१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ २५ आइतबार ०९:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहकारीमा डेढ करोड हिनामिना, व्यवस्थापकलाई कारबाही

Read Time : > 1 मिनेट
२०७७ माघ २५ आइतबार ०९:१०:००

नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक द्रोणाचार्य ज्ञवालीलाई डेढ करोड हिनामिना गरेको आरोपमा सञ्चालक समितिले निलम्बन गरेको छ । रुरु क्षेत्र गाउँपालिका–५ मा सञ्चालित सहकारीमा १८ सय ४६ सेयर सदस्य तथा ८ सयभन्दा बढी ऋणी छन् ।

७ माघमा बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई पदमुक्त गरेको संस्थाका सचिव ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । ‘पूर्ण विश्वासमा सहकारी छोडेका कारण व्यवस्थापकबाट धोका भयो,’ सचिव ज्ञवालीले भने, ‘साधारणसभामा सबै हिसाबकिताब पेस भएकाले केही प्रश्न उठेन, पछिल्ला केही शंकास्पद गतिविधिले छानबिन सुरु गर्‍यौँ ।’  

कसरी बाहिरियो सहकारीको अनियमितता
नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७६/७७ बाट सम्पूर्ण कारोबार सफ्टवेयरबाट सुरु गरेको छ । अघिल्ला वर्षहरूका स्रेस्ताहरू पनि सफ्टवेयरमा राख्ने क्रममा रकम र स्रेस्ताहरू नमिलेपछि अनियमितता बाहिरिएको हो ।

अनियमितताको शंका लागेपछि संस्थाका उपाध्यक्ष नारायण पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आर्थिक वर्ष ०६३/६४ देखि ०७५/७६ सम्मका सबै स्रेस्ताहरूको पुनः रुजु गरेको थियो । जसमा व्यवस्थापकले १ करोड ५६ लाख ७० हजार ३ सय १६ रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

व्यवस्थापकले विनाधितो, मूल्यांकन नगरी, ऋण समितिको सिफारिसविना र सहीछाप नै नगरी कर्जा दिएको समितिका संयोजक तथा सहकारी सञ्चालक समिति उपाध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

नक्कली कागजपत्र बनाएर ९ हजारदेखि ३४ लाखसम्म ऋण दिएको फेला परेको हो । त्यस्तै, ऋणीहरूले बुझाउने किस्ता संस्थाको खातामा नराखी आफ्नो खातामा जम्मा गर्ने र संस्थाको खाताबाट नघटाउने गरेको पाइएको पौडेलले बताए । यसरी प्रवाह भएको कर्जामध्ये २६ लाख व्यवस्थापकले फिर्ता गरेका छन् ।

संस्थाका व्यवस्थापक ज्ञवालीले गाउँका सहकारीमा धेरै व्यावहारिक पक्षमा ध्यान दिनुपर्ने भएकाले कानुनी रीत नपुर्‍याई कर्जा दिएको स्वीकार गरे । त्यसरी प्रवाह गरिएको कर्जा फिर्ता गर्ने र केही ऋणीहरूलाई बोलाएर आवश्यक प्रक्रिया पुर्‍याउने गरिएको उनले बताए ।

त्यस्तै, ऋणीहरूका किस्ता आफ्नै खातामा जम्मा गर्ने गरेको पनि उनले स्वीकार गरेका छन् । ‘डेढ करोड रकम फरक परेको हो । तर रकम कहीँकतै प्रयोग नभएकाले अचम्म परेको छु,’ प्रमाणले ठहरे दिनुपर्छ ।’