मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ११:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विदेश जाने कागजात  आधा घन्टामै प्रमाणीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ११:१८:००

विदेश जाने कागजात प्रमाणीकरण गर्न घन्टौँ लाइन लाग्नुपर्ने समस्यामा सुधार आएको छ । अब आधा घन्टामै कागजात प्रमाणीकरण हुन थालेको हो । ‘कागजात प्रमाणीकरण गर्न आउने सेवाग्राहीका लागि आधा घन्टाभित्र सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ,’ परराष्ट्र मन्त्रालयको कन्सुलर विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले भने, ‘सेवाग्राहीले कागजात बुझाएको आधा घन्टाभित्र सेवा प्रदान गरिन्छ भन्ने सन्देश प्रवाह गरेका छौँ ।’

दस्ताबेजहरूलाई कम्प्युटर प्रणालीमा आबद्ध गरेर त्यसको अनलाइन भेरिफिकेसन गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए । ‘सेवाग्राहीलाई सुरुमा टोकन दिने गरिएको छ,’ राजभण्डारीले भने, ‘आधा घन्टामा टोकनसहित सेवाग्राही पुग्दा काम सम्पन्न भइसकेको हुन्छ ।’ कार्यबोझका आधारमा कार्यालय पनि १२ घन्टासम्म खुल्न थालेको छ । 

प्रमाणीकरण गरिएका कागजातको आधिकारिकता अनलाइनमार्फत परीक्षण गर्न सकिने भएकाले नक्कली छाप र हस्ताक्षर प्रयोग गरी कागजात बनाउन सम्भव छैन । विदेशी कूटनीतिक नियोगहरूलाई शंका लागे पेस भएका कागजात विभागले प्रमाणीकरण गरेको हो–होइन भनेर पहिचान गर्न विभागमा पत्र पठाइरहनु पर्दैन । ‘शंका लागेका कागजातको वैधानिकता अनलाइनमार्फत आफैं परीक्षण गरी सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउन सहज भएको छ,’ राजभण्डारीले भने । 

महानिर्देशक राजभण्डारीका अनुसार विभागले कन्सुलर तथा कानुनी परामर्शसम्बन्धी सेवा दुई वर्षदेखि अनलाइनमार्फत दिन थालेको छ । विदेशमा रहेका नेपाली श्रमिकहरूको खोजतलास र उद्धार, क्षतिपूर्ति एवं बिमा र मृतकको शव झिकाउनेलगायत समस्यामा अनलाइनमार्फत निवेदन दिन सकिनेछ । ‘त्यसरी दिइएका निवेदनउपर सम्बन्धित निकायबाट भए गरेका कामकारबाहीको प्रगति विवरण निवेदक स्वयंले अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएका छौँ, अब कन्सुलर सेवाका लागि कोही पनि काठमाडौं आइरहनु पर्दैन,’ राजभण्डारीले भने । 

अनलाइन सेवाका कारण दूतावासको कार्यसम्पादनलाई विभागबाट प्रत्यक्ष अनुगमन गर्न सकिने, घाइते तथा मृतक कामदारले पाउने क्षतिपूर्तिको विवरण पारदर्शी हुने, रकम प्राप्त भए–नभएकोबारे जानकारी पाइनेछ ।