Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ २४ शनिबार २०:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनाल भन्छन्– संविधानलाई एउटा व्यक्तिले खेलौना बनाउन पाउँदैन

Read Time : > 1 मिनेट
२०७७ माघ २४ शनिबार २०:१५:००

नेपालका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा विघटन गर्न पाउने अन्तर्निहित अधिकार प्रधानमन्त्रीमा नभएको बताएका छन् । शनिबार इलाम सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रममा खनालले राजकीयसत्ता र सार्वभौमसत्ता जहाँ हुन्छ, त्यहाँ मात्रै त्यस्तो अन्तर्निहित अधिकार हुने भएकाले प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नहुने बताए । 

‘पहिले राजा–महाराजाहरूले राजकीय शक्तिको प्रयोग गरेर संसद्को विघटन गरे होलान्, अहिले राजकीयसत्ता र सार्वभौम शक्ति जनतामा हुन्छ’, खनालले भने, ‘त्यस्तो अधिकार जनतामा हुन्छ, सदनमा हुन्छ, प्रधानमन्त्रीसँग हुँदैन ।’

संविधानले प्रधानमन्त्री छान्ने मौका प्रतिनिधिसभालाई नदिई विघटन गर्ने अधिकार नभएको भन्दै उनले भने, ‘संविधानलाई एउटा व्यक्तिले खेलौना बनाउन पाउँदैन ।’ सरकार बनाउने चारवटा सर्त पूरा भएपछि मात्रै सरकारले प्रतिनिधिसभा विघटन गर्न सक्ने व्यवस्था संविधानमा राखिएको उनले प्रस्ट्याए । 

खनालले केपी ओलीले असाधारण मौका पाएको भए पनि त्यसलाई लत्याएको बताए । समाजवादतर्फको यात्राका लागि ओलीले कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेकाले ओलीले असाधारण मौकालाई खेर फालेको खनालको भनाइ छ ।

परोपकारीहरूले संकटका वेला काठमाडौंको सडकमा खाना खुवाउँदा सरकारले सडकमा खान खुवाउन पाइँदैन भनेको प्रसंग कोट्याउँदै खनालले कस्तो अचम्मको कम्युनिस्ट भन्दै टिप्पणी गरे । ‘मुलुकमा कम्युनिस्ट पार्टीको सरकार छ, संकटका वेला सडकमा खाना बाँडेको समाचार हेर्नुपर्छ, आफँैलाई लज्जाबोध हुन्छ’, उनले थपे, ‘अर्कोतिर सडकमा खाना खुवाउन पाइँदैन भनेर कम्युनिस्ट पार्टीको सरकारले भन्छ, कस्तो अचम्मको कम्युनिस्ट ? चिडियाखानामा राखेर देखाउनुपर्ने कम्युनिस्ट ।’

गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार चिडियाखानामा लगेर बन्द गर्ने भनी दिएको अभिव्यक्ति जोड्दै खनालले थपे, ‘चिडियाखानामा राख्ने बादल र ओलीलाई हो ।’ नेता खनालले कुर्सीका लागि पार्टी एकता गरेको आरोप लगाउँदै ओलीलाई फ्याँकेपछि पार्टी एकीकरणले गति लिएको बताए । तीन वर्षसम्म पार्टीको कार्यकर्तालाई गतिहीन बनाएको भन्दै उनले अहिले पार्टी कार्यकर्ता गतिशील भएको बताए । ओली नेतृत्वको सरकार भद्दा पुँजीवादको विकास र उनीहरूकै संरक्षणमा लागेको खनालको टिप्पणी छ । 

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीभित्र वैचारिक बहस हुनुपर्नेमा जोड दिए । यथास्थितिमा कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने भन्दै शर्माले आफैँभित्र भएको केपी प्रवृत्तिको विरुद्धमा अघि बढ्न सके मात्रै आन्दोलन अघि बढ्ने बताए । ‘भोलि यो पार्टीमा सर्वसत्तावादी र निरंकुशतावादी शैली पैदा हुँदैन भन्ने के ग्यारेन्टी छ ? पार्टीभित्रै देखिने यस्तो प्रवृत्तिको विरुद्ध लड्छौँ र लड्ने हिम्मत गर्छौँ भने मात्रै आन्दोलन अघि बढ्न सक्छ’, उनले थपे, ‘होइन भने कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन ।’ 

प्रदेश सभा सदस्य तथा प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अब केही सातामा नै प्रदेशमा नयाँ सरकार गठन हुने बताए । अविश्वासको प्रस्तावमा कांग्रेस सहमत भएकाले माघ अन्तिमसम्म मात्रै वर्तमान सरकार रहने उनको भनाइ छ । ‘प्रदेश सभामा अविश्वासको प्रस्ताव टेबल हुन्छ, कांग्रेससँग सहमति भएको छ’, उनले भने, ‘यही महिनाभित्र सरकारको बिदा गर्छौँ, अर्को महिनाको पहिलो साता प्रदेशमा नयाँ सरकार बन्छ ।’