मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १८ आइतबार १८:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

असक्त र असहायको एपिएफ अस्पतालमा निःशुल्क उपचार हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १८ आइतबार १८:०५:००

मानव सेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावकविहीनको सशस्त्र प्रहरी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपिएफ अस्पताल र मानव सेवा आश्रमका बीच आइतबार निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी समझदारी भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चाेकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा नेपाल एपिएफ अस्पतालका तर्फबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र मानव सेवा आश्रमका तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार आश्रमको सिफारिस भएका असहाय तथा असक्तहरूलाई नेपाल एपिएफ अस्पतालबाट उपलब्ध हुने इमर्जेन्सी, बहिरंग, जनरल तथा विशेषज्ञ ओपिडी, अन्तरंग सेवाअन्तर्गतका वार्ड सबै, आइसियू, एचसियू, एचडियू, अस्पतालमा उपलब्ध हुने माइनर तथा मेजर अप्रेसन सेवा, प्याथोलोजी सेवासमेत निःशुल्क उपलब्ध हुनेछ । यसैगरी रेडियोलोजीअन्तर्गत एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापीसम्बन्धी सम्पूर्ण सेवाहरूसमेत निःशुल्क रूपमा उपलब्ध हुने सशस्त्र प्रहरीले जनाएको छ ।

आइसियू तथा डाइलाइसिस सेवाका लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधिहरू, मुटुरोग, मिर्गाैला रोग, मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीहरूका लागि आवश्यक अस्पतालमा उपलब्ध औषधिसमेत निःशुल्क उपलब्ध गराइने समझदारीमा उल्लेख छ । अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरूलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ गरिनेछ । यसैगरी मानवसेवा आश्रमको सिफारिसबमोजिम काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स र शवबाहन सेवा उपलब्ध हुने, अस्पतालबाट खरिद गरिएका औषधिहरू मानव सेवा आश्रमबाट सिफारिस बिरामीहरूलाई निःशुल्क प्रदान गरिनेसमेत समझदारीपत्रमा उल्लेख छ ।

यसैगरी नेपाल एपिएफ अस्पतालमा हाल कायम भएको ११० शय्या  बेडमध्ये मानव सेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावकविहीनहरूलाई ३ (तीन) शय्या बेड उपलब्ध हुने सशस्त्र प्रहरीले जनाएको छ । समझदारी कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा र सेवाका कुराहरू पनि सँगै जाने बताए ।