मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ज्ञानमित्र अच्युतानन्द
२०७७ माघ १५ बिहीबार ०८:०८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खोप अभियान सफल बनाऔँ

Read Time : > 3 मिनेट
ज्ञानमित्र अच्युतानन्द
२०७७ माघ १५ बिहीबार ०८:०८:००

नेपाल सरकारले घोषित गरेको लक्षित वर्गले खोप अभियानमा उत्साह र सक्रियताका साथ भाग लिनुपर्छ 

सन् २०२० को पूर्वाद्र्धबाट सुरु भएको कोरोना महाव्याधिको त्रासदी चरममा पुगेको बखत बेलायतको आक्सफोर्ड युनिभर्सिटी र उसको भगिनी संस्थान जेनर इन्स्टिच्युटको कोरोनाविरुद्धको खोप बनाउने उद्घोषले विश्वलाई कालो बादलमा चाँदीको घेरा देखायो । भाइरोलोजी र नयाँ भ्याक्सिन विकसित गर्ने सवालमा यो संस्थान लामो अनुभव हासिल गरेको, योग्य र दक्ष थियो । अक्सफोर्डका प्रोफेसर सराह गिल्बर्ट र उनको समूह खोप विकास गर्न जुटेसँगै विश्वका कैयन् देशका उन्नत मस्तिष्क यस पुनीत कार्यमा अग्रसर बने । छिटोभन्दा छिटो भ्याक्सिन बनाएर विश्वलाई कोरोनाको त्रासदीबाट मुक्त बनाउने अभियानमा होम्मिए ।

अक्सफोर्ड छोटो समयमै खोप बनाउन सफल भयो । अक्सफोर्ड आफूले विकसित गरेको खोपप्रति यति विश्वस्त थियो कि परीक्षणको लामो प्रक्रियाबाट गुज्रनुको सट्टा मानवमा नै परीक्षण गर्न अग्रसर भयो । कुनै पनि नयाँ भ्याक्सिनको क्लिनिकल ट्रायल पहिला अन्य प्राणीमा गरिन्छ, जसको विस्तृत रिपोर्ट आउन महिनौँको समय लाग्छ । अक्सफोर्डको खोप परीक्षणका लागि सहज अग्रसरता देखाइन्, बेलायती युवती ग्रानाटाले । उनले अक्सफोर्डले बनाएको खोपको पहिलो खुराक लिइन् । 

पहिलो क्लिनिकल परीक्षणको सफलतापश्चात् अक्सफोर्ड–जेनर इन्स्टिच्युट निर्मित तथा ऐस्ट्रेजेनेका उत्पादित खोपको दोस्रो र तेस्रो चरणका परीक्षण विश्वका अनेकौँ भू–भागमा चलाइए । भारतको पुणेस्थित विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टिच्युटले अक्सफोर्डको खोप भारतमा उत्पादन गर्न सम्झौता गर्‍यो । यहीबीच, ऐस्ट्रेजेनेकाको युरोपस्थित प्लान्ट र भारतको पुणेस्थित सिरमको प्लान्टमा बनेका भ्याक्सिनको तेस्रो चरणसम्मका परीक्षण सम्पन्न भए । तेस्रो चरणको सर्वाधिक ट्रायल गर्ने खोप पनि ऐस्ट्रेजेनेका नै हो । चौथो चरणको व्यापक ट्रायलअन्तर्गत लाखौँ मानिसलाई भ्याक्सिन दिएर भ्याक्सिनको प्रभावकारिता, यसका साइड इफेक्ट आदिका बृहत् रिपोर्ट आएपछि मात्रै विश्व स्वास्थ्य संगठनले मान्य वा अमान्य गर्ने निधो हुन सक्थ्यो । यसमा अझै चार–पाँच महिनाकै प्रतीक्षा हुन सक्थ्यो ।

तर, कोरोनाको पुरानै भेरिएन्टका साथै बेलायतमा देखा परेको नयाँ भेरिएन्टले बेलायतलाई दुस्साहसी निर्णय गर्न बाध्य तुल्यायो । बेलायतले सर्वप्रथम फाइजर कम्पनीले बनाएको एमआरएनए भ्याक्सिनलाई आपात्कालीन प्रयोगको अनुमति दियो । बेलायतको अनुसरण गर्दै विश्वका अधिकांश राष्ट्रले विभिन्न खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिँदै मुलुकभित्र भ्याक्सिनेसनको श्रीगणेश गरे । कोरोना भाइरसविरुद्ध बनेका भ्याक्सिन एक प्रकारले कोरोना भाइरस नै हुन् । खोपमा प्रयोगशालामा तयार कोरोना भाइरसको डुप्लिकेट प्रयोग गरिन्छ । परम्परागत प्रविधिले बनाइएका भ्याक्सिन, जसलाई भाइरल वेक्टर प्रविधि भनिन्छ, त्यसमा रुघाखोकी लगाउने अन्य भाइरसलाई (अक्सफोर्डले एडिनो भाइरसको प्रयोग गरेको थियो) कमजोर बनाई उपयोग गरिएको छ । 

यहाँनिर सबैले बुझ्न आवश्यक छ– भ्याक्सिन लिएको व्यक्तिलाई कोरोना संक्रमण हुँदैन भन्ने होइन । भ्याक्सिन नलिएका मानिससरह नै उसलाई पनि संक्रमण हुने चान्स उत्ति नै रहेको हुन्छ । तर, उसको इम्युन सिस्टमसँग यस किसिमको शत्रुसँग लड्ने र युद्ध खातिर चाहिने हतियारको पूर्वसंज्ञान हुन्छ । त्यसैले ऊ सुरक्षित हुन्छ । यी खोप प्रयुक्त रसायनहरूले सामान्य किसिमका दुष्प्रभाव र साइड इफेक्ट गर्नु स्वाभाविक हो । ०.००००१ प्रतिशत मानिसमा यो खतरा प्राणघातकसम्म पनि हुन सक्छ । खासगरी, अति वृद्ध र स–साना केटाकेटीको हकमा । त्यसैले १६ वर्षमुनिका बालबालिकालाई भ्याक्सिनको परिधिमा राखिएको छैन । विश्वभरिबाट भ्याक्सिन सम्बन्धमा आएका नकारात्मक खबरको प्रतिशत ०.० कै हाराहारीमा छन् । 

यसबाट यो तथ्यलाई आत्मसात् गर्न सहजता हुन्छ– एकपटक कोरोना संक्रमण भइसकेको व्यक्तिलाई अहिले नै खोप लिन आवश्यक छैन । एक हिसाबले संक्रमणबाट निको भएका व्यक्ति भ्याक्सिन लिएका व्यक्तिसरह नै हुन् । यस्ता व्यक्तिले खोप लिनुअघि रगतमा एन्टिबडी परीक्षण गरेर मात्रै लिने निर्णय गर्नु राम्रो । रगतमा एन्टिबडी छ भने उसले खोप लिइरहनु आवश्यक हुन्न ।

विज्ञानले पहिलोपटक परम्परागत भ्याक्सिनभन्दा पृथक प्रविधिले भ्याक्सिन बनाउन सफलता पाएको छ । वैज्ञानिकले कोरोना भाइरसको जेनेटिक मेटेरियलबाट नै एमआरएनए भ्याक्सिन बनाउन सफलता पाएका छन् । यसमा पुरानो प्रविधिझैँ कुनै कमजोर भाइरसको प्रयोग हुँदैन । बहुचर्चित फाइजर भ्याक्सिन आरएनए भाइरस हो । खासमा आरएनए अर्गेनिक कम्पाउन्डअन्तर्गतको एसिड हो । यही एसिड, पानी, कार्बन, कार्बाेहाइड्रेडबाट पृथ्वीमा जीवनको चक्र प्रारम्भ भएको थियो । यसर्थ, पृथ्वीको पहिलो लाइफ डोमिन पनि भाइरस हो । 

दुवै पद्धतिले बनेका भ्याक्सिनले ट्रायलको तीन चरणमा पाएको सफलताले आपत्कालीन प्रयोगको अनुमति पाएका हुन् । अहिले संसारभर भइरहेको भ्याक्सिनेसनलाई चौथो चरणको ट्रायल भन्नुपर्छ । समग्रमा खोपका परिणाम सकारात्मक आएका छन् । नेपालले अनुमति दिएको ऐस्ट्रेजेनेका र अक्सफोर्डको भारतनिर्मित भ्याक्सिन कोभिसिल्डको परिणाम पनि सकारात्मक नै आइरहेको छ । नेपालले छिटोभन्दा छिटो अन्य भ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिएर भ्याक्सिनेसन अभियानलाई थप गति दिनु अपरिहार्य छ । नेपाल सरकारले पहिलोपटक भ्याक्सिनको आपत्कालीन अनुमति दिँदा एउटा गज्जबको निर्णय पनि गरेको थियो । सरकारले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउने–वितरण गर्ने अधिकार दिएको थियो । यस निर्णयको स्वागत गर्नैपर्छ । भोलि निजी क्षेत्रले भ्याक्सिन ल्याएर सरकारलाई र साथै नेपालीलाई सहयोग नै पुग्छ । सामथ्र्यवान् नेपालीले लाइनमा बसेर आफ्नो पालो पर्खिराख्नु पर्दैन । तिर्न सक्नेले प्राइभेट हस्पिटलमा गएर खोप लाउन सक्छन् ।

नेपाल सरकारसँग नयाँ प्रविधिले बनेको आरएनए भ्याक्सिनलाई भण्डारण, वितरण गर्ने क्षमता छैन । कारण यस भ्याक्सिनलाई राख्न माइनस ७० डिग्री सेन्टिग्रेडको तापमान आवश्यक हुन्छ, जसको नेपाल सरकारसँग सर्वथा अभाव छ । तर, सरकारसँग यो खोपलाई प्रिजर्भ गर्ने क्षमता छैन भन्दैमा नेपालीलाई नयाँ प्रविधिको उपयोग गर्नबाट वञ्चित गर्न मिल्दैन । नयाँ प्रविधिको फाइजर र मोडेर्नाको भ्याक्सिनको प्रभावकारिता सबैभन्दा बढी छ । नयाँ प्रविधिका उत्पादन भएका कारण यी दुवैको मूल्य पनि चर्काे नै छ । फाइजरको घोषित मूल्य २५ डलर र मोडेर्नाको मूल्य ३३ डलर हाराहारी छ । कुनै नेपालीले यही भ्याक्सिन लाउने मनसाय व्यक्त गर्छ भने उसलाई सरकारी निर्णय वा अनिर्णयको छेकबार हुनुहुँदैन । सरकारले नयाँ प्रविधिले बनेका भ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगको अनुमति अविलम्ब दिनुपर्छ । 

सरकारले अनिवार्य नगरेसम्म सबैले भ्याक्सिन लाउने बाध्यता छैन र अहिले नै भ्याक्सिनको अनुपलब्धताले गर्दा कुनै पनि देशको सरकारले यसलाई बाध्यकारी बनाउन सक्दैन । अहिलेलाई भ्याक्सिन लिने वा नलिने तपाईंको व्यक्तिगत स्वतन्त्रता हो । तर, कसैलाई खोप लिनबाट हतोत्साहित बनाउनु हुँदैन वा यस सम्बन्धमा नकारात्मक भावना व्यक्त गर्नु अपराध हुन्छ । नेपाल सरकारले घोषित गरेको लक्षित वर्गले खोप अभियानमा उत्साह र सक्रियताका साथ भाग लिनुपर्छ । म स्वयं सरकारले तोकेको प्राथमिक वर्गमा पर्दिनँ, तर नेपाल सरकारले मलाई खोप लिने अवसर दिन्छ भने म त्यसका लागि सहर्ष तयार हुुनुपर्छ ।