मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
इमरान एमेद
२०७७ माघ १२ सोमबार १०:००:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हाम्रो पहिरन किन स्यान्डविचभन्दा सस्तो छ ?

नाफा अधिकतम बनाउन फेसन उद्योगले विगतदेखि नै आफ्ना श्रमिकलाई निर्वाह गर्न नपुग्ने ज्याला दिइरहेका थिए 

Read Time : > 3 मिनेट
इमरान एमेद
२०७७ माघ १२ सोमबार १०:००:००

यो वर्ष विश्वले दुईवटा ऐतिहासिक चुनौती सामना गर्‍यो– कोभिड–१९ र यसको कारण उत्पन्न आर्थिक विपत् । दुवैले आर्थिक रूपमा कमजोर श्रमिकमाथि गम्भीर असर पा¥यो । हुन त श्रमिकहरूले पहिले नै न्यून ज्याला र थोरै सामाजिक सुरक्षाका कारण समस्या भोगिरहेका थिए । श्रमिकको दयनीय स्थितिले भूमण्डलीकृत विश्वका धेरै कुनामा व्याप्त चरम असमानता झनै स्पष्ट पारिदिएको छ । यसबाट फेसन उद्योग पनि अछुतो छैन । 

महामारीले उब्जाएको आर्थिक दबाबका माझ फेसन उद्योग सस्तो श्रममाथि कति धेरै निर्भर छ भन्ने उजागर भयो । यो निर्भरता संकटको समयमा कति खतरनाक हुन्छ भन्ने पनि प्रस्टिएको छ । विश्व बैंकले कोभिड–१९का कारण १५ करोड मानिस पुनः गरिबीको रेखामुनि जान सक्ने चेतावनी दिएको सन्दर्भमाझ यो मुद्दालाई बेवास्ता गर्न सकिँदैन । 

वर्षको सुरुमै कोभिड–१९को विस्तार सुरु भयो र रोग नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनले विश्व अर्थतन्त्र ठप्प भयो । विकासोन्मुख देशका न्यून ज्यालामा काम गरिरहेका करोडौँ गार्मेन्ट श्रमिकको समस्या पनि सुरु भयो । पहिरन व्यवसायको सप्लाई चेन (आपूर्ति शृंखला) टुट्दा अर्डर रद्द भए । भियतनाम, कम्बोडिया, भारत तथा बंगलादेशका उद्योग चल्न छाडे, श्रमिकका भुक्तानी रोकियो । धेरै श्रमिकलाई विनाभुक्तानी घर पठाइयो । एक शताब्दीमा एकपटक आउने खालको महामारीको समयमा श्रमिक विनाआय घर–व्यवहार चलाउन विवश भए । 

यसबीच, कोभिड–१९ मा चीनको सिन्जियान क्षेत्रका उइगुर जनसंख्याको दमनमा फेसन उद्योगको भूमिका रहेको मानवअधिकारकर्मीले प्रकाश पारिरहे । चीनको सबैभन्दा ठूलो मुसलमान समूह उइगुरहरू दमनका सिकार भएको र यसक्रममा झन्डै १० लाख मानिस बन्धक बनेको कुरा बाहिर आइरहेका छन् । उनीहरूलाई एकातर्फ परम्परागत जीवनशैली त्याग्न बाध्य पारिएको छ भने, अर्कातर्फ ती बधुवाश्रम कार्यक्रममा प्रयोग भएका छन् ।

अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युसनको एक रिपोर्टअनुसार सन् २०१७ देखि सन् २०१९ बीच कम्तीमा ८० हजार मानिस सिन्जियानबाट चीनका विभिन्न स्थानमा कामका लागि स्थानान्तरण भएका छन् । नयाँ ठाउँमा पनि तिनको कडा निगरानी गर्ने गरेको र तिनलाई काम छाड्न नदिएको रिपोर्टले बताएको छ । 
चिनियाँ सरकारी समाचार संस्थाका अनुसार उइगुर श्रमिक स्थानान्तरण २०२० मा पनि जारी भएको संकेत पाइन्छ । चीनको ८५ प्रतिशत कपास सिन्जियान क्षेत्रबाट आउँछ (जुन विश्वको कुल उत्पादनको २० प्रतिशत हो ।) जुलाईमा उइगुर बधुवाश्रम अन्त्यको माग गर्ने एक गठबन्धनले विभिन्न फेसन ब्रान्डको नाम प्रकाशित गर्‍यो । सूचीमा रहेका ब्रान्डले आफ्ना सप्लाई चेन सिन्जियानका बधुवा श्रमिक नजोडिएको प्रत्याभूत गर्न सकेका छैनन् । 

अप्ठ्यारा भोग्ने एसियाका गार्मेन्ट श्रमिक मात्रै छैनन् । लन्डनबाट प्रकाशित हुने ‘द सन्डे टाइम्स’ले जुलाईमा गरेको एक अनुसन्धानात्मक रिपोर्टले लेस्टरस्थित एक उद्योगका श्रमिकलाई घन्टाका ४.६४ डलर मात्र दिइएको पनि पत्ता लगाएको थियो । सो उद्योगले फेसन ब्रान्ड वुहुका लागि कपडा बनाउने रहेछ । श्रमिक अधिकारसम्बन्धी गैरनाफामूलक अभियान ‘लेबर बिहाइन्ड द लेबल’का अनुसार लेस्टरका कैयौँ गार्मेन्ट उद्योग महामारीको समयमा पनि खुला रहे, तर त्यस अवधिमा सामाजिक दूरीको सही पालना भएन । केही श्रमिकले आफू कोरोना भाइरस संक्रमित हुँदासमेत काममा बोलाइएको बताए । 

विश्व प्राणघातक भाइरससँग लडिरहँदा न्यून ज्याला पाउने श्रमिकको अवस्था भयावह बन्यो । कोरोना भाइरसको असरबारेमा इम्पेरियल कलेज लन्डनले न्यून आय तथा निम्न–मध्यम आय भएका मुलुकमा अध्ययन गरेको थियो । अध्ययनबाट ती मुलुकमा कोभिड–१९बाट धनीभन्दा गरिब व्यक्ति उल्लेख्य रूपमा मर्ने सम्भावना देखिएको थियो । अमेरिकामा महामारीको आर्थिक परिणाम न्यून आय भएका वयस्कहरूमा सबैभन्दा खराब देखियो ।

सन् २०१६मा द बिजनेस अफ फेसनको आयोजना भएको फेसन उद्योग नवप्रवर्तकहरूको भेला ‘भोइसेस’मा डच ट्रेन्ड पूर्वानुमानकर्ता ली इडेकुर्टले एक महत्वपूर्ण प्रश्न गरेका थिए, ‘एउटा कपडा कसरी एउटा स्यान्डविचभन्दा सस्तो हुन सक्छ ? कपडा लामो प्रक्रियाबाट गुज्रिएर बन्छ । यसका लागि पहिले कपासखेती गर्नुपर्छ, खेतीको गोडमेल गर्नुपर्छ, छुट्याउनुपर्छ । पछि फेरि बाट्नुपर्छ, उन्नुपर्छ, काट्ने र जोड्ने काम गर्नुपर्छ । त्यसपछि फिनिसिङ गर्नुपर्छ अनि छाप्ने, नाम लगाउने, प्याक गर्ने र ढुवानी गर्नुपर्छ, यी यावत् प्रक्रियाबाट गुज्रने पहिरनको मूल्य केही युरो मात्र कसरी हुन सक्छ ?’

प्रश्न सुनेदेखि मेरो पनि दिमागमा यो कुरा खेलिरहेको छ । कोभिड–१९ले उजागर गर्नुअघि नै पनि कपास, कपडा र पहिरन उद्योगमा बधुवा श्रमिकहरूको प्रयोग हुन्थ्यो । नाफा अधिकतम बनाउनका लागि फेसन उद्योगले विगतदेखि आफ्ना श्रमिकलाई निर्वाह गर्न पनि नपुग्ने ज्याला दिइरहेका थिए । यो व्यापारिक मोडेलले एकातर्फ निकै कम मूल्यमा ठूलो परिमाणको कपडा बेच्न केन्द्रित छ । तर, उही समय कपडा निर्माणमा संलग्नहरूलाई भन्दा थोरैभन्दा थोरै ज्याला मात्र दिइरहेको छ । 

कपडा लामो प्रक्रियाबाट गुज्रिएर बन्छ । यसका लागि पहिले कपासखेती गर्नुपर्छ, खेतीको गोडमेल गर्नुपर्छ, छुट्याउनुपर्छ । पछि फेरि बाट्नुपर्छ, उन्नुपर्छ, काट्ने र जोड्ने काम गर्नुपर्छ । त्यसपछि फिनिसिङ गर्नुपर्छ अनि छाप्ने, नाम लगाउने, प्याक गर्ने र ढुवानी गर्नुपर्छ, यी यावत् प्रक्रियाबाट गुज्रने पहिरनको मूल्य केही युरो मात्र कसरी हुन सक्छ ?
 

उदाहरणका लागि बंगलादेशलाई नै लिऊँ । ४० लाख गार्मेन्ट श्रमिकको देश बंगलादेशका धेरै श्रमिकले त्यहाँको सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा केही मात्र बढी कमाउँछन्, जुन मासिक ८००० टाका अर्थात् १०० डलरभन्दा केही कम हो । उचित ज्यालाको माग गर्ने अभियन्ताका अनुसार श्रमिकहरूलाई सहज जीवन बाँच्नका लागि त्यसको दोब्बर आय आवश्यकता पर्छ । 

उच्च विलासी फेसन ब्रान्डका सप्लाई चेनसमेत सबैभन्दा कमजोर श्रमिकको दोहनमा सहभागी छन् । डियोर तथा सेन्ट लरेन्टजस्ता विलासी ब्रान्ड न्यून मूल्यको बुट्टा बनाउने काम भारतमा सबकन्ट्र्याक्ट गर्छ । भारतमा बुट्टा भर्ने अत्यन्त सिपालु कलाकारले पनि अत्यन्त कम ज्याला पाउँछन् । पछि जसले कन्ट्र्याक्ट दिएका हुन्छन्, तिनले युरोपमा कपडाको एसेम्बल गर्दा ‘इटालीमा बनेको’ वा ‘भारतमा बनेको’ ट्याग लगाइदिन्छन् । 

भनिन्छ, मानिसको वास्तविक चरित्र उसले संकटको वेलामा देखाउने व्यवहारबाट झल्किन्छ । यही कुरा २५ खर्ब डलरको विश्व फेसन उद्योग र यसले सामना गर्ने चुनौतीबारे पनि भन्न सकिन्छ । महामारीले यसको आयमा उल्लेख्य ह्रास ल्यायो । ठूलो संख्यामा खुद्रा व्यापारीहरू टाट पल्टिए । उपभोक्तामाझ कायम अनिश्चितता पनि उत्तिकै चिन्ताजनक देखिन्छ । बिजनेस अफ फेसन तथा म्याक्किन्से एन्ड कम्पनीको एउटा संयुक्त रिपोर्टले यो वर्षको अन्त्यसम्म फेसन उद्योग ३० प्रतिशतले खुम्चने देखाएको छ । 

के फेसन उद्योगले अहिलेको अवस्थाप्रति आँखा उघार्ला ? के यो दिगो सुधारका लागि तयार होला ? आधारभूत रूपमा जरा गाडेको व्यावसायिक मोडेल उल्टाउन उद्योगले थप जिम्मेवारी लिनैपर्छ । सम्झौता रद्द गरेर, निर्माण कार्य स्थानीय उद्योगलाई दिएर र मानिसको ठाउँमा रोबोट ल्याएर समाधान हुनेवाला छैन । बरु यो क्षेत्रको सबैभन्दा अत्यावश्यक श्रमिकको काम गर्ने परिस्थिति सुधार्न स्रोत उपभोग गरियो भने मात्र समस्या सम्बोधन हुनेछ । पुनरुत्थानको लामो मार्गबारे योजना बनाउँदा फेसन उद्योगले यो कुरा दिमागमा राख्नुपर्छ ।
(एमेद द बिजनेस अफ फेसनका संस्थापक तथा सिइओ हुन्) ​​