मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी हङकङ
२०७७ माघ १८ आइतबार १४:१५:००
Read Time : < 1 मिनेट
विश्व

बेलायतद्वारा हङकङ छाड्न चाहनेलाई भिसा दिने घोषणा 

Read Time : < 1 मिनेट
रासस/एएफपी हङकङ
२०७७ माघ १८ आइतबार १४:१५:००

बेलायत सरकारले हङकङनिवासी लाखौँ बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएको हो । यो घोषणासँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक (विदेश)को मान्यता पाएका हङकङमा रहेका नागरिकले आवेदन दिन थालेका छन् ।

आइतबार अपराह्नदेखि बेलायती नागरिक (विदेश) पासपोर्ट भएका व्यक्ति र उनीहरूका आश्रित व्यक्तिले भिसाका लागि अनलाइन आवेदन गर्न सक्नेछन् । यस्ता व्यक्तिले पाँच वर्षपछि बेलायतको स्थायी नागरिकताका लागि आवेदन गर्न सक्ने बेलायत सरकारले घोषणा गरेको छ । 

चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि धेरै व्यक्तिले हङकङ छाड्न चाहेका छन् । कानुन लागू भएपछि बेलायतले पूर्वबेलायती नागरिकलाई यस्तो अवसर दिएको हो । बेलायतको पछिल्लो कदमपछि चीन अझ आक्रोशित भएको छ । 

बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गर्दा अरू ५० वर्ष हङकङको स्वायत्तता कायम राख्ने चीनले प्रतिबद्धता जनाएको थियो । तर, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने बताउँदै उनीहरूको स्वतन्त्रता र स्वायत्तताका पक्षमा बेलायत सदैव उभिइरहने प्रबितद्धता व्यक्त गरेका छन् । 

बेलायतको घोषणाप्रति चीनको आपत्ति
चीनले भने बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेकाप्रति आपत्ति जनाएको छ । बेलायती नागरिक (विदेश) वर्गीकरणमा रहेर पासपोर्टबाहक हङकङका नागरिकले यसका आधारमा यात्रा अनुमति नदिने चीनले जनाएको छ । चीनले बेलायतको पछिल्लो घोषणा औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको स्पष्ट गरेको छ ।