मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लक्ष्मी काफ्ले
२०७५ माघ २९ मंगलबार १५:०५:००
Read Time : > 1 मिनेट
सप्तरंग

बालुवा चाल्छन् यी प्रतिभा

Read Time : > 1 मिनेट
लक्ष्मी काफ्ले
२०७५ माघ २९ मंगलबार १५:०५:००

बुद्धशान्ति गाउँपालिका–२ स्थित बिरिङ खोलाको पूर्वी किनारमा बस्छन्, यूएन तामाङ । अर्कैको बारी हो । त्यहाँ उनले अस्थायी घर बनाएर बसेका छन् । उनको स्वर असाध्यै राम्रो छ । उनको आवाजमा गीत सुन्नेमध्ये अधिकांशले सांगीतिक क्षेत्रका उदाउँदो नक्षत्र भनेर प्रशंसा गर्छन् । तर, सांगीतिक यात्रामा पर्खाल बनिदियो ‘गरिबी’ । 

यूएन दिनहुँ बिरिङ खोलामा बालुवा चाल्छन् । ढुंगा बटुल्छन् । र, ट्रयाक्टरमा लोड गर्छन् । सुविधाजनक ठाउँमा अवसर नपाएका कारण बिरिङ खोलालाई नै जीविकाको माध्यम बनाउनु परेको बताउँछन् उनी । आफ्नो लागि बिरिङ नै सबथोक भएको बताउँदै उनी थप्छन्, ‘काम गरेर पेट पाल्न र आङ ढाक्न पाइएको छ तर, सहर टाढा भएकाले आफ्नो प्रतिभा पैmलाउन समय पाइनँ, यसमा भने दुःखी छु ।’ दिनभरी काम गरे पनि साँझ–बिहान आफ्नो गायनकला उपयोग गर्न चाहन्छन् उनी । खोलाको काम । प्रतिकूल मौसमका कारण चिसो लागेर स्वर पनि प्रायः ठीक नरहने । कहिलेसम्म यसरी दिन बिताउनु पर्ने हो, अनिश्चितता व्यक्त गर्छन्, यूएन ।

छोरो एक सफल गायक बनेको हेर्ने रहर छ यूएनका बाबु मनबहादुर र आमा देउकुमारी तामाङलाई । तर, गीत रेकर्डिङ र म्यूजिक भिडियो बनाउने पैसा जुटाउन नसकेकोमा दुःख व्यक्त गर्छन् । त्यसो त यूनएनको स्वर रहेको ‘डाँडाबजार जाउँ या माईबेनी मेलामा’ गीतको म्यूजिक भिडियो दसैँअघि नै युट्युबमा सार्वजनिक भएको छ । गीत लोकप्रिय पनि हुँदैछ । उनले नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि’ लगायतका चर्चित गीतलाई आफ्नो स्वरमा कभर बनाएर युट्युबमा राखेका छन् ।

उनी नजिकका सहर बजार, मेला तथा विभिन्न उत्सवमा हुने सांगीतिक कार्यक्रममा निम्तो आउँदा गीत गाउन पुगिहाल्छन् । सहज जीवनयापनका लागि जन्मथलो पाँचथरको भारपालाई छाडेर १० वर्षअघि झापा झरेको उनको परिवारले बिरिङ खोलालाई जीविकोपार्जनको माध्यम बनायो । यूएन भने धन आर्जन गर्ने आशामा खाडी मुलुक जाने तर्खरमा छन् । २०७० सालमा आयोजित पूर्वाञ्चलव्यापी १८ वर्ष मुनिका कलाकारको प्रतियोगितामा ‘बेस्ट भोकलिष्ट’ उपाधि हासिल गरेका यूएनले सरगम संगीतालय बिर्तामोडमा केही महिना संगीत पनि सिके ।