मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी न्युयोर्क
२०७७ माघ २२ बिहीबार १४:००:००
Read Time : > 1 मिनेट
विश्व

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यानमारको सैन्य कु विफल पार्न आह्वान 

Read Time : > 1 मिनेट
रासस/एएफपी न्युयोर्क
२०७७ माघ २२ बिहीबार १४:००:००

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमबार म्यानमारमा भएको सैनिक कु विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापना गर्न आह्वान गरेका हुन् । 

उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताएका छन् । ‘यो कु विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ,’ उनले भनेका छन्, ‘जनचाहना र निर्वाचनको परिणामलाई उल्ट्याउनु पूर्ण रूपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यानमारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’   

सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सुकीलाई गिरफ्तार गरेको थियो । म्यानमारको प्रहरीले सुकीविरुद्ध विभिन्न अभियोग लगाएको छ र १५ फेब्रुअरीसम्म उनी हिरासतमा रहने जनाइएको छ । सेनाले सत्ता हातमा लिएपछि सुकी र राष्ट्रपति विन मिनका तर्फबाट कुनै किसिमका प्रतिक्रिया आएका छैनन् । 

म्यानमारमा सेनाद्वारा एक वर्षका लागि संकटकाल लागू गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । उक्त चुनावमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले अत्यधिक मत ल्याएको थियो । गत नोभेम्बरको चुनावबाट संसद्को तल्लो र माथिल्लो दुवै सदनका कुल चार सय ७६ स्थानमध्ये सुकीको दल एनएलडीले तीन सय ९६ स्थान जितेको छ । सन् २००८ को संविधानबमोजिम सेनालाई संसद्को कुल स्थानको २५ प्रतिशत छुट्याइएको छ । साथै कतिपय महत्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ ।

सेनाले फेसबुक बन्द गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुऱ्याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो । बिहीबार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए । कुको विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन् ।