१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ८ बिहीबार ०७:०८:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

ट्रम्पको बहिर्गमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ८ बिहीबार ०७:०८:००

विश्वको अर्थतन्त्र, राजनीति र सामरिक सम्बन्धलाई एक्लै प्रभावित पार्ने र सन् १९४५ पछिको विश्वको मुख्य शक्तिकेन्द्रका रूपमा रहेको संयुक्त राज्य अमेरिकाका ४५औँ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प हिजोदेखि भूतपूर्व भए । उनको चारवर्षे कार्यकाल अनेक विवादास्पद कार्यले भरिएको छ । उनले खुला बजार अर्थतन्त्रको अमेरिकी पहललाई अस्वीकार गर्दै संरक्षणवादी नीति अँगाले, त्यसको पहिलो सिकार प्रशान्त महासागर आरपारका देशहरूको व्यापारिक सन्धि बन्यो । उनले चीनलाई व्यापारिक युद्धमा लतारेर ल्याए र गएको दुई वर्षदेखि दुई देशबीचको व्यापारिक तथा राजनीतिक सम्बन्धलाई तनावमा धकेले । इरानसँग ओबामाकालमा भएको आणविक सम्झौता भंग गरे र मध्यपूर्वमा स्थायी तनावको अवस्था सिर्जना गरिरहे । त्यसभन्दा खराब विश्वको जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी भएको पेरिस सम्झौताबाट अमेरिकालाई अलग गराए । 

एउटा जातिवादी, पुरुषवादी र अनैतिक शासकका पदचिह्न छाडेर ट्रम्पले बिदाइ लिएका छन् । राष्ट्रपति ट्रम्पको कार्यकाल लम्पट र बौलठ्ठी व्यक्तिहरू कसरी निर्वाचनकै माध्यमबाट सत्तामा पुग्छन् र लोकतन्त्रको हुर्मत लिन्छन् भन्ने विश्वका लागि उदाहरण बनेको छ ।
 

विश्व स्वास्थ्य संगठनलगायत कतिपय बहुपक्षीय संस्थाबाट अमेरिकालाई अलग गराए । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने, आप्रवासीहरूलाई ठाडै ललकार्ने ट्रम्पले अमेरिका पहिलो भन्ने नारा त लगाए, तर विभाजित अमेरिकाको नेता बन्न अन्तिम समयसम्म प्रयास गरे । र, अन्ततः अमेरिकी प्रजातन्त्रलाई विश्वभर बदनाम गराए । उनले निर्वाचनको प्रक्रिया, निर्वाचन परिणाम मात्र अस्वीकार गरेनन्, बरु अमेरिकी संसद्मा आफ्ना समर्थकको भिडलाई आक्रमणमा उत्रन लगाए र अन्तिममा आफ्ना उत्तराधिकारी बनेका राष्ट्रपति बाइडेनको शपथग्रहण कार्यक्रमसमेत बहिष्कार गर्ने तहमा पुगे । उनी एउटा अशिष्ट, अलोकतान्त्रिक, अनुदार राष्ट्रपतिको छवि बनाएर हिँडे । उनले एकै कार्यकालमा दुईपटक महाभियोग प्रस्तावको सामना पनि गरे । उनकै कार्यकालमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले अमेरिकालाई नै सबैभन्दा बढी आक्रान्त पा¥यो । कोरोनालाई केही होइन भन्दै मास्क लगाउन अस्वीकार गर्ने उनकै नीतिका कारण चार लाखभन्दा बढी अमेरिकीको ज्यान गइसकेको छ । 

एउटा जातिवादी, पुरुषवादी र अनैतिक शासकका पदचिह्नहरू छाडेर ट्रम्पले बिदाइ लिएका छन् । राष्ट्रपति ट्रम्पको कार्यकाल लम्पट र बौलठ्ठी व्यक्तिहरू कसरी निर्वाचनकै माध्यमबाट सत्तामा पुग्छन् र लोकतन्त्रको हुर्मत लिन्छन् भन्ने विश्वका लागि उदाहरण बनेको छ । ट्रम्पलाई पछिल्लो समयमा विश्वव्यापी रूपमा एउटा प्रवृत्तिका रूपमा विकास भएको लोकप्रियतावादी शासकहरूको उदयको उत्कर्षकाल मान्न सकिन्छ । अर्थराजनीतिक दृष्टिले नवउदारवादी विश्व व्यवस्थाको संकटका रूपमा हेरिएको उनको उदयले एकातिर अमेरिकी नेतृत्वमा जारी विश्व व्यवस्थालाई थप संकटग्रस्त बनाएको छ । अर्कोतिर स्थापित उदारवादी व्यवस्थाको दीर्घायु र अर्थवत्तामाथि प्रश्न उठ्ने वातावरण बनेको छ । 

उनले अमेरिकाको उदारवादी राजनीतिक व्यवस्था सबैका लागि र सधैँका लागि काम लाग्ने विकल्प होइन भन्ने स्थापित गराउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर अमेरिकी लोकतन्त्रको शक्ति क्षीण गराउने काम मात्रै गरे । उनको कार्यकाललाई अमेरिकाको शक्ति कमजोर हुने र उसको ठाउँ चीनले लिने एउटा ऐतिहासिक प्रक्रियाको घुम्ती मानिएको छ । यसका लागि उनका नीतिहरू मुख्य रूपमा जिम्मेवार हुने मानिएको छ । हिजोदेखि सत्ता सम्हालेका नवनिर्वाचित राष्ट्रपति बाइडेनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई निरन्तरता दिने घोषणा गरे जस्तै उनको समयमा कमसेकम विश्वका बहुपक्षीय संस्थाहरूमा अमेरिकाको सहभागिता हुने अपेक्षा गर्न सकिन्छ ।