मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हेमन्त केसी
२०७५ माघ २९ मंगलबार ११:४३:००
Read Time : > 1 मिनेट
समाचार

ट्रयाक खुलेको १२ वर्षपछि  पनि गाडी गुडाउन मुस्किल

Read Time : > 1 मिनेट
हेमन्त केसी
२०७५ माघ २९ मंगलबार ११:४३:००

ट्रयाक खुलेको १२ वर्ष बितिसक्दा पनि जाजरकोटको खलंगा–पाँचकाटिया सडकमा नियमित गाडी चल्न सकेको छैन । सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्नसमेत समस्या भएको छ । 

खलंगा–पाँचकाटिया २३ किलोमिटर सडकको १२ वर्षअघि ट्रयाक खोलिएको थियो । ट्रयाक खुलेपछि कसैेले वास्ता नगर्दा झन् सास्ती भएको स्थानीय बासिन्दाले बताए । कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावत गर्न पनि सास्ती भएको टीकाराम खड्काले बताए । यो सडकमा हिउँदमा धुलाम्ये र वर्षात्मा हिलाम्ये हुने गरेको उनले बताए । 

सदरमुकामबाट कुशे र बारेकोट गाउँपालिकामा खटिएका कर्मचारीलाई समेत समस्या हुने गरेको छ । ‘बाटो झन् बिग्रिएर मोटरसाइकल चलाउन मुस्किल हुन्छ । हिँडेर आवतजावत गर्दा दुई–तीन दिन लाग्छ,’ कृषि प्राविधिक यज्ञबहादुर रोकायले भने । ट्रयाक खुलेयता केही मर्मतसम्भार नगरिएको उनको भनाइ छ । 

यो सडकमा गाडी गुडाउन पनि जोखिम हुने गरेको व्यवसायीहरू बताउँछन् । ‘यो सडक त्यसै खेर गएको छ । सडकले सहज हुुनु त कहाँ हो, उल्टै धुलो र हिलोले सास्ती हुन्छ,’ पाँचकाटीयाका व्यापारी चक्रबहादुर थापाले भने । सडक डिभिजन कार्यालय र भेरी नगरपालिकाको लापरबाहीले सबैले समस्या झेल्नुपरिरहेको उनको भनाइ छ । 

खलंगा–पाँचकाटिया सडकमा नियमित यातायात पनि सञ्चालन हुँदैन । वर्षात्मा हिलो र हिउँदमा धुलो हुँदा ६ महिना गाडी सञ्चालन नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘निर्माण भएको १२ वर्ष भयो, अझै गाडी गुडाउन लायक बनेको छैन,’ स्थानीय व्यापारी चक्रबहादुर खड्काले बताए ।  नियमित सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामान आपूर्ति गर्न पनि समस्या हुने गरेको छ । ‘दुई गाउँपालिकामा खाद्यान्न ढुवानी गर्नसमेत गाह्रो हुन्छ, सधैँ अभाव नै हुन्छ,’ भेरी नगरपालिका–२ बाहुनथानका व्यापारी टिकाराम खड्काले भने । 

 कैयौँ सडक अलपत्र
खलंगा–पाँचकटीयाजस्तै जाजरकोटका दर्जनौँ सडक अलपत्र परेका छन् । सडकको ट्रयाक खोलिए पनि स्तरोन्नति तथा मर्मतसम्भार नहुँदा ग्रामीण सडकहरू अलपत्र परेका हुन् । ‘सबै सडक उस्तै छन्, सामान ढुवानी गर्नसमेत समस्या हुन्छ,’ स्थानीय व्यापारी प्रेमबहादुर थापाले भने ।  राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले सडक निर्माणका लागि जोड दिने तर त्यसको स्तरोन्नति र मर्मतसम्भारका लागि वास्ता नगर्ने भएकाले समस्या भएको व्यापारीहरूको भनाइ छ । ‘घर छेउछाउसम्म सडक लैजान्छन्, त्यसपछि न गाडी गुड्छ, न हिँडडुल गर्न सहज हुन्छ,’ खड्काले भने । जसका कारण यहाँका दर्जनौं सडकमा गाडी गुड्ने गरेको छैन ।