मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १०:५४:००
Read Time : > 2 मिनेट
सेयर बजार

नेप्सेमा सामान्य सुधार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १०:५४:००

साताको दोस्रो दिन नेप्से परिसूचकमा सामान्य सुधार भएको छ । निरन्तरजसो बजार ओरालो लागेर घटेको लगानीकर्ताको मनोबल, यस दिन बजार उकालो लागेपछि केही बढेको छ । बजार ओरालो लागेसँगै कम्पनीहरूको सेयरमूल्य सस्तिएको छ । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्न लगानीकर्ताहरू बजार पसेपछि यस दिन बजार केही बढेको हो । यस दिन कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले बजार प्रभावित पारेको एक ब्रोकरले बताए । दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरूले उल्लेख्य नाफा आर्जन गरेका छन् । नाफा बढेका कम्पनीहरूमा लगानीकर्ताहरू बजारतर्फ केही आकर्षण देखिएको उनको भनाइ छ । सेयर खरिद गर्नुअघि कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न जरुरी छ । कम्पनीहरूको वित्तीय विवरणले सो विश्लेषण गर्न सहयोग गर्दछ । 

बजार सारांश
नेप्से परिसूचक सोमबार १ दशमलव ३४ अंक बढेर १ हजार १ सय २८ दशमलव ८६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव १९ अंक बढेर २ सय ४० दशमलव ४० बिन्दुमा पुगेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ६ अंक बढेर ७५ दशमलव ३४ बिन्दुमा पुगेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव १ अंक बढेर ८२ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६६ कम्पनीको ४ हजार ९ सय ८२ पटकको कारोबारमा २० करोड २७ लाख १४ हजार रुपैयाँबराबरको ६ लाख ८७ हजार ३ सय ३६ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः सोमबार नेप्सेको १४ दिने आरएसआई २९ दशमलव शून्य ४ स्केलमा पुगेको छ । यो आरएसआई आइतबार ओभरसोल्ड जोनमा झरेको थियो । यस दिन पनि आरएसआई ओभरसोल्ड जोनमा नै रहनुले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन १ दशलमव ५४ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीमध्ये ७७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

सोमबारको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे १ हजार १ सय २४ दशमलव ७२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३२ दशमलव ८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय २० दशमलव ५८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ३६ दशमलव ७४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

चौतारीको सेयरमूल्यमा सर्किट ब्रेक
यस दिन चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ । यस कम्पनीको सेयरमूल्य यस दिन २८ रूपैयाँ बढेर ३ सय ११ रूपैयाँमा अन्तिम कारोबार भएको छ । कालिका पावर कम्पनीको सेयरमूल्य यस दिन ७ दशमलव ७८ प्रतिशत बढेको छ । कारोबारमा आएको वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ३ प्रतिशत बढेको छ । त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ । 

 ८ कमाउने, २ गुमाउने
यस दिन कारोबारमा आएको १० समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने बाँकी २ समूहको परिसूचक मात्र घटेको छ । यस दिन विकास बैंक समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत, होटेल समूहको शून्य दशमलव ७८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७४ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४३ प्रतिशत र वित्त समूहको शून्य दशमलव ४ प्रतिशत बढेको छ । त्यसैगरी, अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३३ प्रतिशत, जलिविद्युत् समूहको शून्य दशमलव २१ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव १९ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ५३ प्रतिशत घटेको छ भने वाणिज्य बैंक समूहको शून्य दशमलव १५ प्रतिशत घटेको छ ।