मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २४ शनिबार ०८:०७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपाधि रक्षातर्फ लम्कँदै एपिएफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २४ शनिबार ०८:०७:००

७ माघदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै महिला लिग चलिरहेको छ । एन्फाले आफ्नो क्यालेन्डरअनुसार यस वर्ष आयोजना गरेको महिला लिग नै पहिलो हो ।

दोहोरो लिग प्रणालीअनुसार चलिरहेको लिगको समापन ७ फागुनमा दरशथ रंगशालामा हुनेछ । एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणका सबै खेल समाप्ति भइसके । शनिबारदेखि दोस्रो चरण खेल सुरु हुनेछ । यसमा नेपाल एपिएफको लक्ष्य नै उपाधि रक्षा गर्नु हुनेछ । एपिएफ क्लब राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको साविक विजेता हो । 

लिगमा सहभागी अन्य ६ टोलीमाथि एपिएफले आफ्नो दबदबा कायमै राख्न सफल भएको छ । यसैकारण एपिएफ लिगको पहिलो चरणको समाप्तिसम्म अपराजित नै रह्यो । एपिएफले ६ खेलमा शतप्रतिशत जित निकालेर सर्वाधिक १८ अंक जोडेको छ । एपिएफको डिफेन्स र फिनिसिङ पक्ष कति बलियो छ भन्ने विपक्षीविरुद्ध गरेको गोल र बेहोरेको गोलले नै स्पष्ट पार्छ । एपिएफले पहिलो चरणमा विपक्षी पोस्टमा ४३ गोल गरिसक्यो । एपिएफले अहिलेसम्म एक गोल पनि खानुपरेको छैन ।

एपिएफले चालू लिगमा एउटा रेकर्ड पनि बनायो । चौदण्डीगढी नगरपालिकाविरुद्ध एपिएफले २२–० को नतिजा निकाल्यो । महिला लिगमा अहिलेसम्मको ठूलो जितअन्तर यही नै हो । यस खेलमा राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख स्ट्राइकरसमेत रहेकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी थिइन् । लिग सुरु हुँदा विभागीय टोलीबीच नै उपाधि होडबाजी चल्ने अपेक्षा थियो । पहिलो चरण समाप्तिसम्म एपिएफलाई शीर्ष स्थानमा विस्थापित गर्नु असम्भवझैँ देखिन्छ । एपिएफलाई चुनौती दिन सक्ने विभागीय दुई क्लब नेपाल पुलिस तथा त्रिभुवन आर्मी नै हुन् । तर, पहिलो चरणमा आर्मी र पुलिस कमजोर देखिए । 

आर्मीले लिगमा ६ खेल समाप्तिसम्म चार जित निकाल्यो भने समान एक हार र बराबरी खेल्यो । आर्मी पराजित भएको एपिएफसँग मात्र हो । आर्मीले पुलिससँग बराबरी नतिजा निकालेको थियो । आर्मी १३ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी अझै एपिएफसँग शीर्ष स्थानमा ६ अंकले पछि छ । महिला राष्ट्रिय लिगको उपाधि उचाल्ने हो भने आर्मीले दोस्रो चरणमा शतप्रतिशत नतिजा निकालेर मात्र पुग्दैन । अर्कोतिर एपिएफले पनि खेल गुमाउनुपर्छ । यस किसिमको समीकरणमा मात्र आर्मीको उपाधि जित्ने सपना पूरा हुन्छ । पहिलो चरणमा सावित्राबाहेक आर्मीकी शर्मिला थापा पनि उत्कृष्ट फर्ममा देखिन्छिन् । उनले पनि आर्मीको जितमा उत्कृष्ट योगदान दिनुका साथै ह्याट्रिक जमाएकी छिन् । 

अर्को विभागीय टोली पुलिस अप्रत्यासित रूपमा विराटनगर नगरपालिकासँग १–० ले पराजित हुँदा उपाधि होडबाट बाहिरियो नै । पुलिसका प्रमुख प्रशिक्षक सञ्जवी जोशीले पनि विराटनगरसँग पराजित भएपछि टोली उपाधि होडबाट बाहिरिएको स्वीकारिसकेका छन् । चौथो स्थानमा रहेको पुलिसले केवल आठ अंक मात्र जोडेको छ । यसक्रममा पुलिसले समान दुई जित, हार र बराबरी नतिजा निकाल्यो । आर्मी र पुलिसबीच दश अंकको अन्तर छ । अर्थात् पुलिस आर्मीभन्दा १० अंकले पछाडि छ । 

प्रतियोगितामा विभागीय टोलीको दबदबा रहँदा सहभागीमध्ये चौदण्डीगढी नगरपालिका सबैभन्दा कमजोर नै देखियो । पहिलो चरणमा जितविहीन भएको टोली चौदण्डी मात्र हो । सुरुवातदेखि नै फितलो प्रदर्शन गरेको चौदण्डीको डिफेन्सदेखि फिनिसिङसम्म अन्यन्तै कमजोर देखिन्छ । चौदण्डीले लिगका लागि तयारी कमजोर गरेको देखिन्छ । चौदण्डीले ६ खेलमा ६३ गोल बेहोरेको छ । लिगको पहिलो चरणको लेखाजोखा गर्दा एपिएफकी सावित्रा गोल मेसिनकै रूपमा अगाडि छिन् । प्रत्येक खेलमा जस्तो ह्याट्रिक जमाएकी छिन् । यो वेलामा सावित्रालाई विपक्षी टोलीका डिफेन्स खेलाडीले रोक्न असफलझैँ देखिन्छन् । 

चालू लिगमा उनले रौतहट, पुलिस र विराटनगरविरुद्धको खेलमा ह्याट्रिक लगाएकी छन् । आयोजक एन्फाले विदेशी चारजना खेलाडी राख्न पाउने प्रावधान बनाएको छ । यही नियमअनुसार लिगमा पहिलोपटक वालिङले विदेशी खेलाडी भित्र्याएको छ । वालिङले दुई जित निकाल्नुको पछाडि पनि विदेशी खेलाडीको प्रदर्शन आधारमै हो ।