मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १० शनिबार ०६:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस किन चाहँदैन संयुक्त आन्दोलन ? 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १० शनिबार ०६:४०:००

सहमहामन्त्री डा. प्रकाशशरण महत भन्छन्, ‘आज पनि नेकपा सरकारमा छ, एउटा गुटले आन्दोलनको नेतृत्व गर्नुस् भनेको हो । भोलि रातारात उहाँहरू मिल्नुहुन्छ, हामी किन जोकर बन्ने ?’ 

प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्न अन्य दलहरूले प्रस्ताव गरे पनि कांग्रेस त्यसको नेतृत्व गर्न तयार भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले ६ पुसमै प्रतिनिधिसभा विघटन र त्यसको प्रतिरोधका विषयमा नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरूसँग छलफल गरेका थिए । छलफलको निष्कर्ष थियो, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ, त्यसका विरुद्ध संयुक्त प्रतिरोध गर्न पार्टीभित्र छलफल गरेर अघि बढ्ने ।’ तर, एक महिना बितिसक्दा पनि दलहरूबीच संयुक्त संघर्षको साझा एजेन्डा तय भएको छैन । खासगरी कांग्रेस संयुक्त आन्दोलनको पक्षमा देखिएको छैन । 

कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टीले भिन्दाभिन्दै आन्दोलनका कार्यक्रम गरिरहेका छन् । अलग–अलग आन्दोलनले दबाब नपुग्ने भन्दै प्रचण्ड–नेपाल समूह र जसपाका नेताहरूले सार्वजनिक रूपमै कांग्रेसलाई संयुक्त आन्दोलनको नेतृत्व गर्न आग्रह गरिरहेका छन् । 

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई गत बुधबार उनकै निवासमा पुगेर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा संयुक्त आन्दोलनसहित त्यसपछिको राजनीतिक समीकरणको समेत नेतृत्व गर्न प्रस्ताव गरेका थिए । त्यसवेला प्रचण्डले अहिले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा आन्दोलनको नेतृत्व गर्न र संसद् पुनस्र्थापना भए वा नभए दुवै अवस्थामा प्रधानमन्त्री बनाउनेसम्मको अफर गरे पनि देउवाले अस्वीकार गरेका थिए । 

भेटमा देउवाले नेकपा विभाजनको आधिकारिकता खोजेका थिए । नेकपा फुटको विषयमा देउवापछि कांग्रेसकै अन्य नेताहरूले पनि प्रश्न उठाए । ‘सिटौलाजीहरूलाई म विश्वास दिलाउन चाहन्छु, हामीलाई धेरै शंका नगर्नुस्, अब ओलीजीसँग एकताको कुनै सम्भावना छैन,’ गत शुक्रबार कांग्रेस नेता कृष्णप्रसाद सिटौलासमेत सहभागी कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्ष नेपालले भनेका थिए । कार्यक्रममा नेपालले सिटौलालाई प्रतिनिधिसभा विघटनका विरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने घुमाउरो प्रस्ताव गरेका थिए । 

गत सोमबार जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्ने धारणा राखे । गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा भट्टराईले भनेका छन्, ‘प्रतिनिधिसभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानको रक्षा गर्न अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्छ ।’

तर, त्यही कार्यक्रममा वक्ता रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने संयुक्त आन्दोलनको औचित्य नरहेको बताए । ‘संविधानमा जे लेखेको छ, त्यसैका आधारमा अदालतले व्याख्या गर्नुपर्छ, अदालतले संविधानमा भएको व्यवस्थाभन्दा बाहिरबाट निर्णय लिन्छ भन्ने मलाई लाग्दैन, प्रधानमन्त्रीको खुसीमा संसद् विघटन गर्ने व्यवस्था संविधानमा छैन, त्यसैले हामीलाई विश्वास छ, अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई बदर गर्छ,’ सिटौलाले भने । अदालतको निर्णयपछिको परिस्थिति हेरेर कांग्रेसले अर्को रणनीति बनाउने सिटौला बताउँछन् । ‘धेरै लामो छलफल गर्नुपर्ने विषय नै छैन, अदालतले छिटो निर्णय दिनुपर्छ,’ नयाँ पत्रिकासँग कुरा गर्दै सिटौलाले भने, ‘नेकपाको कारण देश यो अवस्थामा पुगेको छ, अनि नेकपासँग मिलेर आन्दोलन गर्ने कसरी हुन्छ ?’ 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने कांग्रेसले सर्वोच्च अदालतको निर्णय पर्खिने बताउँछन् । ‘कांग्रेसले आफ्नो धारणा राखिसकेको छ, अब सर्वोच्च अदालतले के भन्छ ? मत नमिले पनि सर्वोच्चको निर्णय मान्नुको विकल्प छैन । पुनस्र्थापना भयो भने सदनभित्र ठाउँ खोज्ने हो, नभए समयमा चुनाव हुने कुरामा कांग्रेसले जोड दिन्छ,’ महतले भने । सहमहामन्त्री डा. महत प्रचण्ड–नेपाल समूह र अन्य दलसँग सहकार्य गरेर आन्दोलनको सम्भावना देख्दैनन् । ‘आजसम्म पनि नेकपा सरकारमा छ, एउटा गुटले आन्दोलनको नेतृत्व गर्नुस् भनेको हो । भोलि रातारात उहाँहरू मिल्नुहुन्छ, हामी किन जोकर बन्ने ?’ महतले प्रश्न गरे । 

७ पुसबाट सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूबीच आन्दोलन गर्ने कि नगर्ने भन्नेमै विवाद भएको थियो । आन्दोलनको एजेन्डाका विषयमा समेत विवाद गर्दै १३ पुसमा आन्दोलनमा होमिएको कांग्रेसले २५ पुसमा प्रादेशिक निर्वाचन क्षेत्र र ३ माघमा सात सय ५३ वटै स्थानीय तहमा समेत प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेको छ । ८ माघमा वडास्तरबाट विरोध प्रदर्शन गरेको छ । 

अब आन्दोलनको मोडालिटी कस्तो हुन्छ त ? प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘अदालत र निर्वाचन आयोगको निर्णय के आउँछ ? त्यसले पनि अगाडि के गर्ने भन्ने मार्गदर्शन गर्छन् । तर, अब जे गर्छ, कांग्रेस आफ्नै क्षमतामा गर्छ ।’ ज–जसले आन्दोलन गरे पनि त्यसले दबाब पुग्ने ठाउँ एकै भएको शर्मा बताउँछन् । ‘अहिले हामी प्रचण्ड–नेपालसँग किन जाने ? उहाँहरूकै दल सरकारमा छ, उहाँहरूकै नेतृत्वमा ठूला–ठूला भ्रष्टाचारका काण्ड भएका छन् । हिजो हाम्रा छोरीहरू किन बलात्कृत भइरहेका छन् भन्दा विदेशमा यहाँभन्दा धेरै बलात्कार भइरहेको छ भन्ने उदाहरण दिने गृहमन्त्री उहाँहरूकै हुन् । त्यसवेला माधव नेपाल र प्रचण्ड उहाँहरूसँगै हुनुहुन्थ्यो, त्यसैले अहिले उहाँहरूसँग मिलेर आन्दोलनको नेतृत्व गर्ने कुरा सम्भव नै छैन,’ प्रवक्ता शर्माले भने । कांग्रेसको केन्द्रीय समितिको बैठक १३ माघका लागि बोलाइएको छ । आगामी कार्यक्रम र पार्टीको भावी रणनीतिबारे बैठकले निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।