मनरा सिस्वा नगरपालिका–८ की २० वर्षीया धनमतीदेवी महतोको दाहसंस्कार गर्न लागिएको शव नियन्त्रणमा लिई प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीले हत्याको आशंकामा धनमतीका श्रीमान् र जेठानीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।
आइतबार बिहान ९ बजे स्वाभाविक मृत्यु भएको भन्दै परिवारले दाहसंस्कारको तयारी गरेको थियो । तर, माइतीपक्षले छोरीको हत्या भएको भनी जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको हो । शवको घाँटीमा चोट तथा पाखुरामा नीलडाम देखिएको छ ।
प्रहरीसमक्ष प्रारम्भिक बयानमा धनमतीदेवीका पतिले पासो लगाएर आत्महत्या गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले घटना शंकास्पद देखिएकाले अनुसन्धान थालिएको बताए । मृतकका एक महिनाका छोरा छन् ।