नेपालको दुर्गम हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्छ चंखेली गाउँपालिका (तत्कालीन श्रीमष्टा गाउँ विकास समिति) । यो गाउँपालिकामा चारवटा बस्ती छन् तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का । नेप्कागाउँ चंखेलीको ५ नम्बर वडामा पर्छ । चंखेली गाउँपालिकाको केन्द्र पिप्लानबाट नेप्का पुग्न एक दिन र सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ । नेप्का गाउँ आवतजावत गर्ने सहज छैन । भीरको गोरेटो भएर आवतजावत गर्नुपर्ने हुँदा ज्यानकै जोखिम हुन्छ ।
०४९ सालअघि मेल्छाम गाविसभित्रै थियो श्रीमष्टा । त्यसपछि मात्रै श्रीमष्टा छुट्टै गाविस भएको हो । एक सय ८७ घरधुरी रहेको यो गाउँको जनसंख्या करिब नौ सय छ । यहाँ ठकुरी र दलित क्षेत्री तामाङ समुदायको बसोवास छ । यहाँ बौद्ध धर्मावलम्बीको बाहुल्यता छ । यद्यपि उनीहरूले मिश्रित धर्म मनाउँदै आएका छन् । कतिपय संस्कार हिन्दू र कतिपय बौद्धसँग मिल्दोजुल्दो छ ।
मृत्यु संस्कार हेर्दा बौद्धमार्गीसँग मिल्दो देखिन्छ भने अन्य चाडपर्व हिन्दूसँग । यहाँको मूल पेसा कृषि र पशुपालन हो । केही समययतादेखि अतिरिक्त आयआर्जन जडीबुटी संकलन पनि थपिएको छ । नोकरी गर्नेको संख्या नगन्य छ । यहाँ सरकारी विकासले पाइला टेकेको छैन ।
नेप्कागाउँको नाम कसरी रहन गयो ? यसमा दुईथरी भनाइ छ । पहिलो नेप्का तिब्बत आवतजावतको नाका भएकाले नाका शब्द अपभ्रंस हुँदै नेप्का भएको हुन सक्ने स्थानीयको अनुमान छ । नेप्का गाउँको पूर्व–दक्षिणमा माणिलेक छ । यो लेकमा पाँचवटा अग्ला चुचुरा छन् । ती चुचुराले हिउँदभर सूर्यलाई छेक्ने गर्छन् । जसका कारण मंसिरदेखि फागुनसम्म छिनछिनमै घाम लाग्ने अस्ताउने हुन्छ । तर, चैत लागेसँगै यस्तो समस्या हुँदैन । यी चुचुराका कारण दिनमै पाँचपटक घाम लाग्छ, पाँचपटक घाम डुब्छ । त्यसैले यसलाई पाँचपटकसम्म घाम लाग्ने गाउँ पनि भनिन्छ ।
स्वर्गलाई नै गिज्याउने गरी हुम्लाले यो धर्तीमा प्राकृतिक सौन्दर्यको पगरी गुथेको छ । यो गाउँका हिमाली चुचुरा र टाकुरामा दिनहुँ घामपानीले लुकामारी खेल्छन् । हुम्लाको प्राकृतिक सौन्दर्यको पर्यायजस्तै हो नेप्का गाउँ । नेप्कागाउँ सानो समस्थल भू–बनोटमा अवस्थित छ । यहाँ पुग्ने जोकोही पर्यटक धर्तीको स्वर्ग पुगेजस्तो अनुभूति हुने बताउँछन् ।
तामाङ बस्तीले भरिएको नेप्काको छुट्टै जातीय इतिहास पनि छ । नेप्केलहरूको आखिरको जात ठकुरी हो । ठकुरी बाजे र भोटेनी बजैबाट जन्मिएका नेप्केलहरू हाल ठकुरीको साटो तामाङ भएका छन् । हुम्लामा करिब दुई दशकअघिसम्म पनि दोलाजी प्रथा (लामा बेहुली, ठकुरी बेहुलाबीचको विवाह) कायम थियो । यसैको एक उदाहरण हो यहाँ तामाङले आफूलाई रासकोटी र कल्यल ठकुरीको सन्तान भन्न रुचाउँछन् । नेप्का, गाउँमा विशेषगरी असोजदेखि चैतसम्म प्रत्येक दिन सातपटकसम्म घाम उदाउने र अस्ताउने क्रमले जोकोहीलाई अचम्मित बनाउँछ ।