१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०८:१९:००
Read Time : < 1 मिनेट
अर्थ

नेपालमा लगानी गर्न ढकालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०८:१९:००

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले दक्षिण एसियाली मुलुकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँदिल्लीमा सुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानीका लागि आह्वान गरेका हुन् ।

सभापति ढकालले नेपालमा लगानीका लागि अनुकूल वातावरण बनेको बताए । ‘नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थिर सरकार बनेको छ र संघीय, स्थानीय तथा प्रादेशिक तीनै तहको निर्वाचन सम्पन्न भई सरकारसमेत गठन भई क्रियाशील रहेका छन्,’ उनले भने, ‘अनुकूल व्यावसायिक वातावरण बनेका कारण नेपालका कृषि, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतका क्षेत्रमा लगानीका लागि आउनुहोस् ।’

नेपाल सरकारले आगामी महिना लगानी सम्मेलन गर्न लागेको जानकारी गराउँदै सभापति ढकालले सो सम्मेलनमा सहभागी भई नेपालमा लगानीको सम्भावनाका बारेमा अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्तालाई आमन्त्रणसमेत गरे । ‘वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेको छ,’ उनले भने, ‘त्यसैले सार्क क्षेत्रका लगानीकर्ताले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रहरूमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिनुपर्छ ।’सभापति ढकालले सार्क देशहरूमा आर्थिक, सामाजिक, सांस्कृतिकका साथै लगानीका क्षेत्रहरूमा पनि साझा खालका अवसर र चुनौती रहेको भन्दै यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताए ।