मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १६ शुक्रबार ०९:५७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ घर पाउने आसमा भएको घर भत्काएका डोम समुदाय शीतलहरको मारमा

Read Time : > 3 मिनेट
२०७७ माघ १६ शुक्रबार ०९:५७:००

वन राज्यमन्त्रीले शिलान्यास गरेको घर निर्माण उनकै निर्देशनमा रोकियो

सिराहाको नरहा गाउँपालिका– ३ नयाँ चोहर्वाकी लिलम मल्लिक (६०) राति निदाउन नसकेको तीन साता भयो । निद्रा लागोस् पनि कसरी ? न आँङमा न्यानो लुगा, न बाक्ला सिरक–डस्ना, न त चिसो छल्ने पक्की घर । बाँसका टाटी बेरिएका झुप्रोमा दिनरात बिताउनुपरेपछि उनकोे बिचल्ली भएको छ । 

लिलम मात्र होइन, उनकी तीन महिनाकी सुत्केरी बुहारी र स–साना नाति–नातिनीको हाल पनि उस्तै छ । तीन सातादेखि चलेको शीतलहरले तराई–मधेस कठ्यांग्रिएको छ । लिलम, उनको परिवार र अन्य थुप्रै डोम समुदाय त्यसको प्रत्यक्ष मारमा परेको छ । पक्की घर बनाइदिने भनेर प्रदेश सरकारले भएको झुप्रो भत्काउन लगाएपछि उनीहरू बाँसको टाटी बेरेर बस्न बाध्य भएका हुन् । 

प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पक्की गाह्रो र टिनको छानासहित घर बनाइदिने कार्यक्रम ल्याएको थियो । १४ पुसमा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री सुरेश मण्डलले शिलान्यास नै गरेका थिए । तर, घर निर्माणको काम वन मन्त्रालयले नै रोकिदियो ।

पक्की घर पाउने आशामा उनीहरूले वर्षौँदेखि बस्दै आएको झुप्रो भत्काइसकेका थिए । शिलान्याससमेत गरिएको घर निर्माण रोकिएपछि चोहर्वाका चार घरधुरी डोम बिचल्लीमा परेका छन् । ‘बस्ने झुप्रो भत्काएपछि टाउको लुकाउने ठाउँसमेत छैन, चिसोमा स–साना नाति–नातिनी, तीन महिनाकी सुत्केरी बुहारीलाई जोगाउन मुस्किल परेको छ,’ लिलम भन्छिन्, ‘चिसोमा भुइँमा पराल ओछ्याएर बुहारी, नाति–नातिनी एकै ठाउँमा सुत्ने गरेका छौँ ।’ 

उनका पति करिब ६५ वर्षीय बिल्टु मल्लिक प्रदेश सरकारले बिचल्ली बनाएको बताउँछन् । उनी भन्छन्, ‘ऐलानी जग्गामा बसेको तीन पुस्ता बित्दै छ, कहिले नम्बरी, कहिले वनको भन्दै दुःख झेल्न बाध्य छौँ ।’ घर नहुँदा छोराहरू सञ्जय, भगलु, भाइ बेचु र उनका छोराहरू मनोज, मञ्जय, तिनका परिवार बाँकी रहेको एक–एकवटा झुप्रोमा सुत्न बाध्य रहेको उनले बताए । 

निर्माण थालनी नहुँदै रोक्का 
पक्की घर बनाउन भनी गत १४ पुसमा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री सुरेश मण्डल, नरहा– ३ का वडाध्यक्ष अनिसुल मियाँ, स्थानीय अगुवाको उपस्थितिमा शिलान्यास गरिएको थियो । तर, घर निर्माण थालनी नहुँदै रोकियो । अहिले डोमहरू घरको न घाटको भएका छन् । पछिल्लो पाँच वर्षको अवधिमा भूमाफियाको सेटिङमा तीनपटकसम्म घर तोडफोड गरिएको गुनासो गर्छन्, बिल्टु । ‘दुईपल्ट किर्ते गरेर जग्गा हत्याएका व्यक्तिले मेरो जग्गा हो भन्दै डोजर चलाए,’ उनले भने, ‘अहिले बन्न लागेको घर वनको हो भन्दै रोक्का गरे, कहाँ जाऊँं लालाबाला लिएर ?’ 

उनका अनुसार वर्षौँदेखि बस्दै आएको जग्गा मेरो हो भन्दै स्थानीय भरतराज शर्माले डोजर लगाएर दुईपल्ट घर भत्काइदिएका थिए । ‘यसपल्ट त मन्त्रीले नै शिलान्यास गरेको घर बन्ला भन्ने आसमा झुपडी भत्कायौँ,’ उनले भने, ‘तर, शिलान्यास गरिएको जग्गा सामुदायिक वनको हो भन्दै रोक्का गरिदिए ।’ उनका भतिज मञ्जय मल्लिकका अनुसार शिलान्यासलगत्तै ठेकेदारले चार हजार सग्लो इँटा, चार–चार ट्र्याक्टर टुक्रा इँटा र बालुवा तथा एक ट्र्याक्टर गिट्टी ल्याएका थिए । ७ माघमा आफूहरूले घर भत्काएर खाली गरेको ठाउँमा थुपारेको सग्लो इँटा पुनः ठेकेदारले ट्र्याक्टरमा लोड गरेर फिर्ता लगेको उनले बताए । 

घर बनेन, उल्टै बोकियो ऋणको भारी
घर बनाएपछि प्रदेश सरकारले पैसा दिने भनेपछि निर्माणको काम सुरु भयो । निर्माण मजदुरसहित उधारोमा इँटा, रड, सिमेन्ट ल्याएर डिपिसीसम्मको काम भएको थियो । तर, एकाएक वन मन्त्रालयले हात झिकेपछि गरिबका घरमा ऋणको भारी थपिएको छ । निर्माण समितिका संयोजकसमेत रहेका स्थानीय ३९ वर्षीय प्रमोद मल्लिक निर्माण मजदुरसहित उधारोमा इँटा, रड, सिमेन्ट ल्याएर डिपिसीसम्म गरेको कामको करिब पौने पाँच लाख ऋणको ताकेता हुन थालेको बताए । ‘उधारोमा ल्याएको इँटा, सिमेन्ट, छड, गिट्टी, बालुवा, पाँचजना डकर्मी, १० जना मजदुरले काम गरेकोसहित करिब चार लाख ६१ हजार ६ सय रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘मजदुरको पारिश्रमिकसहित सबै उधारो छ, न घर बन्यो, न रकम निकासा भएको छ ।’ 

नगरपालिकाको २१ कात्तिकको पत्रअनुसार सुखीपुर– २ नम्बर वडास्थित ६ जनाको ठूलोपोखरीको उत्तरी डिलको जनता आवासको निर्माण कार्य रोक्का गरिदिन कार्यालयले पत्राचार गरेपछि गत असोजको अन्तिम सातादेखि थालिएको निर्माण कार्य रोकिएको छ । ‘वडा कार्यालयले बसोवासको सिफारिस दिएसँगै स्थानीय गाउँलेको सहयोगमा घर निर्माण थालिएपछि पुनः वडाकै पत्रको आधारमा रोकिँदा बिचल्ली भएको छ,’ मल्लिकले गुनासो गरे ।

चिसोले बिरामी हुने बढे 

सिराहाको सुखीपुर नगरपालिका– २ छजना गाउँको डोम बस्तीको पश्चिमपट्टि उठ्दा टाउकोसमेत ठोक्किने थोत्रा कपडा र बाँसको कप्टेरोले बारेको टहरा छन् । ती टहराले चिसो थेग्न नसकेपछि ४३ वर्षीय रामलोभित मल्लिक चिसोले थलिएका छन् । ‘गाउँको सरकारले बिचल्ली नै बनायो,’ उनले भने, ‘२ माघको बिहान अकस्मात् सास फेर्न गाह्रो भएपछि हिँडडुलसमेत गर्न नसक्ने भएको छु ।’ तीन छोराछोरी, पत्नी ललिता र आफूसहित पाँचजनाको परिवार बस्ने घर नहुँदा चिसोमा कष्ट झेलिरहेको मल्लिकको गुनासो छ । 

‘शीतलहर सुरु हुनुअगाडि नै झुप्रो घर भत्कायौँ, अहिलेको ठिहीमा ओत लाग्ने ठाउँसमेत नहुँदा कठ्यांग्रिएरै मर्छु कि जस्तो लाग्न थालेको छ,’ बस्तीका ४९ वर्षीय बलेश्वर मल्लिकले भने, ‘नगरपालिकाले न नयाँ घर बनाउन दियो, न अर्को विकल्प दियो ।’ छोराछोरी नहुँदै पत्नी गुमाएका बलेश्वरकी ६६ वर्षीया आमा दहनी मल्लिक उसैगरी कठ्यांग्रिएर बसेकी छिन् । ‘जसोतसो बनाएको बाँसको सामान चिसोका कारण बेच्न जान सक्दिनँ, आफू र आमाको पेट पाल्न पनि धौ–धौ छ,’ उनले भने । 

डोम बस्तीका बलेश्वर, रामलोभित, विनोदजस्ता १३ घरधुरी डोम पोखरी सौन्दर्यकरणको नाममा बन्न थालेको घर निर्माण रोकिएपछि अप्ठ्यारोमा परेको स्थानीय रामसरोवर यादव बताउँछन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन कार्यालय राजविराजले २३ कात्तिकमा नगरपालिकालाई निर्माण समितिअन्तर्गत रहेको १३ घरको निर्माण राक्का गर्न पत्राचार गरेको थियो । त्यसपछि उनीहरूको बिचल्ली भयो ।

राज्यमन्त्री भन्छन्– विकल्प खोज्दै छौँ 

जनता आवास कार्यक्रमअन्तर्गत डोम समुदायका लागि बनाइने घरको १४ पुसमा शिलान्यास गर्दै प्रदेश सरकारका वन राज्यमन्त्री सुरेश मण्डल । फाइल तस्बिर

आफैँले शिलान्यास गरेको घर निर्माण रोकिएपछि राज्यमन्त्री मण्डल नाजवाफ भएका छन् । आफैँले शिलान्यास गरेपछि कसरी पुनः आफ्नै निर्देशनमा रोक्का गर्नुभयो भन्ने नयाँ पत्रिकाको प्रश्नमा राज्यमन्त्री मण्डलले भने, ‘डोमहरूको घर रहेको वडाका वडाध्यक्षलाई ऐलानी जग्गाको खोजी गरेपछि शिलान्यास गरौँ भनेको थिएँ, जग्गा खोजियो भनेपछि शिलान्यास गरेँ, तर वनका कर्मचारीले जग्गा वन क्षेत्रमा पर्ने रिपोर्टिङ गरेपछि मेरै निर्देशनमा निर्माण रोक्का गर्न भनेको हुँ ।’ सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी अहिले रोक्का गरिएको वन क्षेत्रको ठाउँबाहेक अन्य ठाउँमा घर निर्माण गर्ने गरी विकल्प खोजिरहेको उनले दाबी गरे । 

नरहा– ३ का वडाध्यक्ष अनिसुल मियाँले वनले रोक्का गरेपछि आफूले सिराहा नापी कार्यालयमा जग्गाको नक्साका लागि निवेदन दिएको बताए । ‘डोम बस्तीको जग्गाको नक्सा, स्रेस्ता ल्याएर फिल्डमा हेरेपछि उपयुक्त ठाउँ पहिचान गरी घर निर्माण गर्न सिफारिस गर्छु,’ उनले भने ।