Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०८:३८:००
Read Time : > 1 मिनेट
सप्तरंग

क्यानभासमा सुमनको आत्मकथा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०८:३८:००

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा कलाकार एससी सुमनको ‘सङ्स अफ इनोसेन्स एन्ड एक्सपेरिएन्स’ पेन्टिङ प्रदर्शनी

एससी सुमन ४० वर्षअघि पहिलोपटक आमासँग काठमाडौं आएका थिए । त्यतिवेलै हो पशुपति पुगेको । त्यो पशुपति र अहिलेको पशुपतिमा धेरै फरक आइसकेको छ । यो फरकपन देखाउन उनले दुईवटा छुट्टाछुट्टै क्यानभास बनाएका छन् । उनले भने, ‘पेन्टिङका माध्यमबाट मैले मेरो अटोबायोग्राफी भनेको छु ।’ 

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा कलाकार एससी सुमनको ‘सङ्स अफ इनोसेन्स एन्ड एक्सपेरिएन्स’ पेन्टिङ प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा सुमनका ३० पेन्टिङ छन् । मिथिला चित्रकलाका माध्यमबाट उनले आफ्ना अनुभूति क्यानभासमा उतारेका छन् । 

बाराको निजगढमा विमानस्थल बनाउन रुख काटिँदै छ । त्यसले जनावरहरूलाई प्रभावित गर्नेछ, ‘इको सिस्टम’ प्रभावित हुनेछ । प्रकृतिलाई मानिसले आफ्नो अनुकूल बनाउन कोसिस गरिरहँदा विनाश निम्तिन सक्ने कुरालाई उनले मिथिला चित्रकलाका माध्यमबाट देखाउन खोजेका छन् । सुमनले भने, ‘प्रकृतिको जीवनको लय आफ्नै छ, त्यसलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, मास्नु होइन ।’ 

मैथिली कवि विद्यापतिको मूल शब्दहरू पहिलेका नेवारी कलात्मक झ्याल, मन्दिरहरूमा देख्न पाइन्छ । पुराना दरबारहरूमा मिथिला लिपि देख्न पाइन्छ । एससी सुमनले त्यसलाई पनि समेटेका छन् । मिथिला भाषा, संस्कृति र नेवारी समुयदायबीचको पुरानो सम्बन्धलाई क्यानभासमा उतारेका छन् । भन्छन्, ‘हाम्रो सम्बन्ध पुरानो हो, त्यसलाई देखाउन कोसिस गरेको हुँ ।’ सिंगो देश नै एउटा फ्रेम भएको कारण जहाँ पनि कुची चलाउन छुट भएको उनले बताए । 

उनले गुह्येश्वरीलाई पनि क्यानभासमा अटाएका छन् । पहिले देखेको कीर्तिपुर र अहिले देखेको कीर्तिपुर पनि दुई पेन्टिङमा देखाउन खोजेका छन् । पहिलेको कीर्तिपुरको पेन्टिङमा रुखैरुख छन् भने अहिलेको पेन्टिङमा घरैघर । सहरमा जसरी पनि घर बनाउँछु भन्ने तीव्र इच्छाका कारण प्रकृति तहसनहस भइरहेकोप्रति उनका पेन्टिङले आपत्ति जनाएका छन् । त्यो विषयमा राज्य गम्भीर हुनुपर्ने उनको मत छ । 

उनी मिथिला आर्टका विशेषज्ञ नै हुन् । आफू मिथिला पेन्टिङकै कारणले यहाँसम्म आइपुगेको उनले बताए । भर्खरै उनले ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको चार वर्षे कार्यकाल पूरा गरे । कुनै पनि कलालाई व्यवसायीकरण आवश्यक देख्छन् । तर, व्यवसायीकरण बढी भयो भने मूल मर्म मर्ने उनको मत छ । उनी भन्छन्, ‘ठमेलमा जति राखिएका छन्, त्यसले मिथिला कलाको मर्म मारेको छ ।’ मिथिला चित्रकला पनि साधनाको एउटा पाटो भएको बताउँछन्, उनी । 

उनले पेन्टिङमा काठमाडौंकै पारिजात फूल, गोबर, बेसारलाई पनि प्रयोग गरेका छन् । ९ माघबाट सुरु भएको प्रदर्शनी ८ फागुनसम्म चल्नेछ । यो उनको १६औँ एकल प्रदर्शनी हो ।