१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चिनियाँ विदेशमन्त्री वाङ यी
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २७ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालको राजनीतिमा  चीनको चासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २७ मंगलबार ०७:०७:००

चिनियाँ विदेशमन्त्रीले भने– विवाद समाधानका लागि सबै दल र पक्षले साझा धरातल निर्माण गरून् 

चीनले विवाद समाधानका लागि साझा धरातल निर्माण गर्न नेपालका राजनीतिक दलहरूलाई आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको नाम नलिए पनि पार्टी नेताहरूलाई लक्षित गर्दै चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग यो आग्रह गरेका छन् । उनले नेपाल र नेपालीहरूको दीर्घकालीन र मौलिक हितमा ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् । 

‘एक मित्रवत् छिमेकीका रूपमा चीन अपेक्षा गर्छ कि नेपालमा सबै दलहरू र पक्षले देश र जनताको दीर्घकालीन र मौलिक हितलाई ध्यानमा राखेर आफ्नो विकास र समृद्धिका लागि अनुकूल परिस्थिति र वातावरण सिर्जना गर्नेछन् अनि विवाद समाधानका लागि साझा धरातल खोज्नेछन्, स्थिरता र एकता कायम गर्नेछन्,’ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ । दुवै देशका परराष्ट्रमन्त्रीबीच शुक्रबार साँझ टेलिफोनमा कुराकानी भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले टेलिफोन संवादका क्रममा नेपाललाई कोभिडविरुद्ध पाँच लाख डोज खोप दिने घोषणा गरेका थिए । त्यही सन्दर्भमा दुवै पक्षले नेपालको आन्तरिक परिस्थितिबारे विचार आदानप्रदान गरेको चिनियाँ वेबसाइटमा उल्लेख छ । ‘चिनियाँ विदेशमन्त्री वाङ यीले भनेका छन् कि चीन अरू देशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति पालन गर्छ र नेपाली जनताद्वारा छानिएको विकासको मार्गलाई सम्मान गर्छ,’ वेबसाइटमा भनिएको छ । शुक्रबार नेपालको परराष्ट्र मन्त्रालयले टेलिफोन संवादबारे जानकारी दिए पनि नेपालको आन्तरिक राजनीतिक अवस्थाबारे भएको छलफल उल्लेख गरेको थिएन । 

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा चीनको प्रशंसा

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीन सदावहार मित्र भएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको रक्षाका लागि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरेका छन् । ज्ञवालीले नेपाल एक चीन नीतिमा दृढ विश्वास गर्दै चीनविरोधी कुनै पनि गतिविधि नेपाली भूमिमा गर्न नदिने पनि उल्लेख गरे ।

कोरोनाविरुद्ध खोप उपलब्ध गराउने चीनको निर्णयको स्वागत गर्दै ज्ञवालीले चीनसँग महामारीविरुद्ध गहिरो सहकार्य गर्ने नेपालको चाहना पनि सुनाएका थिए । दुई देशका शीर्ष नेताबीच भएका समझदारी र सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको पनि ज्ञवालीको भनाइ थियो ।