१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७५ माघ २९ मंगलबार ०८:३८:००
Read Time : > 2 मिनेट
अर्थ

६०% बाली लक्ष्यभन्दा कम उत्पादन

धान, मकै र तरकारी लक्ष्यभन्दा बढी उत्पादन तर अर्बौंको आयात

Read Time : > 2 मिनेट
२०७५ माघ २९ मंगलबार ०८:३८:००

-६० प्रतिशतभन्दा बढी बालीको उत्पादन लक्ष्यको तुलनामा कम
-गहुँ : २० लाख ७४ टन लक्ष्य, १९ लाख ४९ हजार टन उत्पादन
-आलु : ३१ लाख टन लक्ष्य, ३० लाख ८८ हजार उत्पादन
- फलफूल : १३ लाख ३९ हजार टन लक्ष्य, १० लाख टन उत्पादन

सरकारले तोकेको लक्ष्यअनुसार करिब ४० प्रतिशत कृषि वस्तु मात्रै उत्पादन हुने गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १४औँ योजनाका लागि आर्थिक वर्ष ०७४/०७५ मा पेस गरेको वार्षिक लक्ष्यअनुसार ६० प्रतिशतभन्दा बढी बालीको उत्पादन नभएको तथ्यांकले देखाएको छ ।

मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार गहुँका लागि गत आवमा २० लाख ७४ हजार मेट्रिकटन उत्पादनको लक्ष्य राखिएको थियो । तर, १९ लाख ४९ हजार मेट्रिकटन मात्र उत्पादन भएको छ । जसकारण ७२ करोड रुपैयाँभन्दा बढीको गहुँ आयात भएको छ । आलुको लक्ष्य ३१ लाख मेट्रिकटन तोकिएकोमा ३० लाख ८८ हजार टन मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ । लक्ष्यभन्दा १२ हजार मेट्रिकटन कम उत्पादन भएको छ । आलु लगाउने क्षेत्रफल घट्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आलुमा मुलुक ५० प्रतिशत मात्र आत्मनिर्भर छ । 

फलफूलको उत्पादनमा १३ लाख ३९ हजार मेट्रिकटन लक्ष्य राखेकामा १० लाख १० हजार टन मात्र उत्पादन भएको छ । व्यवसायीका अनुसार करिब ७५ प्रतिशत बजार माग स्वदेशी उत्पादनले धान्न थालेको छ । भन्सार विभागका अनुसार चालू आवको पाँच महिनामा ५ अर्ब ७१ करोडको फलफूल आयात भइसकेको छ । दलको उत्पादन ४ लाख १० हजार मेट्रिकटन लक्ष्य राखिए पनि ३ लाख ६९ हजार मेट्रिकटन मात्र उत्पादन भइरहेको छ । उत्पादनमा गिरावट आउँदा गत वर्ष गेडागुडी र दाल मात्र ४५ अर्बको आयात भएको थियो ।

माछा, मासुमा परनिर्भर
सरकारले चार वर्षअघि दूध, मासु र अण्डामा आत्मनिर्भर हुने योजना बनाएर कार्यक्रम लागू गरेको थियो । तर, उत्पादन सोचेअनुसार नहुँदा आयात चुलिँदै गएको छ । गत आवमा ३ लाख ७९ हजार मेट्रिकटन मासु उत्पादनको लक्ष्य राखिए पनि ३ लाख ४७ हजार मात्र उत्पादन भएको थियो । मागअनुसार उत्पादन नभएपछि चालू आवको पाँच महिनामा २ अर्ब ६५ करोड रुपैयाँको मासु तथा जीवित जनावर आयात भएको छ ।

दूध उत्पादनमा समेत लक्ष्य भेट्टाउन सकिएको छैन । गत आवमा २२ लाख ९६ हजार टन उत्पादनको लक्ष्य राखिए पनि २ लाख ११ हजार टन अपुग हुने गरी २० लाख ८५ हजार टन मात्र उत्पादन भएको छ । जसकारण गत आवमा करिब २ अर्ब र चालू आवको पाँच महिनामा ४४ करोडको दूध तथा दुग्धजन्य पदार्थ आयात भइसकेको छ । माछा उत्पादन पनि निराशाजनक छ । ९५ हजार टन उत्पादनको लक्ष्य राखेकोमा ९०.१३ हजार टन मात्र उत्पादन भएको छ ।

धान, मकै र तरकारी लक्ष्यभन्दा बढी उत्पादन तर अर्बौंको आयात

कृषि विकास मन्त्रालयले धान उत्पादनका लागि ५१ लाख ९८ हजार मेट्रिकटन लक्ष्य राखेको थियो । तर, योभन्दा बढी ५६ लाख १० हजार मेट्रिकटन उत्पादन भएको छ । यद्यपि उत्पादित धानले नपुगेर चालू आवको पाँच महिनामा १३ अर्ब २२ करोड रुपैयाँको चामल आयात भएको छ । त्यस्तै मकैका लागि २५ लाख २० हजार मेट्रिकटन उत्पादनको लक्ष्य तोकिएको थियो । तोकिएभन्दा १ लाख २४ हजार मेट्रिकटन बढी अर्थात् २६ लाख ४४ हजार टन उत्पादन भएको छ । स्वदेशी उत्पादनले नपुगेर गत आवमा १२ अर्ब ५४ करोडको मकै आयात भएको थियो ।

तरकारी उत्पादन पनि लक्ष्यभन्दा ३ लाख टन बढी छ । अर्थात् ३८ लाख टन लक्ष्य राखेकोमा ४१ लाख टन फलेको छ । तर, हाम्रो लक्ष्य मागको तुलनामा अत्यन्तै कम हुँदा आयात बढिरहेको छ । चालू आवको ५ महिनामा मात्र ६ अर्ब ९८ करोड रुपैयाँको तरकारी आयात भइसकेको छ । तेलहनको लक्ष्यभन्दा २५ हजार टन बढी फलेको छ । २ लाख २१ हजार टन लक्ष्य राखेकोमा २ लाख ४६ हजार तेलहन बाली फलेको छ । तर, स्वदेशी उत्पादनले नपुगेर गत आवमा खाने तेल २६ अर्ब ९३ करोडको आयात भएको छ । अन्डामा भने मुलुक लामो समयदेखि आत्मनिर्भर उन्मुख छ ।

आयातको सूचीमा कृषि वस्तु पहिलो
मुलुक कृषिप्रधान देश भए पनि परनिर्भरता बढ्दै गएको छ । यसको पुष्टि कृषिजन्य वस्तुको डरलाग्दो आयातले गर्छ । गत आर्थिक वर्ष ०७४/७५ मा कुल १ खर्ब ९७ अर्ब रुपैयाँको कृषि वस्तु आयात भएको थियो । सो अवधिमा २३ अर्ब रुपैयाँको कृषि वस्तु निर्यात भएको थियो । चालू आर्थिक वर्ष ०७५/७६ को ५ महिनामा मात्रै ८८ अर्ब ३ करोड ९१ लाख ४१ हजार रुपैयाँको कृषि वस्तु आयात भएको छ । जुन कुल आयातको १४.५२ प्रतिशत हिस्सा हो । यो ५ महिनामा ६ खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा कृषिजन्य वस्तु नै पहिलो स्थानमा छ । कृषि वस्तुपछि पेट्रोलियम पदार्थको हिस्सा १४.५० प्रतिशत रहेको छ । पाँच महिनाको अवधिमा नेपालबाट १० अर्ब ९७ करोड रुपैयाँको कृषि वस्तु निर्यात भएको छ । जुन २९ प्रतिशत हिस्सा हो । यो अवधिमा ३७ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ ।