मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १७ शनिबार १७:१९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १७ शनिबार १७:१९:००

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय टोली एपिएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि पक्का गरेको हो । 

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको यो दोस्रो उपाधि हो । पहिलो संस्करणको फाइनल खेल वर्षाले पूरा हुन नपाउँदा नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको आर्मीले यसपटक भने एकल रूपमा उपाधि जित्यो । आर्मी प्रधानमन्त्री कपको लगातार चौथो संस्करण फाइनल खेल्ने एक्लो टोली पनि हो । 

आर्मी दोस्रो संस्करणको फाइनलमा एपिएफ र तेस्रो संस्करणको फाइनलमा नेपाल पुलिससँग पराजित भएको थियो । उपाधिसँगै आर्मीले दश लाख रुपैयाँ प्राप्त गरेको छ । एपिएफले पाँच लाखमै चित्त बुझाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ११ रनको योगफल तय गरेको हो । जवाफी ब्याटिङमा आएको आर्मी ४१.३ ओभरमा एक सय ७८ रनमै रोकिन पुग्यो । 

आर्मीलाई विजयी बनाउन ब्याटिङतर्फ हरि चौहानले सर्वाधिक ५८ रनको योगदान दिए । उसले आफ्नो इनिङमा ६ चौका प्रहार गरे । यस्तै, राजेश पुलामीले २८ र लोकेश बमले १५ रनको योगदान दिए । लोकेशले नौ बलमा दुई छक्का प्रहार गरे । साहब आलम २५ रनमा अविजित रहे । १४ बल खेलेका उनले एक छक्का र दुई चौका प्रहार गरे । ओपनिङ ब्याट्सम्यानका रूपमा मैदानमा आएका सुशन भारीसहित रोहित पौडेलले समान १३ रनको योगदान दिए । अनिल मण्डल र विक्रम सोबले पनि समान ११ रन जोडे । 

बलिङतर्फ जितेन्द्र मुखिया, विक्रम सोब, साहब आलमले तीन–तीन विकेट लिए । साहबले आफ्नो पछिल्लो चार बलमा तीन विकेट लिँदै टोलीको जित निश्चित गरेका हुन् । 

एपिएफका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखले ६१ रनको योगदान दिए पनि जित सम्भव भएन । उनलाई अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । उनीबोक सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवास खकुरेलले १४ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

एपिएफका अभिनाश बोहोरा एक्लैले चार विकेट लिएका थिए । उनीबाहेक किशोर महतोले दुई विकेट लिए । कमलसिंह ऐरी, भुवन कार्की र कप्तान शरद भेषावकरको नाममा एक–एक विकेट रह्यो ।