मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कोभिड–१९ परीक्षणको केन्द्रीय प्रयोगशाला रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोला
२०७७ माघ १५ बिहीबार ०६:०८:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिड–१९ विरुद्धको खोप अभियान सुरु : पहिलो दिन ९,०८४ जनाले लगाए खोप

बुधबार करिब ५ प्रतिशत खोप खेर गए

Read Time : > 4 मिनेट
२०७७ माघ १५ बिहीबार ०६:०८:००

नेपालमै कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि बुधबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो दिनमै ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएका छन् । नेपालमा एक वर्षअघि अर्थात् १४ माघ ०७६ बाटै कोरोना भाइरसको परीक्षण सुरु गरिएको थियो । 

बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट अभियानको उद्घाटन गरेका थिए । देशैभरिका खोप केन्द्र रहेका अस्पतालहरूमा अस्पतालका प्रमुख चिकित्सकहरूले खोप लगाएपछि खोप अभियान सुरु भएको हो । 

पहिलो दिनको खोप कार्यक्रममा देशभर उत्साहजनक सहभागिता भएको र खोपकै कारण कसैलाई पनि असामान्य स्वास्थ्य असर नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सरकारले भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप लगाउन सुरु गरेको हो । 

बुधबार प्रदेश १ का एक हजार दुई सय ५५, प्रदेश २ का सात सय २६, बागमतीका दुई हजार ६ सय ९४, गण्डकीका एक हजार आठ सय ४३, लुम्बिनीका सात सय ३३, कर्णालीका सात सय ५१ र सुदूरपश्चिम प्रदेशका एक हजार ८२ जनाले कोभिड– १९ विरुद्धको खोप लगाएका छन् । 

अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो । 

कोभिड–१९ परीक्षणको केन्द्रीय प्रयोगशाला रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाएका थिए । त्यसपछि डा. अनुप बाँस्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीले खोप लगाएका थिए । काठमाडौं उपत्यकामा १२ वटा अस्पतालमा खोप केन्द्र रहेका छन् । 

‘पहिलो खोप मैले लगाएँ, त्यो मेरा लागि गौरवकै कुरा हो, तर त्यो मुख्य कुरा होइन,’ खोप लिएपछि डा. राजभण्डारीले नयाँ पत्रिकासँग भने, ‘अहिले स्वास्थ्यकर्मी स्वयं र सर्वसाधारणमा खोप लगाए त्यसले असर पो गर्छ कि भन्ने भ्रम छ । धेरैलाई लगाऊँ कि नलगाऊँ भन्ने मनमा डर छ । यत्तिका दिन लगाइएन अब किन लगाउने भन्ने पनि हुन सक्छ, तर म आफैँले लगाइसकेपछि ढुक्कका साथ सन्देश दिन चाहन्छु, यो अहिलेसम्म उपलब्ध भएकामध्ये सबैभन्दा सुरक्षित खोप हो । ढुक्क भएर खोप लगाउनुस् ।’ 

उनले खोप लगाएपछि कतिपयलाई सामान्य टाउको दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने, एलर्जी हुनेजस्ता सामान्य समस्या देखिन सक्ने बताए । ‘मैले बिहानै खोप लगाएँ, अहिलेसम्म केही लक्षण छैन । कसैलाई सामान्य लक्षण छ भने त्यो पनि सामान्य कुरा हो । त्यो त अरू भ्याक्सिन लगाउँदा पनि भइरहेकै हुन्छ, त्यसैले यो भ्याक्सिन लगाउन डराउनुपर्दैन,’ डा. राजभण्डारीले भने । 

भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेपछि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । डा. राजभण्डारीका अनुसार यो आकस्मिक प्रयोगका लागि मात्रै हो । यो भ्याक्सिन भारतमा मात्रै होइन, अन्य धेरै देशमा पनि आकस्मिक प्रयोगमा रहेको छ । ‘यो बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको परीक्षणको थर्ड फेज पार गरिसकेको भ्याक्सिन हो । फेरि यही कम्पनीले विश्वका ६० भन्दा बढी देशमा भ्याक्सिन सप्लाई गरिरहेको छ, त्यसैले पनि सुरक्षित छ,’ उनले भने । 

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको थियो । तर, सरकारसँग अहिले भारतबाट अनुदानमा पाएको एक लाख भायल खोप मात्रै छ । त्यसैले अहिले करिब साढे चार लाखले मात्रै खोप पाउने सुनिश्चित छ । एक भायलमा १० डोज खोप हुन्छ । भायल खोलिसकेपछि ६ घन्टाभित्र खोप प्रयोग नगरे त्यो खेर जान्छ । बुधबार करिब पाँच प्रतिशत खोप खेर गएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । ‘खेर जाने खोपको मात्रा कम गर्ने प्रयास गरिरहेका छौँ, एक भायलमा दश डोज हुन्छ, दशजना अगाडि उभिएपछि मात्रै भाइल खोल्ने व्यवस्था गर्न भनेका छौँ,’ उनले भने ।

अभियानअन्तर्गत बुधबारदेखि दश दिनभित्र करिब साढे चार लाखलाई पहिलो डोज खोप प्रदान गरिनेछ । पहिलो खोप लिएको एक महिनापछि तिनैलाई दोस्रो डोज खोप दिइनेछ । ‘बुधबारदेखि दश दिनभित्र देशैभरि करिब तीन सय खोपकेन्द्रबाट साढे चार लाखले खोप प्राप्त गर्छन्, त्यसपछि १४ फागुनबाट फेरि तिनैलाई अर्को डोज दिइन्छ,’ प्रवक्ता डा. गौतमले भने, ‘बाँकीले कहिले खोप पाउँछन् भन्ने अहिले निश्चित छैन । खोपको खरिद प्रक्रिया अघि बढेको छैन । त्यसैले त्यो कुरा खोपको उपलब्धतामा भर पर्छ ।’ 

खोप प्राप्तकर्ताको संख्याका आधारमा एउटै खोपकेन्द्रमा दशवटासम्म बुथ राखेर खोप लगाउने व्यवस्था गरिएको छ । एउटा बुथबाट एक दिनमा करिब सयजनालाई खोप लगाउने अनुमान रहेको प्रवक्ता गौतमले बताए । 

अभियानको शुभारम्भपछि प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा खोप कार्यक्रमको स्थलगत अनुमगनसमेत गरे । उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल र प्रसूतिगृह अस्पतालमा रहेका खोपकेन्द्रमा प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित उच्चपदस्थ अधिकारीले अनुगमन गरेका छन् । यस्तै, मन्त्री त्रिपाठीसहित मन्त्रालयका उच्चपदस्थ व्यक्ति वीर अस्पताल, सिभिल अस्पताल, टेकु अस्पताल र सशस्त्र प्रहरी अस्पतालका केन्द्रहरूमा समेत पुगेका छन् । 

मन्त्रालयले छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण र खोपकेन्द्रको व्यवस्थापन गरी अभियानको सुरुवात गर्न सफल भएको जनाएको छ । प्रवक्ता डा. गौतमले सबैको सक्रिय सहभागिता र तोकिएको समयभित्र पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न आग्रह गरेका छन् । 

पहिलो चरणमा अहिले खोप लगाएर बाँकी रहेका अर्थात् खोप लिने जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजारमध्ये अहिले खोप लगाएर बाँकी रहेकालाई त्यसबीचमा खोप खरिद गरेर ल्याएर वा अनुदानमै उपलब्ध भएपछि लगाएर मात्रै अर्को चरण थाल्ने तयारी गरेको छ । दोस्रो चरणमा १७ प्रतिशत नागरिकलाई खोप दिने सरकारी योजना छ । जसमा ५५ वर्षमाथिका र ४० देखि ५५ वर्ष उमेर समूहका दीर्घरोगी र विदेशबाट फर्किएर आएका दीर्घरोगी समेटिनेछन् ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा दुई लाख ७० हजार तीन सय ७५ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये दुई हजार २० जनाको ज्यान गएको छ भने दुई लाख ६५ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । हाल संक्रमितको संख्या तीन हजार दुई सय ८६ रहेको छ । बुधबार दुई सय ८३ जना नयाँ संक्रमित थपिएका छन् भने तीनजनाको मृत्यु भएको छ ।

सबै नेपालीलाई तीन महिनाभित्र खोप : प्रधानमन्त्री
तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न असम्भव : स्वास्थ्य मन्त्रालय

प्रधानमन्त्री केपी ओलीले सरकारले सबै नेपालीलाई कोभिड– १९ विरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने बताएका छन् । बालुवाटारबाटै खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले अनुदानमा पाए पनि वा खरिद गरेर ल्याए पनि सबै नागरिकले कोभिड– १९ विरुद्धको खोप नि:शुल्क पाउने बताए । 

‘प्राथमिकताका आधारमा आमनागरिकलाई सरकारले निःशुल्क रूपमा खोप उपलब्ध गराउँछ,’ उनले भने । उनले कुनै पनि गरिब देश वा गरिब मानिस खोपबाट वञ्चित हुनु नहुने र खोपमा सबैको पहुँच हुनुपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको खोप ल्याउनका निम्ति अन्य मित्रराष्ट्र र संघसंस्था तथा छिमेकी राष्ट्र भारतसँग पनि थप खोप खरिदका लागि संवाद भइरहेको जानकारी दिए । उनले खोप नाफा कमाउने वा व्यापारको माध्यम बन्न नहुने पनि बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबैले खोप कहिलेसम्म पाउँछन् भन्ने यकिन गर्न नसकिने बताए । उनले तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न सम्भव नहुने स्पष्ट पारे । ‘तीन महिनामा सम्भव छैन । यो सबै खोपको उपलब्धतामा भर पर्छ ।

अहिले युरोपमै कति देशमा भ्याक्सिन नभएर खोप अभियान रोकिएको छ, खोप उपलब्ध भयो भने लगातार लगाउँदै जान सकिन्छ, सरकारले खरिदको योजना पनि बनाएको छ, तर उपलब्ध नै भएन भने कसरी गर्ने ?’ डा. गौतमले नयाँ पत्रिकासँग भने ।