कांग्रेस केन्द्रीय समिति बैठक : महाधिवेशन प्रतिनिधि स्वतः कि निर्वाचित भन्नेमा विवाद

२०७५ माघ २९ मंगलबार ०७:३४:००

कांग्रेस केन्द्रीय समितिको बैठकमा अरू महाधिवेशन प्रतिनिधिजस्तै केन्द्रीय सदस्य पनि निर्वाचित भएर आउने कि स्वतः हुने भन्नेमा विवाद देखिएको छ । संस्थापन पक्षका अधिकांश नेता केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउनुपर्छ भन्नेमा छन् भने पौडेल र सिटौला पक्षका नेताहरूले केन्द्रीय सदस्यलाई असीमित अधिकार दिन नहुनेमा लबिङ गरिरहेका छन् । 

सोमबारको बैठकमा शंकर भण्डारी, मीन विश्वकर्मा, चीनकाजी श्रेष्ठ, हरि नेपालले केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुन दिनुपर्ने तर्क गरे । तर, अर्जुननरसिंह केसी, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र दिलेन्द्रप्रसाद बडूले केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएर आउनुपर्नेमा माग गरे । 

रिजाल, पौडेल र केसीले पार्टीको संरचना नबनेका ठाउँमा संरचना बनाएर पार्टीलाई सक्रिय बनाउनुपर्ने, केन्द्रदेखि प्रदेश, स्थानीय तह वडासम्म प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउने गरी सांगठनिक संरचना बनाउने र पार्टीलाई परिचालन गर्नुपर्नेमा जोड दिए । 

प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा बिपी उद्यान बनाउने जग्गामा सहिद स्मृति पार्क बनाउन खोजिएको, विराटनगरबाट रंगेली जाने बाटोमा बिपीको सालिक राख्न नदिएको विषयमा भइरहेका अप्ठ्याराबारे धारणा राखेका थिए । 

कसले के भने ? 
अर्जुननरसिंह केसी 

केन्द्रीय सदस्यहरू बुथबाटै लड्नुपर्ने विषयमा सभपाति र नेताले नै महासमिति बैठक समापनमा बोल्नुभएको छ । केन्द्रीय नेता भइसकेका नेता गाउँ स्तरबाटै लडेर आउन डराउनु हुन्न । समानुपातिकमा कुनै पनि नेतालाई एकपटकभन्दा दुईचोटी लड्न दिनुहुुन्न । हामीले देशभर विरोधसभा ग¥यौं तर, एनसेलले ६ अर्बमा फोरजीको ल्याउँदा नेपाल टेलिकमले यही सेवा १८ अर्बमा सम्झौता गरेको, खासगरी वाइडबडीमा भ्रष्टाचार भएको, ३३ केजी सुन, मेलम्ची, बुढी गण्डकी, महंगी, मूल्यवृद्धि, दण्डहीनताको विषयलाई उठाउँदै आन्दोलन घोषणा गर्नुपर्छ । भ्रष्टाचार केन्द्रदेखि वडासम्म पुगेको छ । यसको विरुद्ध सशक्त प्रतिवाद गर्नुपर्छ । 

डा. मिनेन्द्र रिजाल 
केन्द्र, सात प्रदेशमा कांग्रेसको सरकार कतै छैन । धेरै स्थानीय तह र वडाहरूमा पनि कांग्रेसको प्रतिपक्षी भूमिका कसरी प्रभावकारी बनाउने भन्नेमा हाम्रो नेताहरू केन्द्रित हुनुभएको छैन । तर, हाम्रा नेताहरू सभापतिमा को लड्ने, कसले जित्ने भन्नेमा लाग्नुभएको छ । अहिले यो महत्वपूर्ण कुरा होइन । तपाईंहरू बुढो भइसक्नुभयो । अब यतातिर होइन । खाली भएका ठाउँमा कमिटी बनाउने र प्रतिपक्षीय भूमिका बलियो बनाउनतिर लागौं । त्यसपछि महाधिवेशनमा लाग्दा हुन्छ । 

केन्द्रीय सदस्य निर्वाचित भएर मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउँछन भन्नेबारेमा सभापति र नेताले प्रतिज्ञा नै जनाइसक्नुभएकोछ । महासमितिमा हुन्छ भनेपछि अब पछाडि फर्किन पाइन्न ।

प्रदीप पौडेल 
हाम्रा नेताहरू महासमिति बैठक सफल भयो भनेर गर्व गर्नुहुन्छ । तर, महासमितिले के निर्णय गर्यो भनेर प्रष्ट पार्न सक्नुहुन्न । नेताहरूले प्रष्ट नपारेकोले नै अहिले यो ‘डिबेट’ भएको छ । महसमितिले केन्द्रीय सदस्यलाई निर्वाचित भएर आउनुपर्ने, समानुपातिकमा नेता दोहो¥याउन नहुने विषय उठायो । सभापति र नेताद्वयले महासमितिको यो विषयलाई पूरा गर्ने आश्वासन दिएपछि मात्रै प्रस्तावहरू पारित भएका हुन् । साथै, केही नेताहरू यो कुरा थोरै मान्छेले उठाएको भन्नुहुन्छ । तर, केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्छ  भनेर एकजनाले पनि नउठाउँदा निर्वाचित भएर आउनुपर्ने विषय उठाउने हामी नै धेरै छौं । महासमितिले पारित गरिसकेको यो विषयलाई उल्टाउने अधिकार केन्द्रीय समितिलाई छैन । 

मीन विश्वकर्मा 
धेरै संस्थामा केन्द्रीय नेतालाई महाधिवेशनमा स्वतः भाग लिन पाउँने व्यवस्था हुन्छ । एनजिओमा पनि यस्तै हुन्छ । पार्टीकै जिल्ला तहमा पनि यस्तो सुविधा हुन्छ भने केन्द्रका नेताले यस्तो सुविधा नलिने भन्ने हुँदैन । आरक्षण दोहो¥याउन हुँदैन भन्ने सामन्ती कुरा हुन् । 

शंकर भण्डारी 
केन्द्रीय सदस्य तलबाटै निर्वाचित भएपछि मात्रै महाधिवेशन प्रतिनिधि हुनुपर्छ भन्ने विषय षडयन्त्रमूलक ढंगबाट आएको विषय हो । यस्तो प्रावधान राखिए यसले पार्टीलाई कमजोर बनाउँछ । पार्टीमा अनुशासनहीनता र भद्रगोल हुन्छ । 

दिलेन्द्रप्रसाद बडु 
केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन निर्वाचित हुने र स्वतः हुने भन्नेलाई ठूलो विषय नबनाउँ । एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि हुँदा केन्द्रीय सदस्य निर्वाचित भएर आउन सक्छन् । केन्द्रीय सदस्य भइसकेकाले यसलाई ठूलो विषय बनाउनु हुँदैन ।  

नविन्द्रराज जोशी
महासमितिको वैठकमा सदस्यहरूले व्यक्त गरेका भावनाहरूलाई समेट्दै केन्द्रीय सदस्य पनि क्षेत्रीय प्रतिनिधिका रुपमा रही महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्नु पर्छ । समावेशी आधारमा एक तहमा एक पटक मात्र अवसर प्राप्त गर्न पाउने व्यवस्था कायम गरी नेतृत्व विकासका लागि नयाँलाई अवसर दिनुपर्छ । जोशीले पार्टीको भावी रणनीति, अभियान, प्रतिपक्षीय भूमिकालाई प्रभावकारी र व्यवस्थित भ्रातृ संस्था बनाउनुपर्ने भन्दै ११ बुँदे प्रस्ताव पेश गरेका थिए । 

हरि नेपाल

केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था हुनुपर्छ । 

नेविसंघमा तदर्थ समितिको बाटो खुल्यो
अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघमा तदर्थ समिति बनाउन बाटो खुलेको छ । २ माघसम्म १२ औं महाधिवेशन गर्न नसकेपछि अध्यक्ष महरले समयमा पार्टीले विधान नदिंदा महाधिवेशन गर्न नसकेको भन्दै सभापति शेरबहादुर देउवालाई सोमबार राजीनामा बुझाएका हुन् । नियमित दुई वर्ष र थप गरिएको पाँच महिनामा पनि महाधिवेशन गर्न नसकेकोले महरको म्याद सकिइसकेको थियो । तर, पनि उनले सभापतिलाई राजीनामा बुझाए । उनको राजीनामा सोमबार नै सभापतिबाट स्वीकृत भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

कांग्रेसमा पछिल्लो समय सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल महाधिवेशन गर्न महरलाई थप समय दिन नहुने मनस्थितिमा पुगेका थिए । तर, कृष्णप्रसाद सिटौला पक्ष भने महर नेतृत्वको समितिर्ला केही समय दिएर भए पनि महाधिवेशन गर्नुपर्ने पक्षमा थियो । 

नेविसंघको नेतृत्वमा को ?  
महरको राजीनामासँगै नेविसंघमा तदर्थ समिति बन्ने पक्का भएको छ । तर, अब कम्तिमा पनि ६ महिनाभित्र १२ औं महाधिवेशन गर्न सक्ने गरी नेतृत्व चयन गर्नुपर्ने दबाब पार्टी नेतृत्वलाई पुगेको छ । यस्तोमा ३२ वर्षे उमेरहद लगाएर नेतृत्व चयन गर्ने वा उमेरहद नलगाई गर्ने भन्नेमा जारी केन्द्रीय समिति बैठक टुंगोमा पुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘अब ६ महिनाभित्र महाधिवेशन गर्न सक्ने गरी जारी बैठकले पहिले अध्यक्षको टुंगो लगाउँछ’ महतले नयाँ पत्रिकासित भने, ‘यस्तो तदर्थ समिति अध्यक्षसहित केही पदाधिकारी, अध्यक्ष र केही केन्द्रीय सदस्यमात्रैको पनि बन्न सक्छ । यसको स्वरुपको टुंगो लागिसकेको छैन ।’

उमेरहद नलगाई तदर्थ समितिको तयारी
सहमहामन्त्री डा. महतले महाधिवेशन गर्नका लागि बनाइने तदर्थ समितिलाई ३२ वर्षे उमेरहद बाध्यकारी नभएको जानकारी दिए । ‘नेविसंघको विधानले १२ औं महधिवेशनदेखि ३२ वर्षे उमेरहद भनेको छ । तर, तदर्थ समितिले १२ औं महाधिवेशन गराउनका लागि बन्न लागेको हो’ महतले भने, ‘यसकारण तदर्थ समितिलाई उमेर लगाउँनैपर्छ वैधानिक बाध्यता छैन । यो निर्णय गर्नेको स्वविवेकमा भरपर्छ ।’ तर, महाधिवेशन गर्न सक्ने नेतृत्व चयन गरिने जानकारी उनले दिए । तर, ३२ वर्षमाथिको नेतृत्व ल्याए असन्तुष्ट पक्षले समानान्तर समिति नै बनाउने तयारी गरेका छन् । 

यी हुन् अध्यक्षका दाबेदार 
सभापति शेरबहादुर देउवा निकटका राजीव ढुुंगाना, ऋषिकेशजंग शाह, सरोज थापा, प्रकाश घिमिरे र प्रेम जोशी सभापतिका सबैभन्दा बलिया दाबेदार हुन् । ढुंगाना र शाह पूर्व उपाध्यक्ष हुन् । थापा महामन्त्री, घिमिरे र जोशी सहमहामन्त्री हुन् । घिमिरेलाई उपसभापति विमलेन्द्र निधि र बालकृष्ण खाणको साथ छ । सहमहामन्त्री डा. प्रकाशशरण महत जोशीको पक्षमा छन् । यी मध्ये घिमिरे र जोशीमात्रै ३२ वर्ष मुनिका हुन् । अम्बिका चलाउने पनि देउवा निकटबाट अध्यक्षकै दाबेदार हुन् । 

महामन्त्री डा. शशांक निकटबाट निलकण्ठ रिजाल, सागर परियार पनि दाबेदार छन् । रिजाल ३२ माथिका र परियार ३२ मुनिका हुन् । नेता रामचन्द्र पौडेल मनोजमणि आचार्यलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । 


नेविसंघ अध्यक्ष महरको राजीनामा तदर्थ समिति गठनको तयारी

नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले विधान नदिँदा तोकिएको समयभित्र महाधिवेशन गर्न नसकेको भन्दै उनले सोमबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । अब महाधिवेशन गर्न  तदर्थ समिति बनाइनेछ । दुई वर्षको कार्यकाल र थप गरिएको पाँच महिनामा पनि महाधिवेशन गर्न नसकेकाले महरको म्याद सकिइसकेको थियो । उनले दिएको राजीनामा सोमबार नै सभापतिबाट स्वीकृत भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पछिल्लो समय सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल महाधिवेशन गर्न महरलाई थप समय दिन नहुने मनस्थितिमा थिए । तर, कृष्णप्रसाद सिटौला पक्ष भने महर नेतृत्वको समितिलाई केही समय दिएर भए पनि महाधिवेशन गर्नुपर्ने पक्षमा थियो । 

प्रतिकृया दिनुहोस