शोविता सिम्खडा, अभिनेत्री/उपन्यासकार
२०७५ माघ २९ मंगलबार ०९:१८:००

अध्यात्ममा हिरोइन 

झन्डै डेढ दशकदेखि मोडलिङ तथा फिल्म अभिनयको यात्रामा रहेकी शोविता सिम्खडाले पछिल्लोपटक आफूलाई उपन्यासकारका रूपमा समेत उभ्याएकी छिन् । दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे तापनि उनको अभिनयकलाले भने उति साह्रो उचाइ लिन सकेन । अहिले उनले सामाजिक कथावस्तुलाई मनोवैज्ञानिक पाइन लगाएर ‘बराङ्गना’ नामक उपन्यास पाठकमाझ ल्याएकी छिन् । 

उनले अभिनय गरेका फिल्ममध्ये ‘द लास्ट किस’ले उनलाई विवादमा तान्यो । फिल्ममा उनले दिएको ‘किस सिन’ विवादको चुरो थियो । यतिवेला भने उनी फिल्मभन्दा लेखनकेन्द्रित भएरै प्रस्तुत हुन चाहन्छिन् । अचेल उनी कलाकारभन्दा लेखिकाका रूपमा बढी प्रस्तुत हुने कोसिस गर्छिन् । पछिल्लो समय निमन्त्रकहरूले पनि उनलाई लेखिकाका रूपमा निम्तो गर्ने गरेका छन् रे । उनै शोवितासँग नयाँ पत्रिकाका लागि शिवराज योगीले गरेको संवाद :

 दशकभन्दा लामो अभिनय यात्रालाई छोडेर लेखनमा किन लाग्नुभयो ? 
मैले कलायात्रा छोडी नै हालेँ त म भन्दिनँ । तर, लेखनतिर लाग्नुको कारण क्षणभरको उपज होइन । सानैदेखि हरेक कुरामा गहिरो गरी डुब्ने बानीकी छु, म । देखेका हरेक कुरा महसुस हुने गरी हेर्थें । भेटेका प्रत्येक मान्छेलाई म गहिरोसँग बुझ्ने प्रयत्न गर्थें । स्कुल वेलादेखि नै म खुब पढ्थेँ । किताबका पात्रहरूसँग म आफैँ बगिदिन्थेँ । उनीहरूसँगै चुर्लुम्म भएर डुब्थेँ र म पनि त्यही पात्रजस्तै बनिसकेकी हुन्थेँ । धेरैपटक त म झल्याँस्स भएकी छु ।  सानैदेखि घरायसी वातावरणका कारणले पनि होला मैले ओशो साहित्य धेरै पढेँ । अनि उहिल्यैदेखि यस्तै किताब लेख्छु भन्ने जिजीविषा मेरो मनमा थियो । त्यसैले होला बाटोमा कोही मान्छे भेटियो र केही नयाँ, अनौठो कुरा सुनायो भने म त्यसलाई डायरीमा टिपेर राख्थेँ । यतिवेला सायद उपयुक्त समय आयो र मैले ‘बराङ्गना’ जन्माएँ । 

 फिल्म खेल्न र किताब लेख्न कुन सजिलो रहेछ ?
फिल्ममा पनि सकस थियो । आफूलाई क्यारेक्टरमा नढाल्दासम्म त्यहाँ पनि उत्तम कला देखाउन सकिँदैन । फिल्म चल्दा पनि नचल्दा पनि, काम पाउँदा पनि नपाउँदा पनि तनाव हुन्थ्यो । फिल्ममा कथा, निर्देशक, क्यामेरा आदिको अनुकूल चल्नुपथ्र्यो । अन्तिममा दर्शकको अदालतमा उभिनुपथ्र्यो । तर, त्यो सामूहिक कार्य भएकाले जस–अपजसको भागिदार एक्लै बन्नुपर्दैनथ्यो । सिंगो ‘युनिट’को अंश लाग्थ्यो । 

तर, किताब लेख्नु त्यस्तो रहेनछ । यो नितान्त व्यक्तिगत संघर्ष र सकसको विषय हो । यसको उपज पनि आफैँ, यसको जस र अपजसको भागिदार पनि आफैँ बनिन्छ । सकस पनि आफैँ बेहोरिन्छ, मिठा प्रतिक्रिया पनि आफैँले मात्र पाइन्छ । सन्तुष्टिको चरम आनन्द पनि एक्लै उठाइन्छ । 

 बराङ्गना लेख्दा तयारी कतिको गर्नुभयो ?
भन्न त साहित्य काल्पनिकता हो भनिन्छ । तर, साहित्यमा समाज अटाएन, जीवन लेखिएन वा परिवेश समेटिएन भने त्यो फुंग उडेको अनुहारजस्तै बन्छ, अर्थात् हल्का कथाले कसैलाई आकर्षित गर्दैन । त्यही नहोस् भनेर मैले यो किताब लेख्न निकै सकस उठाएँ । धेरै धैर्य गरेँ । म जुनकिरी (बराङ्नाको प्रमुख पात्र) खोज्दै निकै भौतारिएँ । जुनकिरी भेटेपछि उसको आनीबानी, बोली, व्यवहार, स्वभाव, सोख, सोच र शैली टिप्न उसलाई निकै पछ्याएर हिँडेँ । जुनुकिरीलाई लेख्न आफैँ जुनकिरी बनेँ । त्यही समुदायमा घुलमिल हुन गएँ । जुनकिरीकी आमा खोजेँ, बाबा खोजेँ । बोली, व्यवहार, परम्परा टिपेँ । समुदायसँग धेरै कुरा गरेँ । आफूले खाने र नखाने कुराको पनि जानकारी बटुलेँ, अनि मात्रै लेख्न बसेँ । 

 लेख्दा रमाइलो भयो कि असहज ? 
कथा बग्दै जाँदा निकै रमाइलो भयो, जब कथा मोडिन्थ्यो, पात्र र परिवेश फेरिन्थ्यो, केही असहज भइदिन्थ्यो । कहिलेकाहीँ त डेढ, दुई महिनासम्म लेख्न छोडेर बरालिएँ । थालेको तीन वर्षमा मात्रै यो कृति आएको हो । र पनि लेखिसक्दाको आनन्दानुभूति शब्दमा भन्न जानिन्न । 

अभिनेत्री शोविता र लेखिका शोवितालाई हेर्ने समाजको आँखा कस्तो पाउनुभयो ?
यो गज्जब हुँदोरैछ । हिरोइनलाई सोधिने प्रश्न र लेखकलाई सोधिने प्रश्न नै फरक पाएँ । फिल्म र किताब दुवैले उठाउने विषय समाजकै हो । तर, किताब निकै भारी हुँदोरहेछ । ओजिलो बनिदिँदो रहेछ । फिल्ममा हिरोइनका रूपमा प्रश्न आउँदा रूप, यौवन, चाहना, ग्ल्यामर र रमाइलोका लागि प्रश्न आउँथे । दर्शकले भेट्न खोज्दा पनि ‘किन भेट्नु र ? म सेलेब्रिटी, फिल्ममा देखिइहाल्छु नि’ भन्ने लाग्यो । तर, अहिले लेखकका रूपमा सोधिने प्रश्न रूप, यौवन होइन, समाजको निकट भएर सोधिन्छ । बौद्धिकताको जगमा बसेर गरिन्छ । पाठक पनि त्यस्तै हुन्छन् । लेखनका विषय र रचनागर्भबारे जिज्ञासा आउँछन् । व्यक्तिगत प्रश्न हुँदै हुँदैन । लेखक भएदेखि आवरणको प्रश्न कम भएको छ । मन, मस्तिष्क र सामाजिक रूपमा हेरिन्छ, सोधिन्छ । म पनि पाठकका प्रतिक्रिया लिन आतुर हुन्छु । यसो भनौँ, हिरोइनलाई बाहिरी रूपमा वर्णन गरिन्थ्यो, लेखकलाई भित्री रूपमा हेरिँदोरहेछ । 

सानैदेखि घरायसी वातावरणका कारणले पनि होला मैले ओशो साहित्य धेरै पढेँ । अनि उहिल्यैदेखि यस्तै किताब लेख्छु भन्ने जिजीविषा मेरो मनमा थियो । त्यसैले होला बाटोमा केही नयाँ, अनौठो कुरा सुनियो भने म त्यसलाई डायरीमा टिपेर राख्थेँ । 

 लेखकका रूपमा प्रस्तुत भएपछि के पाएँजस्तो लाग्छ ? 
मेरो स्वभाव नै गतिलो विषयमा गफिन मन लाग्ने खालको हो । हिरोइन हुँदा आवरणमाथि प्रश्न गरिन्थ्यो । आवरण हेरिन्थ्यो । तर, आज क्षमता, कला, मस्तिष्क र समाजको विषयमा प्रश्न हुन्छ, हेरिन्छ । आज मेरो परिधि फराकिलो भएको जस्तो महसुस गरेकी छु । मेरो हिजोको दुनियासँगै आज फरक दुनियाँसम्म म फैलिन पाएकी छुजस्तो लाग्छ । 

 फिल्म क्षेत्र र लेखनमध्ये कसले बढी आत्मसन्तुष्टि दिएको ठान्नुुहुन्छ ? 
म फिल्म क्षेत्र कमजोर वा खराब थियो भन्न सक्दिनँ । जहाँ मेरो १२ वटा वसन्त गुज्रिएको छ । त्यहाँ कलाको सम्मान हुन्थ्यो । ग्ल्यामर दुनियाँ भएकाले हिरोइनका लागि रूपको कुरा अगाडि आउँथ्यो, तर क्षमता त त्यहाँ पनि चाहिन्छ । तर, फरक वर्ग, दुनियाँ र समाजसँग घुलमिल गराउने बौद्धिकताको खाँचो, कल्पनाशीलता र शिल्पीको महत्व भएको क्षेत्र लेखन रहेछ । जुन मेरो सानैदेखिको चाहना थियो । यो चाहनालाई अझ परिपक्व, फराकिलो बनाउने चुनौती पनि अब अगाडि छ भन्ने लागेको छ । 

 लेख्नका लागि आवश्यक तत्व के रहेछ जस्तो लाग्छ ?
पहिलो कुरा त समाजलाई बुझ्नुपर्‍यो । पात्रलाई मिहिन तरिकाले केलाउनुपर्‍यो, चिन्नुपर्‍यो । पात्र, परिवेश र परिस्थितिलाई बयान गर्न सक्ने कल्पानशीलता अनि शब्दशिल्प चाहियो नै । सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हुनैपर्दो रहेछ। 

 फरक समुदायमा जन्मिएर, फरक समुदायको पीडा बयान गर्दा अन्याय होला भन्ने लागेन ?
लाग्यो । त्यसैले त मैले दलित समुदाय, गरिब बस्तीको गहन अध्ययनमा पनि समय दिएँ । सकसको कुरा पनि भनिसकेँ । अहिले न्याय नै गरेको प्रतिक्रिया पाइरहेकी छु । 

 तपाईं आफूले समाजलाई कति बुझेजस्तो लाग्छ ? 
धेरै बाँकी छ, बराङ्गनामा जति बुझेर लेखेँ, त्यो मेरो पहिलो सन्तान हो । अब बुझ्दै लेख्दै जानुपर्छ । बराङ्गना लेख्दा पनि पाठकबाट प्रश्नहरू आउलान् भन्ने चिन्ता गर्दै लेखेकी थिएँ । 

 लेखेर बाँच्न सकिन्छ जस्तो लाग्छ ?
व्यावसायिक लेखक बन्छु भनेर लेखेकै होइन । लेख्न मन लाग्यो, लेखेँ । प्रकाशन गरेँ । पाठकसम्म पु¥याएँ । बाँचिने भएरै त धेरै जना लेखक भएरै रहनुभएको होला नि ।

तपाईं अध्यात्ममा पनि झुकाव राख्नुहुन्छ, कसरी जाग्यो अध्यात्मप्रति आशक्ति ?
म आश्रममै हुर्किएकी हुँ । आमा, बुबाले ध्यानकर्म गराउने गर्नुहुन्थ्यो । म त्यही माहोलमा हुर्र्किएँ । त्यो जति आनन्दको संसार मैले अन्त कतै देखेकी छैन । र, त्यतै आकर्षित भएँ । 

 विवाहित हुनुहुन्छ, अध्यात्म र गृहस्थी कसरी सम्भव छ ?
अध्यात्मका लागि सन्न्यासी नै बन्नुपर्छ भन्ने छैन । अध्यात्मले यही समाजमा बस, यहीँ संघर्ष गर, तर यहीँबाट आनन्दको तहमा पुग र बुद्धत्व प्राप्त गर भन्छ । ध्यान, योग, साधनाले त्यो सम्भव छ । साधनाले आफूलाई बुझ्ने कला सिकाउँछ । म को हुँ भन्ने चिनाउँछ । अहंकार, लोभ, मोह र आरिस कम गर्छ, अनि त बाँच्नुको मजैमजा !

तस्बिर : नयाँ पत्रिका