Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भोला पासवान काठमाडौं
२०७७ माघ २७ मंगलबार ०२:५७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्मलादेखि भागरथीसम्म : ३,३४७ बालिका बलात्कृत, अपराध लुकाउन १७ को हत्या

बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि हो । तर, न अहिलेसम्म उनको अपराधी भेटिएको छ, न बलात्कारको अत्यासलाग्दो शृंखला थामिएको छ । 

Read Time : > 2 मिनेट
२०७७ माघ २७ मंगलबार ०२:५७:००

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् । 

बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला पन्त प्रकरणपछि हो । तर, अहिलेसम्म न उनको अपराधी भेटिएको छ न बलात्कारको अत्यासलाग्दो शृंखला रोकिएको छ । बरु साउन ०७५ मा कञ्चनपुरकी निर्मला पन्तदेखि माघ ०७७ मा बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा तीन हजार तीन सय ४७ बालिका बलात्कृत भएका छन् । अपराध लुकाउन १७ जना पीडितको हत्या भएको छ । 

यो अढाई वर्षमा बलात्कारबाट पीडित तीन हजार तीन सय त बालिका मात्र हुन् । योबीचमा ६ हजार आठ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् ।  पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चारजनाको हत्या भएको छ । आर्थिक वर्ष ०७६/७७ मा दुई तथा ०७५/७६ मा ११ जनाको हत्या भएको थियो ।

पछिल्लो अवस्थामा बलात्कार वा प्रयासका दैनिक सात घटना प्रहरीमा दर्ता हुने गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनामा बलात्कार तथा प्रयासका एक हजार दुई सय ६० वटा घटना दर्ता भएका छन् । पीडितमध्ये आधा बालिका छन् । 

गत आर्थिक वर्ष ०७६/७७ मा देशभर दुई हजार आठ सय ३१ महिला बलात्कृत भए । त्यसमध्ये एक हजार तीन सय ९३ जना अर्थात् ४९ प्रतिशत १८ वर्षमुनिका नाबालिका छन् । त्यसमा पनि दुई सय ७३ बालिका त १० वर्षभन्दा कम उमेरका छन् । 

त्यस्तै वर्ष ०७५/७६ मा दुई हजार सात सय ५३ बलात्कार घटना भएका थिए जसमध्ये बालिकाको संख्या एक हजार दुई सय ३२ छ । 

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार सात वर्षमा कुल बलात्कारको संख्या पनि दोब्बर भएको छ । आर्थिक वर्ष ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६/७७ मा दुई हजार आठ सय ३१ महिला बलात्कृत भए ।

हरेक वर्ष बलात्कृत हुने नाबालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०/७१ मा पाँच सय ५९ नाबालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत नाबालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘एक वर्ष नपुगेका बालिकामाथि पनि बलात्कार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

चेतना बढेकाले विगतमा लुक्ने गरेका घटना पनि अहिले प्रहरीमा आउने भएकाले अपराध बढेको देखिने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । ‘बलात्कारका घटना बढेका पनि छन्, त्यसमा पनि पहिले सहेर बस्ने चलन थियो, अब चेतना बढेकोले कानुनको सहारा लिन खोज्ने प्रयास पनि भएको छ,’ उनले भने । 

५० प्रतिशतभन्दा धेरै घटना आफन्त तथा नजिकका व्यक्तिबाट हुने गरेको प्रहरी तथ्यांक छ । बलात्कार घटनामा बालबालिका पीडित हुने क्रमसमेत बढ्दो छ । एक वर्ष नपुगेका बालिकाको पनि बलात्कार भएका घटना दर्ता भएका छन् ।

......


भागरथीको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि हत्या भएको पुष्टि, दोषीको सुराग छैन

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । घटना भएको पाँचौँ दिन जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको स्पष्ट भएको हो । तर, दोषीको सुराग भेटिएको छैन । 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएको बताए । ‘पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ,’ उनले भने, ‘सामूहिक बलात्कार हो वा होइन भन्ने विषय अहिले नै यकिन हुन सकेको छैन ।’ डिएनए अनुसन्धानका लागि स्वाब आइतबार नै प्रहरीको केन्द्रीय प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ ।

आइतबारदेखि आफैँ घटनाको अनुसन्धानमा खटिएका डिआइजी सुवेदीले प्रहरीको औपचारिक प्रतिक्रिया दिँदै भने, ‘अनुसन्धान दोषीनजिक पुगेको छ ।’

तर, अनौपचारिक प्रतिक्रियामा भने प्रहरीले अहिलेसम्म पनि भरपर्दो सुराक पत्ता लगाउन सकेको छैन । घटनास्थलमा फेला परेको मोबाइल र भागरथीको फेसबुक एकाउन्टबाट पनि सन्तोषजनक उपलब्धि हात नलागेको प्रहरी स्रोतको भनाइ छ । 

प्रहरी अनुसन्धानले सन्तोषजनक उपलब्धि दिन नसकेको भन्दै स्थानीय भने आन्दोलित छन् । त्यसैले प्रहरीले स्थानीयलाई शान्त हुन र सहयोग गर्न आग्रह गर्दै आएको छ । यहीबीच सोमबार बिहान १० देखि १२ बजेसम्म प्रहरीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । ‘सबै दलका प्रतिनिधि, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूलाई प्रहरीले अहिले आन्दोलित नहुन र अनुसन्धानमा सघाउन अनुरोध गरेको छ,’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, ‘स्थानीयको दबाब र प्रदर्शनले प्रहरीलाई अप्ठ्यारो परेको गुनासो छ ।’ स्थानीय अगुवाले आन्दोलनको स्वरूप परिवर्तन गर्ने वचन दिएका छन् । तर, अपराधीलाई छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिन भने नछोड्ने उनीहरूको भनाइ छ ।