१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राम कार्की ‘पार्थ’
२०७७ माघ ११ आइतबार ११:१८:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रतिक्रान्तिभित्र प्रतिक्रान्ति

Read Time : > 7 मिनेट
राम कार्की ‘पार्थ’
२०७७ माघ ११ आइतबार ११:१८:००

अहिलेको सत्ताअपहरण नेपाललाई दीर्घकालसम्म दुःख दिने प्रतिगामी कदम हो, यसका विरुद्ध दृढताका साथ डट्दै परिवर्तनको महामार्गतिर बढ्नु अहिलेको कार्यभार हो 

 सन् १८४८ देखि १८५१ का बीचमा फ्रान्समा घटेको घटनाले कार्ल मार्क्सलाई स्वयंले विकसित गरेको विश्व दृष्टिकोणको आधारमा समकालीन इतिहासको अध्ययन र परख गर्ने अवसर जुटायो । ‘नेपोलियन बोनापार्टको अठारौँ ब्रुमेर’ शीर्षक आफ्नो विश्वविख्यात निबन्धको सुरुमै मार्क्स भन्छन्, ‘हेगेलले एक ठाउँमा भनेका छन्– यस्तो लाग्छ विश्व इतिहासमा यी सबै घटना र प्रतिभाहरू जसको अत्यधिक महत्व छ, दुईपटक आविर्भूत भएका छन् । उनले यति भन्न बिर्सिए, पहिलोपटक दुःखान्त नाटकमा र दोस्रोपटक प्रहसनको रूपमा ।’ सन् २०१७ बाट २० डिसेम्बर २०२० का बीचमा नेपालमा विकसित भएको घटनाक्रमलाई कार्ल मार्क्सकै दृष्टिले हेर्न खोज्नु मेरा निम्ति धृष्टता नै हुन्छ ।

तथापि, मार्क्सकै अनुयायी बन्ने प्रयत्नमा झन्डै चार दशक बिताएको अनुभवका आधारमा यति भन्ने आँट गर्छु कि ऐतिहासिक महत्वका घटना र व्यक्तित्व तीनपटक आविर्भूत हुने गर्दारहेछन् । हेगेलले उल्लेख गरेको र माक्र्सले थपेको त्यो कडीमा दुःखान्त प्रहसन (ट्रेजिक फार्स)पछि त्रासिक प्रहसन (ट्रेजिक कमेडी) अर्थात् जनसाधारणको भाषामा ‘रुन्चे हाँसो’ थप्ने अवसर नेपालले प्रदान गरेको छ । महेन्द्रकालीन दुःखान्तको अवधि झन्डै तीस वर्षको रह्यो । ज्ञानेन्द्रको प्रहसन पाँच वर्ष पनि टिकेन । अब केपी शर्मा ओलीको रुन्चे हाँसोको निम्ति कति समय छुट्याउने, त्यो नेपाली जनता विशेषतः तन्नेरी पुस्ताको हातमा छ । 

‘मानिसले आफ्नो इतिहासको निर्माण स्वयं गर्छन्, तर मनपरी ढंगले होइन । आफूले चाहेअनुसारको परिस्थितिमा नभएर उनीहरूलाई अतीतबाट प्राप्त र अतीतद्वारा सम्प्रेषित परिस्थितिमा नै मानिसले इतिहासको निर्माण गर्छ ।’ कार्ल माक्र्सको यो शिक्षालाई उपेक्षा गरेर पुस ५ गतेको सत्ताअपहरणलाई बुझ्न खोज्दा यथार्थको सही ज्ञान प्राप्त हुँदैन । त्यसैले त अहिले सामाजिक सञ्जाल र सडकमा समेत सत्ताअपहरणका प्रमुख पात्रहरूबारे भइरहेको आलोचना भिक्टर ह्युगोको ‘लघुमानव नेपोलियन’ जस्तै कर्तामुखी र यथार्थविमुख बनेका छन् । शीर्षक लघुमानव जुराइए पनि भिक्टर ह्युगोको सिंगो पुस्तकले सम्पूर्ण घटनाको सूत्रधारको श्रेय एक्लो नेपोलियनलाई दिएर लघुमानवलाई महामानव बनाइदिन्छ । नेपालमा बितेका तीन वर्षभित्रमा विकसित र घटित घटनाहरूको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने दायित्वलाई भुलेर भावनात्मक रूपमा गरिने गालिगलौजको कुनै अर्थ र महत्व छैन ।

मेरो आग्रह के भने पढेरभन्दा सुनेर जानिफकार भएका हाम्रा विनोदप्रिय प्रधानमन्त्री ओलीलाई उनी जे हुन् त्यही रहन दिऔँ । यहाँ म फ्रेडरिक एंगेल्सले माक्र्सका बारेमा भनेको निम्न भनाइतर्फ विशेषतः कम्युनिस्ट कार्यकर्ताहरूको ध्यान आकृष्ट गर्न चाहन्छु । ‘माक्र्सले यो नियम पत्ता लगाए कि राजनीतिक, धार्मिक, दार्शनिक तथा अन्य कुनै बौद्धिक क्षेत्रमा चल्ने सबै ऐतिहासिक संघर्ष वस्तुतः सामाजिक वर्गहरूबीच चल्ने वर्गसंघर्षको धेरथोर स्पष्ट अभिव्यक्ति हुने गर्छ ।’ यही सत्यको प्रकाशमा नेपालमा विकसित घटनाहरूलाई अध्ययन गर्ने र समाजमा विद्यमान बहुसंख्यक उत्पीडित वर्गको हितको पक्षमा बदल्ने प्रयास गर्न म सबै सरोकारवालालाई आग्रह गर्दै आफ्नो ध्यान भने पुस ५ को सत्ताअपहरणमा केन्द्रित गर्न चाहन्छु । 

संगठनात्मक रूपमा नेपाल कम्युनिस्ट पार्टी अहिले दुई विद्वेषी शिविरमा बाँडिएको छ । तीमध्ये सरकारी शिविर दार्शनिक रूपमा आदर्शवादी एकत्ववादद्वारा निर्देशित छ । अर्थात्, एक आराध्यदेव नै त्यहाँ अन्तिम सत्य हुन् । यो एकेश्वरवादी शिविरमा मार्क्सवाद, लेनिनवाद, समाजवाद, द्वन्द्ववाद, भौतिकवाद आदि जस्ता विषयमा बहस र छलफल गर्नुपर्ने कुनै टन्टा बाँकी छैन ।
 

ल्याटिन अमेरिकालगायत विभिन्न देशमा चलिरहेको छापामार आन्दोलनको अध्ययन गरिरहेका दर्शनशास्त्रका प्राध्यापक रेजिस डेब्रेद्वारा लिखित सानो पुस्तिका ‘क्रान्तिभित्र क्रान्ति’ (१९६७) चे ग्वेभारा लिखित छापामार युद्धसँग मिसिएर एक प्रकारको छापामार युद्ध नियमावली बनेको थियो । सत्तरी र असीको दशकमा र आज पनि उत्पीडितहरूको मुक्तिमा बल प्रयोगको आवश्यकता महसुस गर्नेका निमित्त यी दुवै पुस्तक गुनिला थिए र छन् । क्युबामा सफल चेको छापामार रणनीति वस्तुगत प्रतिकूलताका कारण कंगोमा जम्न सकेन, बोलिभियामा रेजिस डेब्रे गिरफ्तार गरिए, चेको सहादत भयो । संसारमा हुँदै आएको क्रान्तिको क्रान्तिकारीकरण अर्थात् क्रान्तिभित्र क्रान्ति गर्ने फिडेल, चे आदिको अभियानको धरोहरको रूपमा समाजवाद क्युबामा बाँचिरहेको छ । 

नेपालमा गरिएको पुस ५ को सत्ताअपहरणलाई कसरी परिभाषित गर्ने भन्ने मेसोमा पंक्तिकारको ध्यान डेब्रे लिखित त्यो सानो पुस्तिकातिर गयो । नेपालको कम्युनिस्ट आन्दोलनमा केही पहिलेदेखि शिर उठाउँदै गरेको प्रतिक्रान्तिकारी हरकतको चुडान्त बिन्दुका रूपमा पुस ५ मा चालिएको प्रतिगमनकारी कदमलाई ‘प्रतिक्रान्तिभित्र प्रतिक्रान्ति’ भनेर बुझ्नु र व्याख्या गर्नु यथार्थपरक हुन्छ कि भन्ने राय यहाँ राख्न चाहन्छु । प्रतिक्रान्तिको अगुवाइ गर्ने पात्रलाई सडकमा आएका कुनै नेताले गोर्भाचोभसँग तुलना गरेका छन् । विरोधीलाई गाली गर्ने परम्पराको निर्वाह गर्दा विनासोचविचार यी शब्द हठात् निस्केका होइनन् भने यो आरोपले केही गम्भीर प्रश्न अनिवार्य जन्माउँछन् ।

कम्युनिस्ट आन्दोलनमा ख्रुस्चेभको जन्मपछि नै गोर्भाचोभको उदय सम्भव हुन्छ । राजनीतिक र संगठनात्मक बहुलतालाई खारेज गर्ने स्टालिनकालीन एकमनावादविना आन्दोलनमा ख्रुस्चेभ पैदा हुने र त्यो प्रवृत्तिको वर्चस्व कायम हुने स्थिति बन्दैन । यो सैद्धान्तिक–वैचारिक छलफल गर्न नयाँ पत्रिका दैनिकको यो स्थान अपर्याप्त छ । तर, यो सैद्धान्तिक–वैचारिक बहसमा कुनै न कुनै समय कम्युनिस्ट आन्दोलनले प्रवेश गर्नैपर्छ । यसमाथि प्रश्न उठाउनु हुँदैन, यसलाई लागू पनि गर्न पर्दैन भनिएको जनताको बहुदलीय जनवादमाथि पनि गम्भीर छलफल हुनेछ । हामीले एक्काइसौँ शताब्दीमा जनवादको विकासजस्तो कार्यक्रम पनि ल्याएका थियौँ भनेर त्यसलाई फर्केर पनि नहेर्ने, त्यसको अभ्यास पनि बिल्कुल नगर्ने नेतृत्वलाई पनि भविष्यमा कठघरामा उभ्याइनेछ र त्यो दस्तावेजउपर विहंगम छलफल हुनेछ । 

नेपालका आकारमा ठूला कम्युनिस्ट पार्टीहरूले लामो समयदेखि समाजवादी कार्यदिशा र कार्यक्रमलाई पुस्तकमा सीमित राखेर व्यवहारमा नवउदारवादी पुँजीवादको विनाकुनै संकोच अनुसरण गरेको यथार्थलाई ढाँटेर ढाँट्न सकिन्न । यसैले गर्दा हो कि पटक–पटक सत्ता र सरकारमा पुगेका नेताहरूले मजदुर र किसानको पक्षमा एउटासम्म पनि उल्लेखनीय काम गर्न सकेनन् । चुनावताका मजदुर र किसानको कुरा गर्ने, चुनाव सकिएपछि कर्पोरेट घरानाहरूको संगत, संश्रय र पालनपोषणमा समय बिताउने व्यवहारको विस्फोटक अभिव्यक्तिका रूपमा अहिलेको सत्ताअपहरणलाई बुझ्नु मुनासिब हुन्छ । कुरा मजदुर किसानको गर्ने, सेवा दलाल पुँजीपति वर्गको गर्ने परिपाटीले दुर्घटनामा पु¥याउनु त निश्चित नै थियो । त्यसैले अहिलेको प्रतिक्रान्तिलाई प्रतिक्रान्तिभित्रको प्रतिक्रान्तिका रूपमा संश्लेषित गर्नु माक्र्सवादसम्मत हुन्छ । 

हामी नेपालका कम्युनिस्टले जनताको पंक्तिलाई ढाँट्दै र आधारभूत वर्गलाई अलमल्याउँदै आँखा चिम्लिएर नवउदारवादी पुँजीवादलाई समर्थन गरे पनि पुँजीवाद कार्ल माक्र्सले भनेको स्थायी संकटको भूमरीमा पटक–पटक परिरहेछ । अहिले त त्यो अभूतपूर्व संकटमा जेलिएको छ । पहिले–पहिले कामदार वर्गको आन्दोलनको चापमा पुँजीवादीहरू अनुदार बन्दै जान्थे, चाप थाम्न नसक्दा सहुलियतहरू दिएर सम्झौता गर्ने गर्थे । आजको पुँजीवाद पुँजीवादी गुटहरूबीच चल्ने मैत्रीपूर्ण प्रतिस्पर्धालाई पनि सहन गर्न नसक्ने अवस्थामा झरेको छ । परिणामस्वरूप कुनै समय जात, धर्म, राज्य आदिको सिमाना भत्काउँदै हिँड्ने पुँजीवाद कहीँ जातको नाममा, कहीँ धर्मको नाममा, कहीँ सभ्यताको नाममा शासन चलाउन उद्यत् छ । यो चुनौतीविहीन भने छैन ।

संयुक्त राज्य अमेरिकामा वृद्ध बर्नी स्यान्डर्सका पछि लागेका युवाहरूले यसको करङ भाँचेका छन् भने ल्याटिन अमेरिकामा वामपन्थीहरूले यसलाई चुनौती दिइरहेका छन् । नेपालमा पुँजीवादको यो संस्करणले एकातिरबाट नेकपाभित्रका असहमत स्वरहरू र अर्कातिरबाट लोकप्रिय जनतन्त्रको पक्षमा रहेको विशाल जनमतको दबाब महसुस गरिरहेको थियो । असहिष्णु नवउदारवादी पुँजीवादका नेपाली तथा नेपालमा सरोकार राख्ने विदेशी दलालहरूले यो बढ्दो दबाबबाट जोगिन भावी परिणामहरूप्रति बेपरवाह एउटा बतुरो तर औसत क्षमता भएको पात्रलाई अहिले नायकको भूमिकामा उतारेको छ । महेन्द्र, ज्ञानेन्द्रले चालेको प्रतिगमनकारी चाललाई बहादुरीपूर्वक मात दिने नेपाली जनताले यो पछिल्लो प्रतिगमनलाई धुलिसात पार्ने कुरा सुनिश्चित छ । तथापि, केही समय नेपाली जनताले अनिश्चिय र कष्टका साथ बिताउनुपर्ने कुरा भने साँचो हो । 

संगठनात्मक रूपमा नेपाल कम्युनिस्ट पार्टी अहिले दुई विद्वेषी शिविरमा बाँडिएको छ । तीमध्ये सरकारी शिविर दार्शनिक रूपमा आदर्शवादी एकत्ववादद्वारा निर्देशित छ । अर्थात्, एक आराध्यदेव नै त्यहाँ अन्तिम सत्य हुन् । यो एकेश्वरवादी शिविरमा माक्र्सवाद, लेनिनवाद, समाजवाद, द्वन्द्ववाद, भौतिकवाद आदि जस्ता विषयमा बहस र छलफल गर्नुपर्ने कुनै टन्टा बाँकी छैन । सिद्धान्त, विचारधारा, कार्यक्रम, नेतृत्व आदि सबै विषय महामना केपी ओलीमा समाहित छ । यति हुँदाहुँदै पनि जसरी इस्लामभित्र सिया र सुन्नी, हिन्दूभित्र निरंकारी र सनातनी, इसाईभित्र क्याथोलिक र प्रोटेस्टेन्ट आदि सम्प्रदाय पैदा भए जस्तै यहाँ पनि कामरेडवादी र ‘बा’वादी दुई सम्प्रदाय अहिले नै पैदा छन् । कामरेडवादी सम्प्रदायमा झापा संघर्षका ओली, बन्दी जीवन बिताउने ओली सम्झेर उनलाई कामरेड ठान्ने हुस्सुहरू पर्छन् भने अर्को सम्प्रदायमा जेलबाट रिहाइपछि अचम्मसँग उनमा विकसित भएको सर्वज्ञानको मेसो बुझेका चतुर ‘बा’वादीहरू पर्छन् ।

अर्को शिविर भने लथालिंग अवस्थामा छ । लामो समयदेखि निर्विघ्न रूपमा चलेको वर्गसंघर्षविरोधी एउटै स्कुलिङका उत्पादन भएका कारण एकथरी मानिस उता ओली छन् भने यता पनि त्यस्तै विराट कायाको नेता उभ्याउनुपर्छ भन्ने ध्याउन्नमा सक्रिय छन् । यस्तो चाहना गर्ने यही शिविरभित्र मात्र छैनन्, अर्को शिविरका शिविराधीश ओलीजी चाहन्छन् कि उनको शिविर उनको नाममा चले जस्तै उनैले छुट्टिन बाध्य गराएको शिविर पनि कुनै नामधारीको नाममा चलोस् । नेकपा यो गलत चिन्तनबाट अविलम्ब मुक्त हुनुपर्छ । अन्यथा, यहाँ तेत्तीसकोटी देवताहरूको उदय हुनेछ र पार्टी २०१८ सालपछिको स्थितिमा छरिनेछ । त्यसैले नेकपाले विचारविहीन आकाशमा कावा खेल्न छोडेर भौतिकवादी एकतत्ववादलाई दार्शनिक आधार बनाउँदै राजनीतिक रूपमा बहुलता र संगठनात्मक रूपमा सामूहिक नेतृत्वको अभ्यास थाल्नुपर्छ । यसका निम्ति प्रसिद्ध कवि फैज अहमद फैजको कवितामा वर्णित ‘काबेका बुतहरू’को हालतमा रहेको स्थायी कमिटीले आफूलाई जीवित साबित गर्नुपर्छ । 

ओलीले पुस ५ मा चालेको कदम पार्टीभित्र चल्दै आएको ठूलो–कुर्सी सानो–कुर्सी खिचलोको एउटा नयाँ कडी मात्र ठानिरहेका नेकपाका कार्यकर्तालाई ओली शिविरले चालेको यो कदम प्रतिगमन हो भन्ने बुझाउन जरुरी छ । ओली शिविरको यो कदमपछि राजवादीमा उत्साह पैदा भएको छ । छिमेकी खुसीले गजक्क फुलेको छ ।
 

वैचारिक रूपमा भने नेकपामा दुई जोड आधा अर्थात् अढाई लाइनहरू पुतपुताउन थालेका छन् । आधा लाइन भनेर मैले ठूला कदका नेताहरूको असंलग्न अडानतर्फ संकेत गरिरहेको छैन । एकताको मध्यकालदेखि नै सुरु भएको नेताहरूको स्वार्थलम्पट कचकच सुनेर उद्विग्न बनेका लाखौँ कार्यकर्ता र समर्थकहरूको हालको मनोभावलाई मैले आधा लाइनको रूपमा बुझ्ने कोसिस गरेको हुँ । यसो त कम्युनिस्ट संसारबाहिरको समाज पनि अढाई लाइनमै विभाजित छ । सडकमा धकेलिएका सत्ताधारी दलका नेताहरू र प्रतिपक्षी दलका नेताहरू यो प्रतिगमनकारी घटनालाई नैतिक अरुचिका साथ खण्डन गरिरहेका छन् । अर्कोतिर राजतन्त्रसमर्थकलगायतका प्रतिगामी र पुनरुत्थानवादीहरू ओलीले चालेको कदमलाई अग्रगामी परिवर्तनको प्रक्रियाको समाप्तिको रूपमा स्वागत जनाइरहेका छन् । प्रतिपक्षी दलभित्र प्रजातान्त्रिक समाजवाद अझै भुलिनभ्याएका रामचन्द्र पौडेलजस्ता नेताहरू प्रतिगमनका विरुद्ध डट्ने कुरा गरिरहेका छन् भने नवउदारवादी पुँजीवादको चास्नीमा सम्भ्रान्त भइभ्याएका शेरबहादुरहरू प्रतिगमनकै सहभोजमा सहभागी हुन आतुर देखिन्छन् ।

ओलीले पुस ५ मा चालेको कदम पार्टीभित्र झन्डै दुई वर्षदेखि चल्दै आएको ठूलो कुर्सी सानो कुर्सीको खिचलोको एउटा नयाँ कडी मात्र ठानिरहेका नेकपाका कार्यकर्ताहरूलाई यो बुझाउन जरुरी बनेको छ कि ओली शिविरले चालेको यो कदम प्रतिगमन हो । ओली शिविरको यो कदमपछि राजतन्त्रवादीहरूमा उत्साह पैदा भएको छ । आवश्यकताभन्दा बढी हाम्रो भलो चाहने छिमेकी खुसीले गजक्क फुलेको छ । त्यो उत्साह र फुलाइ हेरेर मात्र पनि कम्युनिस्टहरूलाई स्पष्ट हुनुपर्ने हो, ओलीले प्रचण्ड, माधव आदिलाई तह लगाउने नाममा सत्तरी वर्षदेखिको हाम्रो संघर्षलाई कलंकित पारेका छन् र संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि तरबार चलाएका छन् । कुनै पनि चोट लाग्दा या ठक्कर खाँदा तत्कालै आलोमा धेरै दुख्दैन, समय बित्दै गएपछि पीडा बढ्दै जान्छ । अहिलेको सत्ताअपहरण पनि त्यस्तै नेपाललाई दीर्घकालसम्म दुःख दिने प्रकृतिको प्रतिगामी कदम हो । यो प्रतिगामी कदमका विरुद्ध दृढताका साथ डट्दै नेकपालाई क्रान्ति र परिवर्तनको महामार्गतिर अगाडि बढाउनु कम्युनिस्टहरूको जरुरी कार्यभार हो । यसका निम्ति नेकपाभित्र आधा लाइनलाई समेत समेट्ने तेस्रो लाइनको जन्म हुनु आवश्यक छ । 

प्रतिगमनपछि नेकपाका नेताहरूबाट व्यक्त विचारहरूमा आत्मसमीक्षाको पाटो अनुपस्थित छ । दुवै शिविरका नेताहरूबाट व्यक्त भएका विचारहरूमा पढ्दै तथा सुन्दै घिन लाग्ने खालको आत्मप्रशंसा सुन्न र पढ्न हामी बाध्य छौँ । ‘ओलीले हामीलाई यो–यो मितिमा यो–यो प्रकारले हेप्दा पनि पार्टी एकताका निम्ति हामी सहेर बस्यौँ ।’ यो भनाइले त आत्मसमीक्षा वा आत्मालोचनाको स्पिरिटलाई होइन, धन्यवाद र प्रशंसाको माग गर्छ । अर्कोतिर ओलीजी फलानो–फलानो नेताको निजी र नाजायज मागहरूलाई समेत मैले यो–यो मितिमा यसरी–यसरी पूरा गरिदिएँ भनेर आफ्नो महानता बघारेको बघारेकै छन् । 

प्रथम जरुरी कुरो नेकपा आत्मश्लाघाको रोगबाट मुक्त हुनुपर्छ । नेकपाले आधारभूत वर्गसँग अर्थात् नेपालका मजदुर किसानसँग आफू सत्ता र सरकारमा रहँदा त्यो वर्गको पक्षमा नीति र कार्यक्रम ल्याउने चेष्टासमेत नगरेकोमा माफी माग्नुपर्छ । विभिन्न तहको नेतृत्वले पार्टीका कमिटीहरूमा उपस्थित भएर पार्टीको नीति र मर्यादालाई कुल्चेर पार्टीको गरिमामा आँच आउने व्यवहारहरू भएकोमा कठोर आत्मसमीक्षा गर्नुपर्छ । आगामी कार्यदिशा र कार्यक्रम सुनिश्चित गर्न व्यापार–व्यवहारका आफन्तहरू होइन, योग्य साथीहरू सम्मिलित विभिन्न मस्यौदा समिति बनाउनुपर्छ । पार्टीका निम्ति वैचारिक, संगठनात्मक, सांस्कृतिक कार्यदिशासम्बन्धी दस्तावेज तयार गर्नुसँगै मुलुकका निम्ति विकास रणनीति तय गर्न पार्टीबाहिरको ज्ञान र सूचनासमेत प्राप्त हुने खालको संयन्त्र तयार गर्नुपर्छ । त्यसरी तयार भएका मस्यौदालाई पार्टीले टोल–टोलसम्म छलफलमा लैजानुपर्छ । किसान मजदुरसँग नयाँ करारनामा, त्यो पूरा गर्ने नयाँ कार्यशैली र कार्यक्रम, उत्पीडित वर्गको पक्षमा ती कार्यक्रम लागू गर्न सक्ने नयाँ नेतृत्वलाई जनतासमक्ष प्रस्तुत गरेपछि मात्र पार्टीले जनताको विश्वास आर्जन गर्न सक्नेछ । 

कम्युनिस्ट पार्टी आफ्नो ऐतिहासिक दायित्वबाट चुक्यो भने फ्रान्सकी विख्यात क्रान्तिकारी म्याडम रोंलाले गुलेटिनमा काटिनुभन्दा पूर्व भनेका यी भनाइ नेपालमा पनि चरितार्थ हुनेछ । ‘हे स्वतन्त्रता तेरो नाममा कति धेरै अपराधहरू हुन्छन्’ अर्थात् जनताले लामो समयसम्म कष्ट व्यहोर्नुपर्नेछ । नेपालको लोकतान्त्रिक भनिने पार्टीहरूसँगै कम्युनिस्ट पार्टी पनि कलंकित हुनेछ । कष्टको समय केही बढ्ला, जनताले थप केही बलिदान गर्नुपर्ला, तर प्रतिक्रान्तिलाई क्रान्तिद्वारा प्रतिस्थापन गर्न नेपाली जनता सफल हुनेछन् । अन्तमा, कार्ल माक्र्सको यो भनाइ यो प्रसंगमा सान्दर्भिक हुने ठान्दछु ‘...यी समस्याको समाधान ऐतिहासिक–दार्शनिक सिद्धान्तहरूद्वारा होइन, बरु ठोस परिस्थितिमा हरेक मामलाको अनुभवजन्य विश्लेषणबाट गरिनेछ ।’