मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनु आचार्य
२०७५ माघ २९ मंगलबार ११:३७:००
Read Time : > 1 मिनेट
समाचार

वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न महाहन्ट अप्रेसन

Read Time : > 1 मिनेट
अनु आचार्य
२०७५ माघ २९ मंगलबार ११:३७:००

लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न महाहन्ट अप्रेसन गरिने भएको छ । यसअघिको अप्रेसन प्रभावकारी बन्दै गएपछि पुनः अप्रेसन सुरु गर्न लागिएको हो । 

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले सोमबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी अप्रेसनबारे जानकारी दिइन् । वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न १ फागुनबाट चार महिनाका लागि पाँचौँ अप्रेसन थालिने उनले बताइन् । उनले भनिन्, ‘निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी–सिकार रोक्न विशेष अभियान सञ्चालन गर्न लागेका हौँ । यो पाँचाँै अभियान हो ।  अभियान चार महिनासम्म सञ्चालन हुन्छ ।’

अवैध ओसारपसार नियन्त्रण गरी दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्न पनि अप्रेसनले सहयोग पु-याउने उनले बताइन् । गत वर्ष सञ्चालन गरिएको अभियानले ०७४ लाई रेडपान्डाको शून्य चोरी–सिकार वर्ष घोषणा गर्न सफल भएको उनले स्मरण गरिन् । 

निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी–सिकार रोक्न विशेष अभियान सञ्चालन गर्न लागेका हौँ । यो पाँचौँ अभियान हो ।  अभियान चार महिनासम्म  सञ्चालन हुन्छ ।
सुष्मा राना,प्रमुख संरक्षण अधिकृत लाङटाङ राष्ट्रिय निकुञ्ज

 तीनवटै जिल्लामा अप्रेसन
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा अप्रेसन हुनेछ । रसुवाको वृद्धिम, लोकिल र बोन्द्रोमा नेपाली सेनाका थप पोस्ट स्थापना गरिनेछ । रसुवा निकुञ्जको सुरक्षाका लागि खटिएको कालीजंग गणका सेना परिचालन हुनेछन् भने नुवाकोट र सिन्धुपाल्चोकमा थप सेना परिचालन गरिनेछ ।  

अभियानअन्तर्गत आगलागी नियन्त्रण, अवैध क्रियाकलाप नियन्त्रणलगायत कार्य गरिने निकुञ्जले जनाएको छ । एक महिना रिङ अप्रेसन गरिनेछ भने बाँकी तीन महिना कोर अप्रेसन हुनेछ । रिङ अप्रेसन बस्तीबाट ७ मिटर टाढासम्म टोली परिचालन हुनेछ भने कोर अप्रेसनमा एउटा पोस्टबाट अर्को पोस्टसम्म टोली पुग्नेछ । अभियान सुरु भएपछि निकुञ्ज क्षेत्रमा दैनिक १७० जना सेनाको टोलीले गस्ती गर्नेछ । 

अभियानको क्रममा मध्यवर्ती उपभोक्ता समिति र चोरी–सिकारी नियन्त्रण समूहसँग पनि समन्वय हुने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विश्वकै दुर्लभ वन्यजन्तु हिउँचितुवा, रेडपान्डा र कस्तुरी मृग पाइन्छन् । ०३२ मा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ । जसले रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भूभाग ओगटेको छ ।