मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
२०७७ माघ २२ बिहीबार १८:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सन्देहमा न्युरोडका सहकारी

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ माघ २२ बिहीबार १८:००:००

शंकास्पद गतिवधि देखिएपछि प्रहरीले गत १५ माघमा २७ वर्षीया सानुकान्छी मोक्तानलाई न्युरोडबाट पक्राउ ग¥यो । खनतलासी लिँदा उनको साथबाट स्रोत नखुलेको नौ लाख ९९ हजार रुपैयाँ बरामद भयो । निगरानीकै क्रममा सोही दिन अपराह्न १ः४५ बजे न्युरोडबाटै हुम्ला सार्के–१ का २८ वर्षीय सञ्जय बुढा र २७ वर्षीय नवराज रावल पक्राउ परे । उनीहरूको साथबाट क्रमशः १६ लाख ५० हजार र ११ लाख ५८ हजार रुपैयाँ बरामद गरियो । प्रहरीले रकमको स्रोत खोज्यो । तर, दुवैले देखाउन सकेनन् । 

यी घटनामा संयोग के छ भने पक्राउ परेका तीनैजनाले बरामद रकम इन्द्रचोकस्थित नागरिक कल्याण ऋण तथा बचत सहकारीमा डिपोजिट गराउन लैजाँदै थिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो । सहकारीका सञ्चालक गोपाल राउत र भीमबहादुर तामाङ पक्राउ परे । उनीहरूका मोबाइल र कारोबारका लागि प्रयोग गरिएका कम्प्युटर नियन्त्रणमा लिइयो । प्रहरीले सोही दिन फरक–फरक ठाउँमा दुई करोड रुपैयाँ ट्रान्सफर गरिएको खुल्ने एसएमएस पनि फेला पा¥यो । जुन हुन्डी कारोबारका लागि थियो । 

‘शंकास्पद गतिविधि देखिएपछि न्युरोडबाट तीनजना पक्राउ परे । खनतलासी गर्दा रकम बरामद भए । स्रोत देखाउन भन्यौँ, तर देखाउन सकेनन् । तीनैजनाले एउटै सहकारीमा रकम जम्मा गर्न लैजाँदै रहेछन् । हामीले सञ्चालकलाई पनि नियन्त्रणमा लियौँ, जफत गरिएका उनीहरूका मोबाइलबाट दुई करोड रुपैयाँ जम्मा भएको देखियो,’ घटनाका सम्बन्धमा अनुसन्धान गर्ने महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी डिबी मल्लले भने, ‘सहकारीबाट थप २२ लाखको चेक पनि बरामद भयो । बरामद रकम र चेक दुवैको स्रोत खुलेन । सोही दिन ट्रान्ज्याक्सन भएको दुई करोड रुपैयाँको एसएमएसले सहकारीबाट हुन्डी गरिएको पुष्टि ग¥यो ।’

एक महिनामै स्रोत नखुलेको रकमसहित ६ जना पक्राउ 
प्रहरी वृत्त जनसेवाका अनुसार ८ माघमा पनि न्युरोडबाटै स्रोत नखुलेको १५ लाख २६ हजार रुपैयाँसहित सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ का २४ वर्षीय छेवाङ शेर्पा पक्राउ परे । त्यसको अघिल्लो दिन अर्थात् ७ माघमा पनि न्युरोडबाटै दोलखा शैलुङ गाउँपालिका–८ का २६ वर्षीय शान्तवीर तामाङ पक्राउ परे । खनतलासी गर्दा उनको साथबाट पनि स्रोत नखुलेको नौ लाख ९० हजार रुपैयाँ बरामद भयो । ६ पुसमा पनि न्युरोडबाटै स्रोत नखुलेको १३ लाख पाँच हजार रुपैयाँसहित धादिङ खनियाँवास गाउँपालिका–३ का २५ वर्षीय बिर्ज तामाङ पक्राउ परे । 

पक्राउ परेका तीनैजनाले बरामद रकम न्युरोडकै फरक–फरक सहकारीमा डिपोजिट गर्न लैजाँदै थिए । डिएसपी मल्ल भन्छन्, ‘बरामद रकमको स्रोत खुल्दैन । संयोग के भने तीनैजना रकम सहकारीमा जम्मा गर्न लैजाँदै थिए । २४ घन्टासम्म गरिएको हाम्रो अनुसन्धानको निष्कर्ष छ, बरामद रकमको सम्बन्ध कहीँ न कहीँ हुन्डीसँग जोडिएको छ ।’

गत ७ साउनमा पनि न्युरोडमा यस्ता घटना भएको पाइएको थियो । प्रहरीका अनुसार न्युरोडस्थित समृद्धि ऋण तथा सहकारीबाट भारतीय नागरिक विकास अग्रवालले एक हजार दरको ३५ सय थान र पाँच सय दरका एक हजार थान गरी ४० लाख रुपैयाँ निकाले । विशाल बजारअगाडि अचानक उनको रकम लुटियो । घटनामा प्रहरी नै संलग्न भएको पाइएपछि प्रहरी हवल्दार धीरेन्द्र विष्ट र प्रहरी जवान विक्रम चन्द पक्राउ परे । 

अनुसन्धानका क्रममा लुटिएको रकम खोजी भयो । सँगै रकमको वैधानिक स्रोत पनि खोजी भयो । तर, स्रोत खुलाउन नसकेपछि अग्रवालले सहकारीबाट ४० लाख रुपैयाँ नभई १० लाख रुपैयाँ मात्रै झिकिएको र सोही रकम लुटिएको प्रहरीलाई बयान दियो । सो मुद्दा अहिले अदालतमा विचाराधीन छ । तर, अहिलेसम्म लुटिएको भनिएको न दश लाख रुपैयाँ भेटिएको छ, न त्यसको स्रोत नै खुलेको छ । प्रहरीको दाबी छ, ‘यो रकम पनि हुन्डी कारोबारकै निम्ति थियो ।’

एक महिनाको अन्तरालमा न्युरोडकै सडकमा स्रोत नखुलेका रकमसहित ६ जना पक्राउ पर्नु, बरामद रकम न्युरोडकै बचत तथा ऋण सहकारीमा जम्मा गरिनु र अनुसन्धानपछि सहकारीका सञ्चालकको गतिविधि पनि शंकास्पद देखिनु संयोग मात्रै होइन । घटनाले कहीँ न कहीँ न्युरोडका बचत तथा ऋण सहकारीको धन्दा सहकार्य नभई हुन्डी कारोबार रहेको देखाउँछ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले न्युरोडस्थित केही बचत तथा ऋण सहकारीको धन्दा सन्देहपूर्ण रहेको स्वीकार गरे । उनले भने, ‘न्युरोडबाट स्रोत नखुलेको रकमसहित केही युवा र सहकारी सञ्चालक पनि पक्राउ परेका छन् । अनुसन्धान गर्दा उनीहरूका गतिविधि शंकास्पद देखिन्छ । यसबाट न्युरोडका सहकारीको धन्दा कतै गलत बाटोमा त गएको छैन ? हामीले सबैलाई निगरानीमा राखेका छौँ ।’

न्युरोडमा मात्रै तीन सय सहकारी
मुलुकभर २९ हजार ७६१ सहकारी सञ्चालनमा छन् । बागमती प्रदेशमा मात्रै १० हजार ४१८ सहकारी छन् । सबैभन्दा धेरै सहकारी काठमाडौंमा दुई हजार पाँच सय ११ छन् । यसको झन्डै १२ प्रतिशत अर्थात् तीन सय सहकारी न्युरोडमै छन् । यति धेरै सहकारी न्युरोडमै खोलिनु र आर्थिक करोबार पनि अर्बौंको देखिनु सन्देहपूर्ण देखिन्छ । सहकारी विभागका उपरजिस्ट्रार चोमेन्द्र न्यौपानेसमेत न्युरोडका केही सहकारीको धन्दा सन्देहपूर्ण देखिने स्वीकार गर्छन् । ‘न्युरोडजस्तो सानो ठाउँमा धेरै सहकारी खुलेका छन् । कारोबार पनि राम्रै देखिन्छ । त्यहीँका सहकारी विवादमा मुछिइरहनुले धन्दामा केही सन्देह देखिन्छ,’ न्यौपाने भन्छन्, ‘यद्यपि हामीले अनुमगन गरेका छौँ । सचेत गराएका छौँ । केहीलाई कारबाही पनि गरेका छौँ ।’

कानुनअनुसार एउटा सहकारीमा न्यूनतम २५ र त्यसभन्दा माथि अनुकूलताअनुसार सदस्य रहने व्यवस्था छन् । एउटा सहकारीमा रहेको सदस्य अर्को सहकारीमा रहन नपाउने कानुनमै उल्लेख छ । तर, न्युरोडका सहकारीमा त्यस्तो देखिँदैन । एउटै व्यक्ति एकभन्दा धेरै सहकारीमा सदस्य रहेको देखिन्छ । न्युरोडस्थित कतिपय सहकारीको त कार्यालय पनि व्यवस्थित छैनन् । न त पहिचान खुल्ने गरी साइनबोर्ड नै राखेका छन् ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको निर्देशन ०७४ अनुसार प्रत्येक सहकारीमा कानुन पालना गरे नगरेको अनुगमन र रिपोर्ट गर्न एक कम्प्लायन्स अफिसर राखिनुपर्छ । तर, यस्ता अफिसर न्युरोड मात्र नभई अधिकांश सहकारीले राखेका छैनन् । जसकारण सहकारी ‘रिक्स प्रोफाइल’ बन्न सकेको छैन । न सहकारीले रजिस्ट्रार कार्यालयमा तोकिएअनुसारको प्रतिवेदन नै पठाउन सकेको छ । बैंकमा झँै सहकारीले पनि आफ्ना सदस्यको अनिवार्य तवरले केवाइएम (नो योर्स मेम्बर्स) फारम भर्न कानुनी व्यवस्था छ । उक्त फारम पनि अधिकांश सहकारीले भरेका छैनन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक तेजप्रकाश प्रसाईंले पनि सहकारीको गतिविधि सन्देहपूर्ण रहेको बताए । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीको गतिविधितर्फ भर्खर मात्रै हेर्न सुरु गरेको छ । उनीहरूका गतिविधि हेर्दा सन्देहपूर्ण नै देखिन्छ । केही सहकारी अनुसन्धानको दायरामा छन् । केहीलाई कारबाही गर्न सहकारी विभाग पठाएका छौँ । गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको पाइएको छ । त्यसको अनुसन्धान हामी आफैँ गरिरहेका छौँ,’ उनले भने ।

गो एमएएल प्रणाली नहुँदा कालोधन सहकारीतर्फ 
कालोधन प्रयोग गर्न नपाओस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मातहतका क वर्गका बैंकमा भर्खर मात्रै गो एमएएल (एन्टी मनी लाउन्डरिङ सिस्टम) प्रयोग गरेको छ । मातहतका अन्य वर्गका बैंकलाई पनि राष्ट्र बैंकले यो सिस्टम तत्काल लागू गर्न भनेको छ । तर, सहकारीमा यो सिस्टम अनिवार्य छैन । यसैको फाइदा उठाउँदै हुन्डीमार्फत कालोधनको कारोबार गर्नेहरू सहकारीतर्फ आकर्षित भएको अनुमान गरिएको छ । सहकारी विभागका उपरजिस्ट्रार न्यौपानेले समेत यसलाई स्वीकार गरे । ‘अहिले राष्ट्र बैंकले मातहतका सबै क वर्गका बैंकमा गो एमएएल सिस्टम लागू गरेको छ । अन्य बैंकले पनि चाँडै यो सिस्टम लागू गर्दै छन् । जसकारण बैंकमा अब कालोधन कारोबार हुनै सक्दैन । तर, सहकारीमा त्यस्तो छैन,’ न्यौपानेले भने, ‘सहकारीमा गो एमएएल सिस्टम अनिवार्य छैन । त्यसो हुँदा हुन्डीमार्फत कालोधनको कारोबार गर्नेहरू यसतर्फ आकर्षित भएको हुन सक्छन् । यसतर्फ सहकारी विभाग सचेत छ ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक प्रसाईंले पनि सहकारीमा गो एमएएल सिस्टम नहुँदा कालोधनको कारोबार गर्नेहरूको नजर गएको संकेत गरे । ‘बैंकमा गो एमएएल सिस्टम लागू भएको छ । यसले कालोधनको कारोबार भए नभएको सूचना सिस्टममा सूचित गराउँछ । तर, सहकारीमा त्यस्तो छैन । यसको फाइदा कालोधनको कारोबार गर्नेहरूले नउठाउलान् भन्न सकिन्न,’ उनले भने ।

सहकारीमा कुल सेयर पुँजी ९४ अर्ब पुग्यो 
सहकारी विभागको तथ्यांकअनुसार मुलुकभर रहेका २९ हजार ७९१ सहकारीको कुल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार रुपैयाँ पुगेको छ । जसमा बचत संकलन मात्रै चार खर्ब ७७ अर्ब ९६ करोड ११ लाख रुपैयाँ छ । जसले ८८ हजार तीन सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।