मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
२०७७ माघ १८ आइतबार ०३:०१:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खोप : थप अनुदान आस, खरिदमा अलमल

हालसम्म नौ करोडले लगाए कोभिड– १९ विरुद्ध खोप

Read Time : > 6 मिनेट
२०७७ माघ १८ आइतबार ०३:०१:००

७२ प्रतिशत अर्थात् दुई करोड १६ लाख नेपालीलाई खोप लगाउन चार करोड ३२ लाख डोज आवश्यक पर्छ । १० लाख डोज दिएको भारतले थप १० लाख दिने आश्वासन दिएको छ । चीन र बेलायतबाट केही लाख डोजको अपेक्षा, खरिदको भने टुंगो छैन ।

......

भारतले अनुदानमा दिएको खोप अहिले धमाधम लगाइएको छ । चीन र बेलायतले पनि सीमित संख्यामा डोज दिने भनेका छन् । तर, खरिद गर्ने विषयमा भने अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन । 

१८ वर्ष उमेर नपुगेका तथा विभिन्न स्वास्थ्य अवस्थामा भएका व्यक्तिलाई खोप लगाउन मिल्दैन । त्यसैले ७२ प्रतिशत नागरिकलाई मात्र खोप लगाउने सरकारी तयारी छ । यसरी दुई करोड १६ लाख जनतालाई दुई–दुई डोज लगाउन नेपाललाई चार करोड ३२ लाख डोज खोप आवश्यक पर्छ । तर, यो खोप जुटाउने विषयमा अहिलेसम्म कसैसँग पनि सहमति भएको छैन । 

अहिलेसम्म १० लाख डोज भारतबाट आएको छ, थप १० लाख भारतले र तीन लाख डोज चीनले दिने आश्वासन दिएका छन् । यसरी अनुदानमा २३ लाख डोज खोप आउने आशा भएपछि चार करोड नौ लाख डोज कहाँबाट कसरी जुटाउने भन्नेमा नेपाल सरकार अझै स्पष्ट भइसकेको छैन । 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करीका अनुसार थप खोप खरिद गर्न भारतीय कम्पनी सेरमसँग छलफल भइरहेको छ । ‘भारतले अनुदानमा दिएको १० लाख डोज आएको छ, तर थप खोप खरिदका लागि सम्बन्धित कम्पनीसँग छलफल सुरु भएको छ । अहिले अनुदानमा आएको सिरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड हो । त्यही खोप ल्याउने विषयलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ,’ उनले भने । 

सबै जनतालाई तीन महिनामा खोप लगाउन सम्भव नभएको डा. तिङ्करीको भनाइ छ । ‘दुनियाँमा यसै पनि मागअनुसार खोपको उत्पादन भएको छैन । त्यसको खरिद, अयात र वितरणका आफ्नै प्रक्रिया छन् । अब तीनदेखि चार महिनामा सबै नागरिकलाई खोप लगाउन सकिन्छ भन्ने भन्ने अवस्था छैन,’ उनले भने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि सबै जनताले खोप कहिलेसम्म पाउँछन् भन्ने यकिन गर्न नसकिने बताए । उनले तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न भने सम्भव नहुने स्पष्ट पारे । ‘तीन महिनामा सम्भव छैन । यो विषय खोपको उपलब्धतामा भर पर्छ । खोप उपलब्ध भयो भने लगातार लगाउँदै जान सकिन्छ, सरकारले खरिदको योजना पनि बनाएको छ, तर उपलब्ध नै भएन भने कसरी गर्ने ?’ डा. गौतमले नयाँ पत्रिकासँग भने । 

सरकारले भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने तयारी गरेको छ । पहिलो डोज लगाएको २८ दिनपछि मात्रै दोस्रो डोज खोप दिने हो । त्यसपछि मात्र खोप प्रक्रिया पूरा हुन्छ । त्यसैले दोस्रो चरणको खोप अभियान सुरु हुन नै अझै करिब डेढ महिना लाग्ने अवस्था छ । 

१० लाख डोज खोप अनुदान दिएको छिमेकी भारतले त्यही मात्राको खोप फेरि अनुदान दिने भनेको छ । भारतबाट कुल २० लाख डोज प्राप्त भएमा त्यसले नौ लाख ६० हजारलाई खोप लगाउन मिल्नेछ । यसरी देशको तीन प्रतिशत जनसंख्याका लागि खोप भारतले अनुदानमा दिनेछ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपले मात्रै हाल नेपालमा अनुमति पाएको छ । 

अर्को छिमेकी चीनले पनि करिब तीन लाख डोज खोप दिने तयारी गरेको छ । तीन लाख खोपले करिब डेढ लाख नेपालीलाई खोप लगाउन मिल्नेछ । बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालका अनुसार खोपका सम्बन्धमा काठमाडौंस्थित चिनियाँ दूतावासले नै समन्वय गरिरहेको छ । 

चिनियाँ राजदूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागसँग समन्वय गरिरहेको छ । ‘खोपको दर्ता प्रक्रियालगायत केही प्राविधिक विषय टुंगिन बाँकी छ, केही दिनमा यो काम सकिएपछि पहिलो चरणमा अनुदानमा कम्तीमा तीन लाख डोज खोप उपलब्ध गराउने चीनको तयारी छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । 

तीन लाख डोज दिएपछि पनि थप अनुदानमा उपलब्ध गराउने आश्वासन चीनले दिएको सरकारी स्रोतका भनाइ छ । तर, खोप भने सुलभ मूल्यमा उपलब्ध गराउने तयारी छ । ‘नेपालको चाहना र आवश्यकताअनुसार सुलभ मूल्यमा खोप बिक्री गर्न पनि चीन तयार छ, सन्देश त्यही आएको छ,’ परराष्ट्रका अधिकारीले भने ।

खोप अनुदान दिन भारत र चीन इच्छुक देखिएका छन्, तर खोप खरिदसम्बन्धी प्रक्रिया भने अर्थपूर्ण रूपमा अघि बढेको छैन । नेपालले कति खोप खरिद गर्न खोजेको हो, कहिलेसम्म चाहिने हो भनेर भारत र चीनका दूतावासले पटक–पटक नेपाल सरकारलाई सोधिरहेका छन् । तर, सरकारका विभिन्न संयन्त्रबीच समन्वय नभएकाले नेपालले अहिलेसम्म कुनै पनि देशलाई ठोस जवाफ दिन सकेको छैन । 

भारतले अनुदानमा दिएको खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । त्यही खोप सहुलियत बिक्री गर्न सेरम इन्डिया तयार छ, तर खरिदको विषयमा ठोस सहमति हुन सकेको छैन । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार सेरम इन्डियाले भारत सरकारलाई बेचेकै मूल्यमा नेपाललाई बेच्ने वचन दिएको छ । ‘प्रतिडोज तीन सय ५० देखि चार सय रुपियाँ भारुका दरले नेपाललाई खोप बिक्री गर्न सेरम इन्डिया तयार छ,’ सुवेदीले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपाल आपूर्तिका लागि ढुवानीमा सहजीकरण गरिदिने प्रतिबद्धता भारत सरकारबाट आएको छ । यो विषयमा छलफल भइरहेको छ,’ उनले भने । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा दुई महिनाअघि भारत सरकारलाई लेखिएको पत्रमा भारतबाट नेपालले कम्तीमा २० प्रतिशत जनतालाई पुग्ने गरी खोप खरिद गर्ने चाहना व्यक्त गरिएको थियो । भारतले कम्तीमा तीन प्रतिशतका लागि अनुदानमा दिने भनेकाले थप १७ प्रतिशत जनताका लागि भारतबाट औषधि खरिदका विषयमा छलफल भइरहेको छ । तर, सहमति भने हुन सकेको छैन । 

खरिदको विषयमा चिनियाँ पक्षले पटक–पटक ताकेता गर्दा पनि नेपालको तर्फबाट ठोस प्रस्ताव गएको छैन । ‘कति खोप चाहिने हो, कहिलेसम्म चाहिने हो र नेपालको बजेट के हो भन्ने विषयमा चीनले चासो राखिरहेको छ, तर यताका विभिन्न निकायबीच समन्वय नहुँदा जवाफ दिन सकिएको छैन,’ परराष्ट्रका अधिकारीको भनाइ छ । 

भारतमा किनेर नेपाललाई खोप दिने बेलायतको तयारी, रुसी खोपमा प्रगति भएन

नेपालले सबैभन्दा पहिला कूटनीतिक सम्बन्ध स्थापित गरेको बेलायतले पनि नेपाललाई खोप सहयोग गर्ने वचनबद्धता दिएको छ । ‘बेलायतले भारतसँग समन्वय गरेर खोप अनुदानमा दिने अनौपचारिक जानकारी दिएको छ, तर औपचारिक रूपमा स्पष्ट पारेको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने । 

नेपालले खरिद गर्ने वचनबद्धता जनाएमा सानो संख्यामा स्पुतनिक खोप दिने जानकारी रुसले पनि दिएको सरकारी स्रोतको भनाइ छ । तर, विश्व स्वास्थ्य संगठनले स्पुतनिक खोपलाई मान्यता नदिएका कारण रुसी खोप लिने विषयमा नेपाल स्पष्ट भइसकेको छैन । तर, रुसी कूटनीतिज्ञहरू भने स्पुतनिक किन्ने विषयमा नेपाललाई सहमत गराउने प्रयासमा छन् । 

अमेरिका, फ्रान्स, जर्मनीले भने खोपबारे छलफल गर्न तयार रहेको जवाफ दिएका छन्, अनुदानमा दिने–नदिने केही भनेका छैनन् । खासमा युरोपमा महामारीको दोस्रो लहर आएकाले ती देश अहिले खोप बेच्ने होइन, खरिद गर्ने प्रतिस्पर्धामा छन् । 

......

प्रधानमन्त्री नै अलमलमा : तीन दिनमै फेरियो बोली

१४ माघ (बालुवाटार) : तीन महिनामा सम्पूर्ण नेपालीलाई खोप

कोही पनि नेपाल नागरिक वा नेपालमा बसोबास गरेका व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्नेछन् । चाहे हामी अनुदानका रूपमा प्राप्त गरौँ, जस्तो यसपल्ट प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस् । करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्छौँ । मेरो विचारमा तीन महिना लाग्न सक्छ भन्ने लाग्छ । 

१७ माघ (चितवन)  : सम्पूर्ण नेपालीलाई खोप लगाउन एक वर्ष लाग्छ

अहिले नेपालमा खोप लगाउने क्रम अगाडि बढिरहेको छ । मैले भनेको छु, एकदमै फोरफ्रन्टमा रहेर, कठिनाइ झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र हामी सम्पन्न गर्नेछौँ । बाँकी जनतालाई क्रमशः सन् २०२१ भित्र खोप लगाइसकेर कोभिड–१९ लाई हामी नेपालबाट भगाउनेछौँ । बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीले विश्वास लिएका छौँ । 

......

हालसम्म नौ करोडले लगाए कोभिड– १९ विरुद्ध खोप

हालसम्म विश्वभर नौ करोड आठ लाखजनाले कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिष्ठित सञ्चार संस्था ब्लुमबर्गले संकलन गरेको तथ्यांकअनुसार हालसम्म ६२ देशमा खोप लगाउने काम सुरु भएको छ । पछिल्लो तथ्यांकअनुसार दैनिक औसत ४३ लाख ९० हजार डोज खोप विश्वभर लगाइन्छ । अर्बौँ जनतालाई लगाउनुपर्ने कोरोनाविरुद्धको खोप अभियान विश्व इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हुनेछ ।

अमेरिकामा १४ डिसेम्बरमा खोप लगाउन सुरु गरिएकोमा हालसम्म दुई करोड ८९ लाख डोज खोप लगाइसकिएको जनाइएको छ । अमेरिकाले हरेक दिन १३ लाख डोज खोप लगाउने गर्छ । त्यस्तै, चीनमा दुई करोड ३० लाख डोज खोप लगाइसकिएको छ । चीनमा दैनिक ११ लाख ४३ हजार डोज खोप लगाउने गरिन्छ । युरोपेली संघका मुलुकमा एक करोड १६ लाख डोज खोप लगाइएको ब्लुमबर्गले जनाएको छ । भारतमा हालसम्म २९ लाख २८ हजार डोज खोप लगाइएको छ । 

हालसम्म फाइजर–बायोएनटेक खोपले उत्तर अमेरिका, युरोप तथा मध्यपूर्वमा प्रयोगको अनुमति पाइसकेको छ । यो र मोडर्ना खोप ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष दशौँ हजार स्वयंसेवीमा गरिएको परीक्षणबाट पत्ता लागेको थियो । पिएलसी र अक्सफोर्ड विश्वविद्यालयले बनाएको एस्ट्राजेनेका खोपले बेलायतमा ३० डिसेम्बरमा प्रयोगको अनुमति पाएको थियो । चीन, भारत र रसियाले पनि आ–आफ्नो मुलुकमा उत्पादित खोपलाई प्रयोगको अनुमति दिइसकेका छन् । 
हालसम्म इजरायलले सबैभन्दा तीव्र गतिमा खोप लगाइरहेको छ । उसले एक सयमा ५१ जनालाई खोप लगाइसकेको छ । तर, विश्वका धेरैजसो मुलुकले हालसम्म पनि खोप सुरु गरेका छैनन् ।

शनिबारसम्म ६४ हजारले लगाए खोप 

पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार नागरिकलाई खोप लगाउने सरकारको योजना थियो । तर, खोप १० लाख मात्रै आएकाले चार लाख ३० हजार नागरिकलाई लगाइनेछ । 

शनिबारसम्म देशभर ६४ हजार चार सय २२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्लाका एक सय ४३ खोपकेन्द्रबाट खोप वितरण भइरहेको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार पाँच सय ४७, प्रदेश २ मा दुई हजार एक सय १०, बागमतीमा पाँच हजार चार सय दुई, गण्डकीमा एक हजार आठ सय ८७, लुम्बिनीमा दुई हजार ६३, कर्णालीमा नौ सय ५५ र सुदूरपश्चिम प्रदेशमा नौ सय ३० जनाले खोप लगाएका छन् । आम रूपमा कुनै पनि स्वास्थ्य समस्या नभएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । ‘केहीलाई सामान्य सिकायत छ । तर, अस्पताल जानुपर्ने गरी समस्या कसैलाई पनि देखिएको छैन,’ उनले भने । 

नेपालमै कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि बुधबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । नेपालमा एक वर्षअघि अर्थात् १४ माघ ०७६ बाटै कोरोना भाइरसको परीक्षण सुरु गरिएको थियो । 

अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो । 

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाइने तय भएको थियो । तर, अनुदानमा १० लाख डोज खोप आएकाले पहिलो चरणमा चार लाख ३० हजारलाई मात्र लगाउने तयारी छ । बाँकी खरिद गरी पूरा गरेपछि मात्रै दोस्रो चरणको अभियान सुरु हुने बताइएको छ । 

दोस्रो चरणमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनामा खोप लगाउने योजना छ । त्यसैगरी तेस्रो चरणका लागि ४० देखि ५४ वर्षका बाँकी सबै ९.५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना छन् । तेस्रो चरणमै १५ देखि ३९ वर्ष उमेर समूहका सबै ४२.०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाइनेछ ।