मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भैरहवा विमानस्थल
केदार दाहाल काठमाडौं
२०७७ माघ २१ बुधबार ०९:०३:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतले अहिलेसम्म नयाँ हवाई रुट दिएन, सम्पन्न हुन लागेका पोखरा र भैरहवा विमानस्थलको सञ्चालन अन्योलमा

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ माघ २१ बुधबार ०९:०३:००

भारत र नेपालबीच नयाँ हवाई रुटको विषयमा वर्षौँदेखि छलफल जारी छ । तर, नयाँ हवाई प्रवेश बिन्दु दिन भारत सहमत नहुँदा राज्यले अर्बौँ खर्च गरेर बनाइरहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै हुन नसक्ने खतरा बढ्दै गएको छ ।

भारतसँग हवाई सम्झौता नहुँदाका असरहरू  

-निर्माणका चरणमा रहेका दुवै विमानस्थलले बिजनेस नपाउने,
-विमानस्थलमा उडान–अवतरण गर्दा प्रत्येकपटक अनुमति भारतसँग लिनुपर्ने,
-प्रत्येक उडान–अवतरणमा बोर्डर क्रस हुने, 
-नयाँ विमानस्थलमा सम्झौता नभएसम्म एयरलाइन्सहरूले उडान भर्न नमान्ने, 
-विमानस्थल निर्माणअगावै सम्झौता नभए विमानस्थल नै बेकामे हुने,  
- नेपालमा सिमरा रुटको मात्र प्रयोग गर्न दिइएकाले सम्झौता नभए पोखरा–भैरहवा–लखनउ उडान नहुने ।

                                    .......

नेपालले वर्षौँदेखि मागिरहेको नयाँ हवाई प्रवेश बिन्दु दिन भारत तयार नहुँदा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै हुन नसक्ने जोखिम बढ्दै गएको छ । नेपाल र भारतबीच सन् २०१४ देखि पटक–पटक हवाई रुटको विषयमा छलफल हुँदै आएको छ । तर, हालसम्म पनि नयाँ हवाई रुटको विषय टुंगो नलाग्दा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमै समस्या हुने देखिएको हो । ‘दुवै विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले अहिले प्राविधिक र कूटनीतिक दुवैतर्फबाट रुट प्रयोग गर्ने सहमतिको पहल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । 

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९३ प्रतिशत काम पूरा भइसकेको छ । निर्माण एवं जग्गा प्राप्तिको मुआब्जासमेत गरेर यो विमानस्थलमा राज्यको ३५ अर्ब खर्च हुँदै छ । यसअघि नै सम्पन्न हुनुपर्ने विमानस्थलको प्राविधिक काम कोभिड–१९ का कारण चिनियाँ प्राविधिक नआउँदा सम्पन्न हुन बाँकी छ ।

यता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि राज्यको मुआब्जा र विमानस्थल निर्माणमा ३० अर्बभन्दा बढी खर्च हुँदै छ । विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सरकारले दुवै विमानस्थल आगामी वैशाख–जेठदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर, हवाई प्रवेश बिन्दुको विषयमा भारतसँग हालसम्म पनि सहमति हुन सकेको छैन । हवाई प्रवेश बिन्दुको विषय टुंगो नलागेसम्म विमानस्थल सञ्चालनमा समस्या आउने निश्चित छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल । तस्बिर : नयाँ पत्रिका

सन् २०१८ को सेप्टेम्बरमै जनकपुर, विराटनगर र भैरहवाको तीनवटा रुट दिने विषयमा भारतीय पक्षसँग सैद्धान्तिक सहमति भएको थियो । तर, हालसम्म प्राविधिक विषयमा सहमति हुन सकेको छैन । त्यसका कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओमा) रुटको प्राविधिक नक्सा बुझाउन सकिएको छैन । हवाई सेवा सञ्चालनका लागि दुवै पक्षले आइकाओमा बुझाउनुपर्ने हुन्छ ।

आइकाओले रुट प्रकाशन गर्न आवश्यक छ । ‘सन् २०१८ को सेप्टेम्बरमा सहमति भएपछि त्यसको काम अगाडि बढे पनि आइकाओबाट अझै प्रकाशन गर्नका लागि अन्य थप सहमति हुनुपर्ने हुन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले भने । नेपालले जनकपुर, भैरहवा, विराटनगर, नेपालगन्जबाट हवाई प्रवेश बिन्दु माग गरेको छ । ती बिन्दूबाट अहिले बाहिरिने अनुमति भए पनि प्रवेशको भने अनुमति छैन । नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ ।  

नयाँ हवाई प्रवेश बिन्दुका विषयमा दुईपक्षीय छलफल सन् २०१४ देखि सुरु भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक नेपाल भ्रमणमा आउँदा हवाई बिन्दुको विषय उठेको थियो । भारतीय प्रधानमन्त्री मोदीले ६ महिनाभित्रमा टुंगो लगाउने घोषणासमेत गरेका थिए । तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमणदेखि यो एजेन्डामा निरन्तर छलफल हुँदै आएको छ । नेपालले भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर बिन्दु माग गर्दै आएको थियो । सोहीअनुसार भारतीय पक्ष जनकपुर र विराटनगर प्रवेश बिन्दु दिन भने सहमत छ । तर, नेपालका लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिमतर्फका देशबाट आउने जहाजका लागि महेन्द्रनगर प्रवेश बिन्दु दिन भने भारत सकारात्मक छैन । 

नेपालको पूर्वमा बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने जहाज ‘रोमियो ५८१’ रुट हुँदै सिमराबाट प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन् । यसैगरी, पश्चिमबाट आउने जहाजले ‘गल्फ ५८९’ रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन् । भुटानको पारोबाट आउने जहाज मेची प्रवेश बिन्दुबाट छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्छ । चीनको ल्हासाबाट आउने जहाज भने ‘ब्राबो ३४५’ रुट हुँदै नुनिम बिन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेका छन् । यसैगरी, नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुईवटा रुट छन् । एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने गरेका छन् । तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरिने गर्छन् ।
 
भैरहवामा खुला आकाश हवाई सम्झौता अनिवार्य 
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिमाना नजिक हुँदा भारतीय पक्षसँग खुला आकाश हवाई सम्झौता अनिवार्य छ । नेपाल–भारतबीच एयर स्पेस एग्रिमेन्ट (एएसए) सम्झौता नभए नेपालमा बन्दै गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान–अवतरण गर्न नपाउने निश्चित रहेको छ । उक्त सम्झौता नभएमा प्रत्येक उडानको स्वीकृत भारत सरकारले दिनुपर्ने अवस्था हुनेछ । नेपाल र भारत सीमाको अत्यन्त नजिकै रहेको विमानस्थलमा प्रत्येक उडानमा जहाजले सीमा वारपार गर्नुपर्ने हुन्छ । तर, सम्झौताको विषमया पाँच वर्षदेखि चर्चामा रहे पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । नेपाल र भारतीय पक्षबीच पटक–पटकको वार्ता निष्कर्षविहीन हुँदै आएको छ ।

हवाई सम्झौताले मुख्य गरी जहाजको उडान–अवतरणमा ओभारसुट, आकाशमा होल्ड गर्दा तथा नजिकको विमानस्थल प्रयोग गर्दा सजिलो हुनेछ । उक्त सम्झौता नभएमा बोर्डर क्रस गर्नेबित्तिकै स्वीकृत लिनुपर्ने हुन्छ, तर सम्झौता भएमा केही पनि स्वीकृत लिनुपर्दैन ।

आइएफआर प्रोसिड्युरमा समेत भारतको अवरोध 
विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले तयार पारेको आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण) मा समेत भारतीय पक्षले असन्तुष्टि जनाएको छ । हवाई प्रवेश बिन्दु नै खुलाउन समस्या पारेको भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा अर्को विवाद खडा गरेको हो । नेपालको आइएफआर प्रोसिड्युरमा न्यूनतम १ नटिकल माइलदेखि अधिकतम २ नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको छ ।