मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी दिल्ली
२०७७ माघ १४ बुधबार ०२:२३:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

किसान आन्दोलनका क्रममा दिल्लीमा हिंसात्मक झडप

Read Time : > 1 मिनेट
एजेन्सी दिल्ली
२०७७ माघ १४ बुधबार ०२:२३:००

भारतमा दुई महिनादेखि शान्तिपूर्ण रूपमा चलिरहेको किसान आन्दोलनमा मंगलबार अचानक हिंसा भड्किएको छ । गणतन्त्र दिवसका अवसरमा किसानले राजधानी नयाँदिल्लीमा ट्रयाक्टर र्‍याली निकालेका थिए, जसमा घुसपैठ भएको र प्रहरीद्वारा अतिरिक्त बल प्रयोगसमेत भएकोले हिंसा भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

‘गणतन्त्र दिवसमा आजसम्म दिल्लीमा यस दिन सैन्य टुकडी, अत्याधुनिक हतियार, अलगअलग राज्यका झाँकी र लडाकु विमान मात्र देखिन्थे । तर, यसपटकको यी सारा तस्बिरका साथै हिंसा पनि देखियो,’ बिबिसी हिन्दीले लेखेको छ । सो अनलाइनका अनुसार झडपमा ८३ जना पुलिस र कैयौँको संख्यामा किसान घाइते भएका छन् ।

झडपमा परी राजधानी दिल्लीको मध्यभाग आइटिओमा एक किसानको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार प्रहरीले ट्र्याक्टर पल्टिएर किसानको मृत्यु भएको दाबी गरेको छ । तर, किसानले भने प्रहरीले चलाएको गोली लागेपछि अनियन्त्रित भएर ट्रयाक्टर पल्टिएपछि उनको मृत्यु भएको बताएका छन् । 

दिल्लीको सिमानामा आन्दोलनरत किसानले मंगलबार ट्रयाक्टर र्‍याली सुरु गर्नासाथ प्रहरीले बल प्रयोग गरेको थियो । किसान संगठनहरूले झडपको कारण आन्दोलनमा भएको घुसपैठ र प्रहरीको दमन रहेको बताएका छन् । उता दिल्ली पुलिसले पूर्वसहमतिविपरीत आन्दोलनकारीका गतिविधिले अवस्था तनावग्रस्त भएको आरोप लगाएको छ । 

झडपपछि मध्य र उत्तर दिल्लीका करिब १० मेट्रो स्टेसन बन्द गरिएका छन् भने कैयौँ स्थानमा इन्टरेनट सेवासमेत अवरुद्ध पारिएको छ ।

बिबिसी हिन्दीलाई प्रतिक्रिया दिँदै दिल्ली पुलिसका कमिस्नर एसएन श्रीवास्तवले पूर्वनिर्धारित कार्यक्रमविपरीत किसानले तय गरेको मार्चको रुटभन्दा फरक स्थानमा र तोकिएको समयभन्दा अगावै ट्रयाक्टर मार्च सुरु गरेका कारण झडप भएको बताएका छन् ।

किसानका ४१ संगठन मिलेर बनेको संयुक्त किसान मोर्चाले भने ‘असामाजिक तत्वको घुसपैठका कारण हिंसात्मक झडप भएको’ बताएको छ । ‘हाम्रो तमाम प्रयासका बाबजुद केही संगठन र व्यक्तिले पूर्वनिर्धारित योजनाविपरीत निन्दनीय कार्य गरे । जसले गर्दा अवस्था खलबलियो । त्यस्ता व्यक्ति र संगठनबाट हामी अलग भएको जानकारी गराउँदछौँ,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ । मोर्चाले ट्रयाक्टर र्‍यालीलाई स्थगित गर्दै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने बताएको छ । 

केन्द्र सरकारले जारी गरेका तीन कानुन खारेजीको माग गर्दै भारतका विभिन्न स्थानका किसान लामो समयदेखि आन्दोलनमा छन् । दुई महिनायता विभिन्न राज्यका किसान राजधानी दिल्लीको सिमानामा धर्नामा छन् । गत १४ अक्टोबरदेखि किसान र सरकारबीच ११ पटक वार्ता भइसकेको छ । तर, अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । 

किसानले सो कानुन विनासर्त खारेज हुनुपर्ने माग राखेका छन् । त्यसपछि १३ नोभेम्बर पुनः किसान र सरकारबीच भएको वार्ता पनि असफल भएपछि २६ नोभेम्बरदेखि किसानले ‘दिल्ली चलो’ आन्दोलन सुरु गरे । भारतको पन्जाब, हरियाणा, उत्तरप्रदेश, उत्तराखण्ड र राजस्थानका किसानले गत २६ नोभेम्बरदेखि दिल्लीका टिकरी, सिन्घु र गाजीपुर बोर्डरमा प्रदर्शन गरिरहेका छन् । दुई महिनादेखि आन्दोलनरत किसानले ८ डिसेम्बरमा भारत बन्द गरेका थिए । 

केन्द्र सरकारले ल्याएका तीनवटा कृषि कानुनले किसानप्रतिको राज्यको जिम्मेवारीबाट विमुख गराएको र खुला बजारमा प्रतिस्पर्धा गर्न नसक्ने किसालाई मार पर्ने भन्दै विरोध भइरहेको छ । १४ सेप्टेम्बरमा संसद्मा टेबल भएको कृषि कानुन संशोधन विधेयक २२ सेप्टेम्बरमा पारित गरिएको थियो । त्यसपछि २७ सेप्टेम्बरमा राष्ट्रपतिले यसलाई स्वीकृत गरेपछि यो कानुन बनेको थियो ।