मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रा.डा. ढुण्डीराज पौडेल
२०७७ माघ ११ आइतबार ०८:०८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सम्मान जनताको हृदयमा खोज्नुस् 

Read Time : > 3 मिनेट
प्रा.डा. ढुण्डीराज पौडेल
२०७७ माघ ११ आइतबार ०८:०८:००

०५१ सालमा बहुमतको सरकार पार्टीभित्रको किचलोको कारण अल्पमतमा परेर मुलुक मध्यावधिमा गएपश्चात् सिर्जित राजनीतिक अस्थिरताभित्र मौलाएको माओवादी सशस्त्र विद्रोहका कारण सत्र हजारको ज्यान गयो । मुलुकको अपूरणीय क्षति भयो । शान्ति र स्थिरताका निम्ति ०६२–६३ सालको जनआन्दोलनमा दशौँ लाख जनता उत्रिएर २४० वर्ष पुरानो राजसंस्था फालेर गणतन्त्र ल्याए । वर्षाैंको प्रसव वेदनापश्चात् राजनीतिक स्थिरता सुनिश्चित गर्ने गरी बनेको भनिएको नेपालको संविधान २०७२ पारित भयो ।

यसै परिप्रेक्षमा नेपाली जनताले ०७४ मा स्थिरता र समृद्धिको आसमा एकीकृत नेकपालाई बहुमत दिएर सन्तोषको सास फेरे । तर, त्यही प्रचण्ड बहुमतद्वारा सत्तासीन बनेका प्रधानमन्त्रीले पार्टीभित्रको स्वार्थपूर्ण किचलोलाई कारण देखाउँदै संसद् नै बलिवेदीमा चढाइदिए । उनले राष्ट्रपतिलाई समेत प्रभावित पारेर चालेको पुस ५ को संविधानमै नभएको कदमले अहिले समाजवादउन्मुख संविधानलाई नै पक्षघातको अवस्थामा पुर्‍याउने जोखिम उत्पन्न भएको छ । 

एउटा दुर्भाग्य ! प्रधानमन्त्रीको प्रतिगमनविरुद्ध सडकमा ओर्लिएका विशेषतः नेकपाका हजारौँ कार्यकर्ता÷जनताले आफ्नै सामु निर्लज्जतापूर्वक लचकदार सोफामाथि गजक्क बसेर आत्मसमीक्षा र आत्मालोचनाविनाको भाषण नेतागणबाट सुन्नुपर्‍यो । नेताहरूको विलासपूर्ण मतिबाट जनता प्रतिगमनबाट जतिकै आघात भए । 

अर्काे दुर्भाग्य ! प्रतिगमनविरुद्ध आमसभा नसकिँदै सोही नेकपा पार्टीको सत्तासीन समूहका मुखिया प्रधानमन्त्रीले प्रचण्ड–माधव समूहले भन्दा धेरै जनता ओसारेर त्यसभन्दा ठूलो आमसभा गर्ने धक्कु दिएका छन् । राज्यशक्ति र स्रोतको दुरूपयोगमार्फत उनले यो समूहले भन्दा धेरै मानिस जम्मा गर्नु कुनै कठिन छैन । तर, यसले एउटा नजानिँदो भयको भने सञ्चार गर्दाे छ । 

परिस्थिति कस्तो छ भने कमिसन र निहित स्वार्थ पूरा गर्ने अवसर बन्न पुगेको, बेसारपानीले ठीक हुने दाबी गरिए पनि लकडाउन, चिकित्सा क्षेत्रबाट भएको प्रयास अनि प्राकृतिक बाटोबाटै कोभिड–१९ को संक्रमण हाल केही मत्थर भए पनि त्यसका विभिन्न नयाँ–नयाँ रूपको जोखिम हटेको छैन । भारतबाट सहयोगस्वरूप प्राप्त दश लाख डोज खोपको व्यवस्थापन र सही प्रयोग नै हम्मेहम्मे परेको प्रतीत हुन्छ । दोस्रो बुस्टर डोज नलगाउँदासम्म प्रभावकारी प्रतिरोध क्षमताको विकास हुन सक्दैन । भारतका प्रधानमन्त्री मोदी भ्याक्सिन निर्माणदेखि वितरणमा स्वयं गम्भीरतापूर्वक क्रियाशील देखिन्छन् । हाम्रोमा प्रधानमन्त्री सत्ताका लागि देश नै बर्बाद गर्दै छन् । मुलुकभित्र चर्किंदो बितन्डाको बीच अब जनताको जिउज्यान थप दाउमा लागेको छ । 

हाम्रा यी अभूतपूर्व प्रधानमन्त्रीमा आदर र सम्मान नपुगेको झोँक छ । उनमा आदर र सम्मान कामले प्राप्त हुने हो, विरासतमा होइन भन्ने ज्ञानसमेत नभएको देखिन्छ ।

तर पनि हाम्रा यी अभूतपूर्व प्रधानमन्त्रीमा आदर र सम्मान नपुगेको झोँक छ । उनमा आदर र सम्मान कामले प्राप्त हुने हो, विरासतमा होइन भन्ने ज्ञानसमेत नभएको देखिन्छ । रानीपोखरीस्थित भानु मावि, हनुमानढोका, वसन्तपुर दरबार आदि जस्ता पुरातात्विक भवनहरू मित्रराष्ट्रले बनाइदिए पनि धेरै वर्षपछिको कसमकस, उहापोह र स्वार्थपूर्ण द्वन्द्वपछि स्वदेशी खर्चमा धरहरा, रानीपोखरीको निर्माण गरेको जस इन्जिनियर, प्राविधिक एवं मजदुरलाई दिएकोमा स्वयं कम्युनिस्ट प्रधानमन्त्रीले खासै आपत्ति नमान्नुपर्ने ? जनताले संयोजन या नेतृत्व गरेकोमा सरकारलाई जस दिई नै हाल्थे ।

अवश्य पनि मेलम्चीका पाइप बिछ्याउँदा र ढलका कारण अस्तव्यस्त बनेको राजधानीको सडक अहिले सुध्रिएको छ । पुलपुलेसा एवं बाटाघाटाको पुनर्निर्माण एवं नवनिर्माण चलिरहेको पनि देखिन्छ ।  तर, बहुसंख्यक जनता गरिब रहेको र न्यूनतम आधारभूत आवश्यकताहरूको जोहो गर्न ज्यानलाई जोखिममा पारेर लाखौँ युवाहरू न्यूनतम सुबिधामा खाडीलगायतका मुलुकमा ओइरिइरहेको स्थितिप्रति कम्युनिस्ट सरकार संवेदनशील भइदिएको भए सम्मान पाइहालिन्थ्यो । 

मूलतः सार्वजनिक स्वास्थ्य, शिक्षा, रोजगारी, कृषिजस्ता जनताका दैनन्दिनी, आधारभूत आवश्यकता या जनजीविकाका सवालमा सरकार र सरकार प्रमुखको के किञ्चित पनि ध्यान गयो ? यसका लागि यो दुःखद प्रहसनका दुवै पक्षले सिन्को किन नभाँचेको ? आफ्नो उपजको मूल्य नपाउने उखुकिसानहरूले आँखाबाट तरक्क आँसु झार्दा के प्रधानमन्त्री मन पोल्यो ? नेकपाको मन पोल्यो ? आफ्ना लागि आवश्यक पर्ने निजी एवं त्रिवि शिक्षण अस्पतालको कुनै खास विभागबाहेक प्रधानमन्त्रीलाई कुन सार्वजनिक अस्पतालप्रतिको चिन्ता छ ? तीन करोड नेपालीको स्वास्थ्यको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय वर्तमान प्रमका लागि सधैँ अर्घेलो बनेको छ । मातहतका अस्पतालहरूको दुर्दशाबारे प्रधानमन्त्रीलाई केही वास्ता छैन । निर्माणका क्रममा करोडौँको कमिसन हासिल हुने भएकाले दिनहुँ पचासौँ थप शल्यसेवा दिन सकिने वीर अस्पतालका विशाल सर्जिकल भवनहरू खडा त भए, तर तिनको सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण एवं आवश्यक साधनहरू जुटाउनेतर्फ ध्यानै दिइँदैन । 

आफ्ना मन्त्रीलाई अत्याधुनिक इलेक्ट्रोनिक माध्यमको उपयोग गर्न अह्राउने प्रविधिप्रेमी प्रधानमन्त्रीमा अनलाइन र कम्प्युटर सेवाबाट वञ्चित लाखौँ गरिब विद्यार्थीहरू महिनौँ विद्यालय सेवाबाट वञ्चित भएकोमा चिन्ता भएन । बरु ती शिक्षक आफ्नो पार्टीगत राजनीतिको ताबेदारीमा लागे हुन्थ्यो भन्ने चाहना भयो । प्रमलाई सोध्न मन लाग्छ, नेकपाले गत आमनिर्वाचनमा जारी गरेको घोषणापत्रको कुनै महत्व छैन ? सर्वसाधारण जनता, बेरोजगार, गरिब, किसान आदिले भोग्नुपरेका दैनिक समस्याउपर के सरकारको ध्यान जान सकेको छ ? किसानले मूल्य नपाउने अनि उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्थाप्रति किन गम्भीर नभएको ?

बोलाइमा प्रखरता, वाकपटुता र धेरै विषयको सतही ज्ञान हुनुजस्ता गुण मात्रै मुलुकका कार्यकारी प्रमुखका निम्ति पर्याप्त हुन्नन् । विवेकशीलता, गाम्भीर्य, विशालता, उदारता, दूरदर्शिता निष्पक्षतासहित शासनमा कठोरताजस्ता गुण आफूमा विद्यमान छन् कि छैनन् ? निजले आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । मुलुकको राजनेता बन्नुको सट्टा पार्टीभित्रको समूह–उपसमूहको नेता बन्ने अनि सिंगापुरका ली क्वान, चीनका सी जिनपिङ, मलेसियाका माहाथिरको सम्मान खोजेर हुन्छ ? 

त्यसैले प्रधानमन्त्रीले आफूलाई छापामा ज्यु–हजुर भनिएन भनेर क्रोधित हुनुभन्दा नेपाली जनताले विश्वासका साथ पाँच वर्षका लागि जिम्मा लगाएको नासो जतनसाथ संरक्षण गरिदिएको भए सम्मान ओइरिहाल्थ्यो । त्यसैले प्रधानमन्त्रीले अभिव्यक्तिमा होइन, तीन करोडको हृदयको सम्मान खोज्नु उचित हुन्छ ।