१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक कोभिड–१९ विरुद्धको खोप लगाउँदै
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १८ आइतबार ०६:१२:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

शनिबारसम्म ६४ हजारले लगाए कोभिडविरुद्धको खोप 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १८ आइतबार ०६:१२:००

शनिबारसम्म देशभर ६४ हजार चार सय २२ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्लाका एक सय ४३ खोपकेन्द्रबाट खोप वितरण भइरहेको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार पाँच सय ४७, प्रदेश २ मा दुई हजार एक सय १०, बागमतीमा पाँच हजार चार सय दुई, गण्डकीमा एक हजार आठ सय ८७, लुम्बिनीमा दुई हजार ६३, कर्णालीमा नौ सय ५५ र सुदूरपश्चिम प्रदेशमा नौ सय ३० जनाले खोप लगाएका छन् ।

खाेप लगाएपछि आम रूपमा कुनै पनि स्वास्थ्य समस्या नभएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । ‘केहीलाई सामान्य सिकायत छ । तर, अस्पताल जानुपर्ने गरी समस्या कसैलाई पनि देखिएको छैन,’ उनले भने । 

नेपालमै कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि बुधबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । नेपालमा एक वर्षअघि अर्थात् १४ माघ ०७६ बाटै कोरोना भाइरसको परीक्षण सुरु गरिएको थियो । 

अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो । 

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाइने तय भएको थियो । तर, अनुदानमा १० लाख डोज खोप आएकाले पहिलो चरणमा चार लाख ३० हजारलाई मात्र लगाउने तयारी छ । बाँकी खरिद गरी पूरा गरेपछि मात्रै दोस्रो चरणको अभियान सुरु हुने बताइएको छ । 

दोस्रो चरणमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनामा खोप लगाउने योजना छ । त्यसैगरी तेस्रो चरणका लागि ४० देखि ५४ वर्षका बाँकी सबै ९.५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना छन् । तेस्रो चरणमै १५ देखि ३९ वर्ष उमेर समूहका सबै ४२.०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाइनेछ ।

हालसम्म विश्वभर नौ करोडले लगाए कोभिड– १९ विरुद्ध खोप

हालसम्म विश्वभर नौ करोड आठ लाखजनाले कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिष्ठित सञ्चार संस्था ब्लुमबर्गले संकलन गरेको तथ्यांकअनुसार हालसम्म ६२ देशमा खोप लगाउने काम सुरु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार दैनिक औसत ४३ लाख ९० हजार डोज खोप विश्वभर लगाइन्छ । अर्बौँ जनतालाई लगाउनुपर्ने कोरोनाविरुद्धको खोप अभियान विश्व इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हुनेछ ।

अमेरिकामा १४ डिसेम्बरमा खोप लगाउन सुरु गरिएकोमा हालसम्म दुई करोड ८९ लाख डोज खोप लगाइसकिएको जनाइएको छ । अमेरिकाले हरेक दिन १३ लाख डोज खोप लगाउने गर्छ । त्यस्तै, चीनमा दुई करोड ३० लाख डोज खोप लगाइसकिएको छ ।

चीनमा दैनिक ११ लाख ४३ हजार डोज खोप लगाउने गरिन्छ । युरोपेली संघका मुलुकमा एक करोड १६ लाख डोज खोप लगाइएको ब्लुमबर्गले जनाएको छ । भारतमा हालसम्म २९ लाख २८ हजार डोज खोप लगाइएको छ । 

हालसम्म फाइजर–बायोएनटेक खोपले उत्तर अमेरिका, युरोप तथा मध्यपूर्वमा प्रयोगको अनुमति पाइसकेको छ । यो र मोडर्ना खोप ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष दशौँ हजार स्वयंसेवीमा गरिएको परीक्षणबाट पत्ता लागेको थियो ।

पिएलसी र अक्सफोर्ड विश्वविद्यालयले बनाएको एस्ट्राजेनेका खोपले बेलायतमा ३० डिसेम्बरमा प्रयोगको अनुमति पाएको थियो । चीन, भारत र रसियाले पनि आ–आफ्नो मुलुकमा उत्पादित खोपलाई प्रयोगको अनुमति दिइसकेका छन् । 

हालसम्म इजरायलले सबैभन्दा तीव्र गतिमा खोप लगाइरहेको छ । उसले एक सयमा ५१ जनालाई खोप लगाइसकेको छ । तर, विश्वका धेरैजसो मुलुकले हालसम्म पनि खोप सुरु गरेका छैनन् ।