मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मुस्तफा बरघोथी
२०७७ माघ ९ शुक्रबार ०६:२३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायलको विभेदकारी खोप कार्यक्रम

Read Time : > 2 मिनेट
मुस्तफा बरघोथी
२०७७ माघ ९ शुक्रबार ०६:२३:००

प्यालेस्टिनीहरूलाई खोप कार्यक्रमबाट बाहिर राखेर इजरायलले हर्ड इम्युनिटी प्राप्त गर्न सक्दैन

इजरायलले तीव्र गतिमा कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैकारण उसले विश्वमै सबैभन्दा उच्च दरमा आफ्नो जनसंख्यामाझ खोप पुर्‍याउन सफल भएको छ । इजरायलको खोप अभियानलाई विश्वमै अत्यन्त प्रभावकारी भनेर उदाहरणीय रूपमा लिइरहेको छ । तर, कोरोना भाइरसविरुद्ध इजरायलको सफल खोप कार्यक्रममा एक गम्भीर अँध्यारो पक्ष रहेको छ । इजरायलको नियन्त्रणमा रहेका भूभागमा बसोवास गर्ने झन्डै ५० लाख प्यालेस्टिनी यस खोप कार्यक्रमबाट बाहिर राखिएका छन् । 

केही महिनाभित्रै आफ्ना सबै नागरिकलाई खोप लगाउने इजरायलको योजना छ । तर, यसक्रममा उसले वेस्ट बैंक र गाजामा बसोवास गर्ने प्यालेस्टिनीहरूलाई छुटाएको छ । प्यालेस्टिनीहरूको बसोवास रहेको गाजा र वेस्ट बैंक कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको छ । यी दुई क्षेत्रमा मात्रै एक लाख ६५ हजार नौ सयजना भाइरसबाट संक्रमित छन् भने १७ सय ५६ को मृत्यु भएको छ । दैनिक १८ सय नयाँ केस देखिइरहेको छ । यस भेगमा भएको कुल परीक्षणमध्ये ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जबकि इजरायलमा यो दर ७.४ प्रतिशत मात्रै छ । 

इजरायलमा अहिले संक्रमणको नयाँ लहर देखिएको छ । सरकार यस लहरलाई नियन्त्रणमा ल्याउन संघर्ष गरिरहेको छ । तथापि, जनवरीको अन्तिमसम्म उसले २५ प्रतिशत जनसंख्या र मार्चको अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने तयारी गरेको छ । इजरायली खोप कार्यक्रममा वेस्ट बैंकमा बसोवास गर्ने ६ लाख इजरायली पनि समावेश गरिएका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार उनीहरू अनधिकृत रूपमा त्यस भूभागमा बसिरहेका हुन् । इजरायलले जेलका गार्डका लागि खोपको व्यवस्था गर्दा हजारौँ प्यालेस्टिनी कैदीका लागि भने छुटाएको छ । इजरायली नागरिकतावाहक अरबी नागरिक भने खोप कार्यक्रममा छुटेका छैनन् ।

इजरायलले ओस्लो सम्झौताअनुसार महामारीको समयमा प्यालेस्टिनीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । त्यस आधारमा उसलाई वेस्ट बैंक र गाजालाई खोप आपूर्ति गर्ने नैतिक जिम्मेवारी छ । विश्व स्वास्थ्य संगठन तथा प्यालेस्टिनी आथोरिटीले कोरोना भाइरसको समयमा फ्रन्टलाइनमा काम गर्ने श्रमिकका लागि दश हजार खोप प्रदान गर्न इजरायललाई आग्रह गरेका छन् । त्यो माग पनि पूरा गरिएको छैन । तत्कालै खोप नआउने थाहा पाएपछि प्यालेस्टाइन अब विदेशी नियोग तथा कम्पनीमाथि निर्भर भएको छ । तर, भावी दिनमा वेस्ट बैंक तथा गाजा क्षेत्रले खोप पाएपछि पनि तिनको खोप कार्यक्रम इजरायलको भन्दा निकै सुस्त हुनेछ । अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनको गठबन्धन कोभ्याक्सले दिने वाचा गरेको खोप पनि फेब्रुअरीको अन्तिमसम्म आउने देखिँदैन । र, उक्त खोप अप्रिलसम्ममा तीन प्रतिशत जनतालाई मात्र दिइनेछ र बाँकी किस्ताको खोप वर्षभरि दिइनेछ । 

प्यालेस्टिनी अथोरिटीका स्वास्थ्यमन्त्रीले अक्सफोर्ड–एस्ट्राजेनेका र रुसको स्पुतनिक–भी खोपका ५० हजार डोज भित्र्याउने प्रयास थालेका छन् । तर, यी खोप तत्कालै आउने छैन । इजरायलले वेस्ट बैंक र गाजा क्षेत्रमा बसोवास गर्ने प्यालेस्टिनीहरू आफ्नो स्वास्थ्यका लागि आफैँ जिम्मेवार रहेको बताएको छ । उनका अनुसार वेस्ट बैंक क्षेत्रको प्रशासक प्यालेस्टिनी अथोरिटी भएकोतर्फ औँल्याइरहेको छ । 

तर, यथार्थमा वेस्ट बैंक र गाजा क्षेत्र इजरायल र उसको सेनाको नियन्त्रणमा छन् । सिमाना, भन्सार तथा हवाई क्षेत्रको नियन्त्रण प्यालेस्टिनी अथोरिटीको हातमा छैन । वेस्ट बैंक कैयौँ पर्खाल, चेकप्वाइन्ट र इजरायली बसोवासका कारण यति धेरै खण्डित छ कि जम्मा ३८ प्रतिशत भूभागमा मात्र प्यालेस्टिनी अथोरिटीको शासन छ । गाजाको हवाई, समुद्रलगायत सिमानामा पनि इजरायलकै नियन्त्रण छ । जेनेभा सन्धिअनुसार नियन्त्रणकारी शक्तिले ‘राष्ट्रिय र स्थानीय निकायसँग सहकार्य गरेर संक्रमणात्मक रोग तथा महामारीको विस्तार नियन्त्रण गर्न कदम चाल्नुपर्छ ।’

प्यालेस्टिनी भूभागमाथिको इजरायलको आर्थिक तथा भौगोलिक नियन्त्रणले ठूलो असमानता तथा विभेद निम्तिएको छ । सन् २०१८ मा प्यालेस्टिनी भूगोलका प्रत्येक प्यालेस्टिनीमाथि औसतमा ३४४ डलर स्वास्थ्यसम्बन्धी खर्च भएको थियो । जबकि सो समय इजरायलीहरूमाथि ३,३२४ डलर खर्च भएको थियो । प्रतिदिन वेस्ट बैंकको स्वास्थ्य सेवा प्रणालीले थेग्न नसक्ने हो कि भन्ने डर बढ्दै गएको छ । २० लाख प्यालेस्टिनीको बसोवास रहेको गाजाको स्थिति झनै खराब छ । केही अघि नै अस्पताल बिरामी थेग्न नसक्ने अवस्थामा पुगिसकेका थिए । हुन त गाजाका अस्पतालले अत्यन्त आवश्यक अक्सिजन पाइरहेका छन्, तर तिनले कोभिड–१९ का बिरामीका लागि अत्यावश्यक औषधोपचार तथा उपकरण पाइरहेका छैनन् । 

इजरायली नागरिकलाई मात्र खोप उपलब्ध गराउने इजरायली सरकारको निर्णय अनैतिक तथा अन्यायपूर्ण मात्र होइन, उसकै लागि घातक पनि छ । प्यालेस्टिनीलाई खोप नलगाई उसले हर्ड इम्युनिटी हासिल गर्न सक्नेछैन । इजरायल र इजरायल अधीनस्थ वेस्ट बैंक क्षेत्रमा एक लाख ३० हजारभन्दा बढी प्यालेस्टिनी काम गर्छन् । हजारौँ इजरायली नागरिक वेस्ट बैंकमा आउजाउ गर्छन् भने अधीनस्थ प्यालेस्टिनी क्षेत्रमा सैन्य क्रियाकलापमा उनीहरूको उल्लेख्य उपस्थिति हुन्छ । हामीले मेडिकल डिग्री हासिल गर्ने वेलामा उपचारका क्रममा कसैलाई भेदभाव नगर्ने शपथ लिने गर्छौं । चिकित्सा क्षेत्र र चिकित्सकीय सेवामा कुनै बिरामीलाई वञ्चित गर्न सक्दैन । यस्तो शैलीले चिकित्सकीय पेसाको मूल्य मान्यतालाई उल्लंघन गर्छ । साथै, यसले सबैलाई हानि पनि पुग्छ । इजरायलीहरू पनि यसबाट चोखो रहनेछैनन् । 

डा. मुस्तफा बरघोथी चिकित्सक हुन् तथा प्यालेस्टाइनका पूर्वमन्त्री हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य