१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १३ मंगलबार ११:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महिलालाई निःशुल्क लोकसेवा पढाउँदै गाउँपालिका

Read Time : > 1 मिनेट
२०७७ माघ १३ मंगलबार ११:३०:००

लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोवास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी (नायबसुबा) र राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) वा सोसरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी दवाडीले बताइन् । 

छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग संख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताइन् । 

उनले भनिन्, ‘कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिन सक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसेवक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।’

सुविधासम्पन्न प्रशासनिक भवन बन्दै

माछापुच्छ्रे गाउँपालिकाले आधुनिक र सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं. ४ लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी क्षेत्रफलको जमिनमा ६ करोड ६२ लाख ११ हजार नाै सय ६ रुपैयाँकाे लागतमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम तीव्रताका साथ भइरहेको छ । साबिक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा अहिलेको भवन साँघुरो हुँदा सेवाप्रवाहमा समस्या छ ।

०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो/जिएस इञ्जिनियरिङ जेभीसँग गत भदौ १५ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए ।  भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको रु. दुई करोड ५० लाख र प्रदेश सरकारको रु. ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी रकम गाउँपालिकाले लगानी गर्नेछ ।

विद्युतीय भऱ्याङ (लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा दुई सयजना क्षमताको सभाहल बन्ने गाउँपालिकाका सबइञ्जिनियर राजेन्द्र गौतमले जानकारी दिए ।  भवनको तल्लो तलामा हाल टाइपिङ र पिलर उठाउने काम सकिएको छ । यसैगरी प्रशासकीय भवनको चारैतिर पर्खाल लगाउने काम पनि भइरहेको उनले जानकारी दिए ।