फिल्म निर्देशनमा निरन्तर राजु

२०७५ माघ २९ मंगलबार ०९:५५:००

मनोरञ्जनका साथै मेरा फिल्मबाट समाजलाई केही सकारात्मक सन्देश पनि जाओस् भन्ने चाहना छ

एचआइभीपीडित महिलाको जीवनशैली र समाजमा पुनस्थापनाको सत्य घटनामा ‘द निर्मला’ नामक फिल्म निर्माण गरेर चर्चा कमाएका निर्माता, निर्देशक राजु अधिकारी पछिल्लो समय निकै व्यस्त छन् । थुप्रै अवार्ड जितेको अधिकारीको ‘द निर्मला’ देश–विदेशमा सर्वाधिक च्यारिटी सो गरिएको फिल्म हो । 

सामाजिक विषयमा फिल्म बनाउँदै आएका अधिकारीले त्यसपछि सन्तानले बाबुआमाको हेरचाह गर्नुपर्छ भन्ने कथामा सुब्बा साब फिल्म निर्देशन गरे । सो फिल्मबाट पनि उनले तारिफ पाएका थिए । बक्स अफिस फिल्म फेयर अवार्डमा सुब्बा साबबाट सर्वाेत्कृष्ट निर्देशकको अवार्डसमेत जितेका अधिकारीको अर्काे फिल्म लेकसाइडले देशमा पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गरेको भन्दै लन्डनमा आयोजित बक्स अफिस फिल्म फेयर अवार्डमा पर्यटन फिल्मको अवार्ड प्राप्त गरेको थियो । 

अधिकारीले निर्देशन गरेको अर्काे फिल्म छ–उल्झन । जसमा विदेशमा बस्ने नेपालीको पारिवारिक तथा सामाजिक पीडा प्रस्तुत गरिएको छ । हाल विदेशका विभिन्न सहरमा प्रदर्शन भइरहेको उल्झनको केही समयअघि लन्डनमा विशेष सो गरिएकोे थियो । उक्त सोमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीबाट आफू सम्मानित भएको उनी बताउँछन् । ‘उल्झनबाट मैले तारिफ पाइरहेको छु,’ निर्देशक अधिकारी भन्छन्, ‘अहिले विभिन्न देशमा प्रदर्शन गरिरहेका छौँ । केही समयपछि स्वदेशमा प्रदर्शन गर्छाैं ।’

हालै मेरो आफ्नो नामक पारिवारिक फिल्म निर्देशन गरेका निर्देशक अधिकारी अचेल भने नयाँ फिल्म ‘मिसन लन्डन’को सुटिङ थाल्ने तयारीमा छन् । जनपुकार मिडिया हाउसको ब्यानर, शरद अधिकारी, कृष्ण गिरी र बहादुरसिंह तामाङ निर्माता रहेको ‘मिसन लन्डन’को अधिकांश दृश्य बेलायतका विभिन्न स्थानमा खिचिने जानकारी उनले दिएका छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको फिल्ममा नवयुवा सोनाल लामा, ध्रुव दत्त, बेनी ढुंगानालगायतका कलाकारले अभिनय गर्दै छन् । फिल्मका केही कलाकार छनोट कार्य भइरहेको मिसन लन्डनको सुटिङ अप्रिल अन्तिमबाट सुरु हुने उनी बताउँछन् । स्कटल्यान्डनिवासी प्रकाश अर्याल र दीपेश रेग्मीले विदेशको व्यवस्थापन मिलाइरहेको सो फिल्मको कथा आरती अधिकारीको हो । 

चलचित्र निर्देशक समाजका सहकोषाध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मञ्चका कोषाध्यक्ष, चलचित्र संरक्षण मञ्चमा सल्लाहकार तथा चलचित्र निर्माता संघ नेपालका सदस्यसमेत रहेका निर्देशक अधिकारी निरन्तर फिल्म निर्माण र निर्देशनमै लागिरहने बताउँछन् । मिसन लन्डनका साथमा आफू ०७६ सालमा अन्य दुईवटा फिल्मको निर्देशन गर्ने तयारीमा रहेको उनी सुनाउँछन् । 

‘एकपछि अर्काे गर्दै फिल्म निर्माण गर्ने योजना छ,’ उनी भन्छन्, ‘मनोरञ्जनका साथै मेरा फिल्मबाट समाजलाई केही सकारात्मक सन्देश पनि जाओस् भन्ने चाहना छ ।’