१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
२०७७ माघ १२ सोमबार ०६:४३:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

४१ घन्टा निरन्तर नाचेर कीर्तिमान राख्ने दिदीबहिनीका कथा

दुई दिन लगातार नृत्य गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका दिदीबहिनी रुविशा र एलिशा भन्छन्– ‘प्रमाणपत्र पाएपछि मात्रै ढुक्क भयौँ’

Read Time : > 3 मिनेट
२०७७ माघ १२ सोमबार ०६:४३:००

काठमाडौं चन्द्रागिरिकी रुविशा र एलिशा श्रेष्ठको खुसी अहिले निक्कै बढेको छ । सायद, उनीहरूलाई आफ्नो करिअरलाई लिएर पहिले कहिल्यै यत्तिको खुसी महसुस भएको थिएन । यी दुई दिदीबिहिनीले दुई वर्षअघि ४१ घन्टा पाँच मिनेट निरन्तर नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएको प्रमाणपत्र भर्खरै प्राप्त गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्व मानव जीवनलाई नै कष्टकर बनाइरहेको समयमा यी दिदीबिहिनीका लागि भने लन्डनबाट खुसीको खबर आइपुगेको थियो ।

उनीहरूको खुसी अझ बढ्यो जतिखेर राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएर उनीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिन् । ‘हामीले रेकर्डका लागि सबै कुरा बुझाइसकेको लामो समय भइसकेको थियो । यो बीचमा हामीले पठाएको भिडियो परीक्षण गरेर उनीहरूले प्रमाणित गर्नुपर्ने थियो । त्यसपछि मात्रै हाम्रो कीर्तिमान पक्का हुने निश्चित थियो,’ रुविशा भन्छिन्, ‘त्यसैले हामीले प्रमाणपत्र नपाएको दिनसम्म ढुकढुक नै थियो । पाएपछि निक्कै खुसी लागेको छ । हाम्रो प्रयास सफल भएको छ ।’

एलिसा थप्छिन्, ‘हामीले आयोजकलाई मेरै मेल आइडी दिएका थियौँ । त्यसैले म मेल चेक गर्दै बसेकी थिएँ । हाम्रो कीर्तिमान प्रमाणित भएको इमेल देखेपछि हामी त खुसीले बेस्सरी उफ्रेका थियौँ ।’ राष्ट्रपतिसँगको भेटले उनीहरूको मनोबल थप उच्च भएको छ । उनीहरू भन्छन्, ‘राष्ट्रपतिज्यूले हामीलाई निक्कै माया दिनुभयो । यति सानै उमेरमा यस्तो काम गरेछौँ भन्नुभयो । उहाँले हामीलाई छोरी भन्नुभएको छ । उहाँले यो आशीर्वादले हामीलाई थप हौसला मिलेको छ ।’

सन्तप्रसाद श्रेष्ठ र दुर्गा गौतम श्रेष्ठका यी दुई छोरी सानै उमेरदेखि नृत्यमा रुचि राख्थे । उनीहरूले लामो समय निरन्तर नाचेको कीर्तिमान पनि सानै उमेरमा राखेका हुन् । कीर्तिमानको समयमा रुविशा १८ र एलिशा मात्रै १७ वर्षकी थिइन् । खासमा यी दुई दिदीबहिनीलाई नृत्यमा लाग्न बुबा सन्तप्रसादले नै प्रेरित गरेका हुन् । उनी आफैँ छोरीहरूलाई नृत्य सिकाउँथे । विभिन्न कार्यक्रममा लिएर जान्थे । त्यही क्रममा उनीहरूले पत्रकार रवि लामिछानेले टेलिभिजनमा लामो समय अन्तर्वार्ता लिएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएको खबर सुने । 

यी दिदीबहिनीको मनमा पनि नयाँ आइडिया आयो । उनीहरूले पनि नृत्य गरेरै कीर्तिमान कायम गर्न सकिन्छ कि भन्ने सोचे । ल्यापटप खोलेर गुगल सर्च गरे । उनीहरूले एक अमेरिकी जोडीले लामो समय निरन्तर नाचेर कीर्तिमान राखेको भेटे । अमेरिकी जोडी ब्रिट ग्रिसवल्ड र जेनिफर ग्रिसवल्डले ३८ घन्टा ३० मिनेटको कीर्तिमान कायम गरेका रहेछन् । यी दिदीबिहनीले १४ वर्षअघिको यही कीर्तिमानलाई पछ्याउने निर्णय गरे । 

आफूले गरेको निर्णय दुई दिदीबहिनीले घरमा सुनाए । आमाबुबाले हौसला दिए । उनीहरूले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को वेबसाइटमा गएर फर्म भरे । झन्डै तीन महिनापछि जवाफ आएको थियो । त्यसबेला उनीहरूले सक्छौ भनेर सोधेका थिए । रुविशा र एलिशाले सक्छौँ भन्ने जवाफ पठाए । त्यससँगै उनीहरूको तयारी पनि तीव्र बन्यो । उनीहरूले एक घन्टा, दुई घन्टा गर्दै दैनिक तयारी अघि बढाए । त्यसपछि ६ घन्टा, १२ घन्टा गर्दै ४१ घन्टासम्मको तयारी गरे । 

सानै उमेर र शारीरिक रूपमा पनि कठिन हुने गरी लामो समय निरन्तर नृत्य गर्नुपर्ने भएका कारण समस्या हुने सम्भावना थियो । उनीहरू डाक्टरको सल्लाह लिन पुगे । डाक्टरले पनि लामो समयसम्म एउटै काममा केन्द्रित हुनुपर्दा मानसिक रूपमै पनि समस्या हुन सक्ने भन्दै सचेत गराएका थिए । त्यसका बाबजुद रुविशा र एलिशाले तयारी छाडेनन् । निरन्तर सात महिनासम्म उनीहरूको तयारी चल्यो । त्यसपछि उनीहरूले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का प्रतिनिधिको उपस्थितिमा २०७५ जेठमा काठमाडौंमै कीर्तिमानको अभियान सुरु गरे ।

निरन्तरको नृत्यले हामी त बेहोसजस्तै भएका थियौँ । कसधले के भनिरहेको छ भन्ने नै थाहा पाएका थिएनौँ । शरीर दुख्ने समस्या त हुने नै भयो । मानसिक रूपमै हामी अचेतजस्तो भएका थियौँ । हामी कम्तीमा एक सातासम्म यस्तै अवस्थामा थियौँ ।
 रुविशा श्रेष्ठ

स्टेज कार्यक्रम र म्युजिक भिडियो दुवैबाट उत्तिकै आर्थिक जोहो पनि भएको छ । सबै चिज राम्रै हुँदै छ । नृत्यलाई नै कर्मक्षेत्र बनाउने उद्देश्य पूरा हुँदै छ । आगामी दिनमा मिहिनेत यसकै लागि हुनेछ ।
एलिशा श्रेष्ठ

११ जेठ ०७५ बिहान ९ बजेबाट सुरु भएको उनीहरूको नृत्य निरन्तर ४१ घन्टाभन्दा बढी समय चल्यो । त्यसमा उनीहरूले नेपालको विभिन्न संस्कृतिसँग सम्बन्धित गीतसंगीतलाई समेटेका थिए । उनीहरूको अभियानमा त्यस्ता हजारभन्दा बढी गीत बजेका थिए । प्रत्येक एक घन्टामा उनीहरूका लागि पाँच मिनेटको ‘ब्रेक’ हुन्थ्यो । त्यही पाँच मिनेटको समयमा उनीहरू शौचालय जाने, पानी खानेजस्ता काम गर्थे । झन्डै दुई दिनसम्म निरन्तर नृत्य गरेपछि उनीहरूले आफ्नो अभियान त पूरा गरे । तर, त्यसको थप प्रमाणीकरण हुन र प्रमाणपत्र आउन बाँकी नै थियो । त्यसको झन्डै वर्ष दिनपछि उनीहरूले प्रमाणपत्र पाएका हुन् । 

फरक खालको क्षमता प्रस्तुत गरेर कीर्तिमान राख्नेहरूको संग्रह ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने अभियान सफल भएपछि उनीहरूको खुसी नै अर्कै छ । तर, त्यसको पीडा उनीहरूले अझै भुल्न सकेका छैनन् । ‘हामी त बेहोसजस्तै भएका थियौँ । कसैले के भनिरहेको छ भन्ने नै थाहा पाएको थिएनौँ,’ रुविशा सुनाउँछिन्, ‘शरीर दुख्ने समस्या त हुने नै भयो । मानसिक रूपमै हामी अचेतजस्तो भएका थियौँ । हामी कम्तीमा एक सातासम्म यस्तै अवस्थामा थियौँ ।’


अहिले प्राप्त सफलताले उनीहरूलाई त्यो पीडा पनि मीठो लाग्न थालेको छ । त्यही सफलतापछि उनीहरू अहिले स्टेज कार्यक्रमदेखि म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । रुविशा र एलिशा दुवैले छोटो समयमै चारभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला देखाउने अवसर पाएका छन् । स्टेज कार्यक्रम र म्युजिक भिडियो दुवैबाट उत्तिकै आर्थिक जोहो पनि भएको छ । ‘सबै चिज राम्रै हुँदै छ । नृत्यलाई नै कर्मक्षेत्र बनाउने उद्देश्य पूरा हुँदै छ,’ एलिशा भन्छिन्, ‘आगामी दिनमा मिहिनेत यसकै लागि हुनेछ ।’ यी दिदीबहिनीले थप नयाँ कीर्तिमानको योजना बनाएको पनि सुनाए । केमा कीर्तिमानका लागि प्रयास गर्ने भन्नेबारे भने अझै निश्चित भइसकेको छैन । त्यसका लागि सम्भावित विषयको खोजी गरिरहेको उनीहरू बताउँछन् ।