मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तेजराज भट्ट
२०७५ माघ २९ मंगलबार ११:२३:००
Read Time : > 1 मिनेट
समाचार

हुलाकी सडक विवाद : वन्यजन्तुको बाटो बनाए मात्र जैविक मार्गमा सडक

Read Time : > 1 मिनेट
तेजराज भट्ट
२०७५ माघ २९ मंगलबार ११:२३:००

वसन्ता जैविक मार्गको वन क्षेत्रमा हुलाकी सडक निर्माण गर्दा वन्यजन्तु ओहोरदोहोर गर्ने बाटा बनाउनुपर्ने सर्त वन कार्यालयले अघि सारेको छ । जैविक मार्गमा पर्ने १८ किलोमिटर सडक निर्माण गर्दा कम्तीमा चार ठाउँमा वन्यजन्तु ओहोरदोहोर गर्ने ‘अन्डर पास वे’ र ‘ओभर पास वे’ बनाउनुपर्ने सर्त वनले हुलाकी सडक आयोजना कार्यालयसँग राखेको हो ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख अमरबहादुर बुलनले वन्यजन्तु हिँडडुल गर्ने मार्ग नासिने गरी सडक निर्माणको अनुमति नदिन वन विभागलाई पत्राचार गरिएको पनि जानकारी दिए । जैविक मार्गमा रूख काटेर सडक निर्माण गर्दा वन्यजन्तुको मूल वासस्थान र आवतजावत गर्ने बाटो नासिने उनले बताए ।
वन कार्यालयले रूख कटानको अनुमति नदिएपछि कैलालीको वसन्ता जैविक मार्गमा हुलाकी सडकको काम लामो समयदेखि अघि बढ्न सकेको छैन । जैविक मार्गको १८ किलोमिटरमध्ये २ किलोमिटरमा ट्रयाक खोल्न वनले रूख कटानको अनुमति दिएको छैन ।

वसन्ता क्षेत्रको जैविक मार्गमा पर्ने एक हजार चार ४० वटा रूख कटानको आदेश प्राप्त नभएकोले हुलाकी सडक निर्माण कार्य अनिश्चित बनेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा ‘अन्डर पास वे’ र ‘ओभर पास वे’ राख्ने विषय समावेश नभएपछि वनले उक्त प्रतिवेदन स्वीकृत नगर्न केन्द्रलाई पत्राचार गरेको हो ।

कैलालीमा हुलाकी राजमार्गको कुल ७० किलोमिटरमध्ये १८ किलोमिटर कैलारी गाउँपालिका र भजनी नगरपालिकाअन्तर्गत वसन्ता वन क्षेत्रमा पर्छ । टीकापुर र धनगढीबाट वसन्ताको दुवै छेउसम्मको ४३ किलोमिटर हुलाकी सडक भारत सरकारको सहयोगमा ४ वर्षअघि नै कालोपत्रे भइसकेको छ । विवादका कारण भारतीय निर्माण कम्पनी काम नगरी फर्केको थियो ।

वनले वन्यजन्तु आवतजावतको मार्ग बनाउनुपर्ने सर्त राखेपछि बाँकी खण्ड निर्माणमा थप अन्योल देखिएको छ । ‘वसन्ता वन्यजन्तुको मुख्य वासस्थान र ओहोरदोहोर गर्ने ठाउँ हो । यस्तो वनमा सकभर सडक नै निर्माण गरिनु हुँदैन,’ वन अधिकृत बुलनले भने, ‘निर्माण गर्नै परे वन्यजन्तुले सुरक्षित रूपमा सडक पार गर्ने ‘पास वे’ अनिवार्य रूपमा राख्नुपर्छ ।’हुलाकी सडक आयोजना कार्यालय धनगढीका निमित्त प्रमुख रामकुमार जैसवालले अहिलेकै निर्माण सम्झौतामा वन्यजन्तुको ओहोरदोहोर गर्ने संरचना बनाउन सम्भव नहुने बताए ।

पास–वे बनाउन प्रस्ताव
पिलरको सहायताले सडक जमिनभन्दा केही माथि उठाएर तलबाट वन्यजन्तु हिँड्डुल गर्न सक्ने बाटो दुई ठाउँमा बनाउन प्रस्ताव गरिएको छ । होचो ठाउँमा जमिनमुनि सडक बनाएर माथिबाट वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने दुईवटा ‘ओभरपास–वे’ बनाउनुपर्ने सर्त वन कार्यालयले राखेको छ । भारतको दुधुवा नेसनल पार्कबाट हात्ती, बाघलगायत जनावर वसन्ता मार्ग भएर ओहोरदोहोर गर्ने वन कार्यालयको भनाइ छ । वसन्ता महत्वपूर्ण जैविक मार्ग भए पनि वातावरणीय प्रभाव मूल्यांकन गर्दा जैविक पक्षलाई ध्यान नदिइएको वन अधिकृत अमरबहादुर बुलनले बताए ।