१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ११ आइतबार ०७:२३:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

मर्यादा सिकाउने अमर्यादित शैली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ११ आइतबार ०७:२३:००

प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना बोली–वचनका कारण सधैँ चर्चामा आइरहन्छन् । उनी वाक्पटुु छन् । प्रत्युत्पन्न मतिका छन् । तत्काल विपक्षीमाथि घातक व्यंग्य प्रहार गर्न सक्छन् । उखान–टुक्का त उनको भाषणका मुख्य पक्ष नै भइहाले । हाम्रा गाउँघरमा बुढापाकाहरूले पुस्तान्तरण गर्दै जीवित राखेका भनाइ र प्रसंगको प्रयोगले उनको भाषणलाई रमाइलो बनाउँछ । पछिल्लो समय त उनलाई स्ट्यान्डिङ कमेडियनका रूपमा चित्रित गर्न थालिएको छ । उनी हरेक गम्भीर राजनीतिक प्रश्नलाई हसिमजाक बनाउन खप्पिस छन् । केही दिनयता उनका भनाइमा एकप्रकारको समस्या देखिन थालेको छ ।

उनी आफ्नो पदीय मर्यादा र जिम्मेवारीबाट पन्छिएर या बहकिएर असामान्य ढंगले बोल्न थालेका छन् । आफ्नो पक्षमा जनमत निर्माण गर्न र कार्यकर्तालाई उत्तेजित पार्न उनी झुट र फेक समाचारहरूको सहारा लिने, सामाजिक मर्यादा पनि नराखी अर्को पक्षमाथि शाब्दिक प्रहार गर्नेतिर लागेका छन् । केही समयपहिले सार्वजनिक भएको एउटा सञ्चार संस्थाले किर्ते समाचार बनाएर नेकपा नेता भीम रावलले ओलीको किड्नीको प्रसंग झिकेर महिलामाथि अपमान हुने गरी बोलेको भन्ने आरोप लगाएको थियो । त्यसको व्यापक चर्चा भएपछि भीम रावलले आफूले त्यस्तो नबोलेको भन्दै समाचारको खण्डन गरेका थिए । तर, देशको प्रधानमन्त्रीजस्तो पदमा रहेको व्यक्तिले समाचारको तथ्यतिर होइन, समाचारलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खण्डन भइसकेको विषयको सहारा लिए ।

आफ्नो पक्षमा जनमत निर्माण गर्न र कार्यकर्तालाई उत्तेजित पार्न उनी झुट र फेक समाचारहरूको सहारा लिने, सामाजिक मर्यादा पनि नराखी अर्को पक्षमाथि शाब्दिक प्रहार गर्नेतिर लागेका छन् 

यो लोकप्रियतावादको सिकार भएको अधिनायकवादी शासकले जस्तो झुटको सहारामा आफूलाई टिकाउने र विपक्षमाथि प्रहार गर्ने अत्यन्त अशिष्ट राजनीतिक शैली हो । त्यसपछि उनले आफ्नो मन्त्रिपरिषद्मा रहेर काम गरिसकेका र आफ्नो राजनीतिक दलको लिस्टमा अहिले पनि स्थायी समितिका सदस्य रहेका योगेश भट्टराईलाई लक्षित गरेर ‘एउटा केटो’ भन्दै हेपेर बोले । त्यसको केही दिनपछि उनले ९४ वर्षीय पुराना अधिवक्ता र नेपालमा नागरिक अधिकारका पक्षमा लामो समय संघर्ष गरेर आएका कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा संवैधानिक इजलाससमक्ष गरेको बहस पैरवीप्रति इंगित गर्दै ‘बाजे वकिलको तमासा’ भनेर लाञ्छित गरे । यो कानुन व्यवसायीको पेसा र एकजना सम्मानित नागरिकप्रतिको अपमानजनक भाषा ओलीले मात्र बोल्न सक्छन् भन्ने स्थापित हुँदै गएको छ । यसरी हेर्दा ओली यतिवेला आफैँले चालेको सिद्धान्तहीन राजनीतिक कदमको बचाउ गर्न नसकेर हतास र निराश हुन थालेका हुन् या बतासे कुरा गर्ने अविश्वसनीय बन्दै गएका हुन् भन्ने प्रश्न उठेको छ ।

यहीबीचमा उनले पत्रकारहरूलाई उनीहरूको लेख र समाचार कुन पार्टीको हो भनेर चिनिने हुनुपर्छ भन्दै अर्ती उपदेश दिए र त्यसमार्फत उनले कस्तो लोकतन्त्र र प्रेस चाहेका छन् भन्ने एउटा उदाहरण प्रस्तुत गरे । त्यही कार्यक्रममा उनले आफूलाई राजाहरूलाई जस्तो सम्बोधन नगरेर, सवारी होइबक्स्यो, ज्युनार गरिबक्स्यो नभनेर गए, आए, हिँडे, खाए भन्दै अपमान गरिएको भन्ने आशय झल्किने अभिव्यक्ति दिए । आमसञ्चार जगत्लाई मर्यादा सिकाउने क्रममा उनले आफूभित्रको सामन्तवादी संस्कार र आफैँभित्र बसेको सर्वसत्तावादी भावना व्यक्त गरे । यो पनि समाजलाई नियन्त्रित र निर्देशित तरिकाले चलाउने आकांक्षाको अभिव्यक्ति नै हो । त्यो त्यही कारण हो, जसको वशमा परेर उनले संविधान मिचेर प्रतिनिधिसभा विघटन गराए । अहिले उनी सर्वोच्च अदालत र समग्र लोकतान्त्रिक प्रणालीमाथि धाबा बोल्दै हिँडेका छन् । शासकहरू हतास भए पनि बतास भए पनि त्यसको परिणाम समग्र देशले व्यहोर्नुपर्छ । यसका परिणामहरू अझै आउन बाँकी छन् ।