको छ ।  छात्रवृत्तिका लागि मन्थली नगरपालिकाले दिएको एक लाख ४६ हजार रुपैयाँ सोही विद्यालयका प्रधानाध्यापक रामबाबु गिरीले भ्रष्टाचार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको छात्रवृत्ति रकम पछिल्लो ६ वर्षदेखि वितरण नगरी प्रअ गिरीले हिनामिना गरेको उनीहरूले दाबी गरेका छन् । 

प्रअ गिरीले विद्यार्थीको छात्रवृत्ति रकम मात्र नभई विद्यालयको पुस्तकालय व्यवस्थापनका लागि आएको रकमसमेत हिनामिना गरेको स्थानीय अभिभावकको आरोप छ । विद्यालयमा बर्सेनि छात्रा र दलित विद्यार्थीहरूको नाममा छात्रवृत्ति रकम आउने गरेको छ ।

०७२ सालदेखि अहिलेसम्म कुनै पनि विद्यार्थीले छात्रवृत्तिबापतको रकम पाउन नसकेको स्थानापति माध्यमिक विद्यालयका विद्यार्थी विशाल विश्वकर्माले जानकारी दिए । उनले भने, ‘सरकारले दलित विद्यार्थीलाई छात्रवृत्ति रकम दिएको छ भन्ने हामीलाई थाहा छ । विद्यालयमा पनि हाम्रो नाममा रकम नियमित रूपमा आएको छ, तर हेडसरले उक्त रकम हामीलाई दिनुभएको छैन ।’

मन्थली नगरपालिकाबाट आर्थिक वर्ष ०७३/७४ बाट बर्सेनि दलित र छात्राको नाममा छात्रवृत्ति रकम जाने गरेको छ । विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत छात्रा र दलितलाई प्रतिव्यक्ति वार्षिक चार सयका दरले दिने गरी नगरपालिकाबाट हालसम्म एक लाख ४६ हजार रुपैयाँ गएको छ । तर, उक्त रकम विद्यार्थीले पाउन सकेका छैनन् । यसबाहेक आर्थिक वर्ष ०७२÷७३ को रकमसमेत ती विद्यार्थीले पाउन सकेका छैनन् । 

हिसाब खोज्दा जग्गा खरिदको बहाना
छात्रवृत्ति रकम विद्यार्थीले नपाएपछि बुझ्न जाँदा छात्रवृत्तिका लागि आएको सबै रकम जग्गा खरिदमा खर्च भएको भन्दै विद्यालय प्रशासन पन्छिएको मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँका खडेन्द्रबहादुर कामीले बताए । ‘विद्यालयले पैसा तिरेर जग्गा किनेको नै छैन । दलितको नाममा आएको रकम विद्यालयले जग्गा खरिद गरेँ भनेर टार्न मिल्छ ? विद्यालयले जसरी भए पनि विद्यार्थीको नाममा आएको छात्रवृत्ति रकम विद्यार्थीलाई वितरण गर्नुपर्छ,’ उनले भने, ‘यदि विद्यालयले उक्त रकम विद्यार्थीलाई वितरण नगरे हामी कानुनी लडाइँ लड्छौँ ।’

प्रअ गिरीले माध्यमिक पुस्तकालय स्थापनाका लागि मन्थली नगरपालिकामार्फत गएको ६ लाख ५० हजार र कक्षाकोठा व्यवस्थापनका लागि आएको एक लाख रुपैयाँसमेत अपचलन गरेको आरोप छ । यसबाहेक विद्यालयमा विज्ञान प्रयोगशालाका सामग्री खरिदका लागि आएको दुई लाख रुपैयाँ बजेटसमेत प्रधानाध्यापक गिरीले अपचलन गरेको अभिभावक हर्कबहादुर सुनेलले दाबी गरे । 

विद्यालयमा आएको रकमबाट विज्ञान प्रयोगशालाको सामग्री खरिद गर्न दुई वर्ष पहिले प्रअ गिरीले आफ्नै नेतृत्वमा खरिद समिति बनाएका थिए । सामग्री खरिद नै नगरी सामग्री खरिद गरेको बिल बनाएर व्यवसायीलाई रकम भुक्तानी गरेको देखाएका छन् । त्यस्तै, पुस्तकालय व्यवस्थापनका लागि आएको ६ लाख ५० हजार रुपैयाँ बजेट गत ३१ असारमा चेक काटेर प्रअ गिरीले लगेको पाइएको छ ।

विद्यालयमा के–कति रकम आयो र कुन–कुन शीर्षकमा खर्च भयो भन्ने विषयमा आफूहरूलाई केही पनि जानकारी नभएको विद्यालयका सहायक प्रधानाध्यापक दिलबहादुर अच्छामीले बताए । उनले भने, ‘विद्यार्थीलाई दिन बाँकी रहेको छात्रवृत्तिको रकम एकमुष्ठ दिने भन्ने कुरा छ ।’ 

कागजात नियन्त्रणमा लिएर प्रशासनले थाल्यो अनुसन्धान
विद्यालयमा अध्यनरत दलित र छात्राका लागि पठाएको छात्रवृत्ति रकम र पुस्तकालय स्थापनाका लागि गएको रकम हिनामिना भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत लेखराज खतिवडाको नेतृत्वमा गएको टोलीले विद्यालयको सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

विद्यालयको रकम हिनामिना गरेपछि स्थानापति माध्यमिक विद्यालयका प्रअ गिरीलाई मन्थली नगरपालिकाले मन्थली नगरपालिकाको भलुवाजोरमा रहेको कालिका माध्यमिक विद्यालयमा काज सरुवा गरेको मन्थली नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए । उनले भने, ‘अहिलेलाई काज सरुवा गरेका छौँ । छात्रवृत्ति रकम नदिएको विषयमा विद्यालयको सबै कागजपत्र लिएर अनुसन्धान प्रक्रियामा रहेका छौँ, दोषी भेटिएमा कानुनअनुसार कारबाही गर्छौं ।’ 

विद्यालयमा आएको छात्रवृत्ति रकमले विद्यालयका लागि जग्गा खरिद गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय रहेको र सोहीअनुसार जग्गा खरिद गरिएको विद्यालयका प्रअ रामबाबु गिरीले दाबी गरे । उनले भने, ‘कानुन मात्रै हेरेर हुँदैन, कहिलेकाहीँ व्यवहार पनि हेर्नुपर्छ ।