मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:४६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उखु किसानको ८ करोड मात्र भुक्तानी दिन बाँकी रहेको उद्योग मन्त्रालयको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:४६:००

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको ८ करोड १ लाख रुपैयाँ मात्र बक्यौता दिलाउन बाँकी रहेको दाबी गरेको छ । मन्त्रालयले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी यो वर्षसम्म ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रहेकोमा ५७ करोड ३० लाख रुपैयाँ उद्योगीले भुक्तानी गरिसकेको बताएको छ । ‘अब ८ करोड १ लाख मात्र किसानहरूले भुक्तानी पाउन बाँकी छ,’ मन्त्रालयका सहसचिव नारायण रेग्मीले भने ।

उनका अनुसार रौतहटको श्रीराम सुगर मिलले ३५ करोड बक्यौतामध्ये सबै रकम तिरिसकेको छ । सर्लाहीको अन्नपूर्ण सुगर मिलले १७ करोड बक्यौतामध्ये १० करोड ८८ लाख रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको छ । थप १ करोड ७६ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न मिलको खातामा रकम जम्मा गरेको छ । अन्नपूर्णले खातामा जम्मा गरेको रकमसहित कुल १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिसकेको मन्त्रालयको दाबी छ ।

त्यस्तै, नवलपरासीको इन्दिरा सुगर मिलले ४ करोड ७० लाख रुपैयाँ दिनुपर्नेमा १ करोड ५० लाख रुपैयाँ दिएको र लुम्बिनी चिनी मिलले ८ करोड ४१ लाख रुपैयाँ दिनुपर्नेमा ५ करोड १६ लाख रुपैयाँ भुक्तानी दिएको मन्त्रालयको दाबी छ । सर्लाहीको महालक्ष्मी सुगर मिलले भने २० लाख रुपैयाँ दिन बाँकी रहेको र सो रकम भुक्तानी सुरु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका रेग्मीले किसानको बक्यौता असुलीमा क्रियाशील रहेको बताए ।

‘२०७६ पुस १८ भन्दाअगाडि उखु किसानको १ अर्ब ४० करोड रुपैयाँ बक्यौता थियो । यो वर्ष किसानहरूले आन्दोलन सुरु गर्दाको अवस्थामा ६६ करोड रुपैयाँमा सीमित रहेको थियो । किसानहरूले आन्दोलन गरेपछि उखु किसानहरूको हकहितमै लबिङ गर्दै चिनी मिल सञ्चालक र उखु किसानसँग वार्ता थालेका छौँ । यसबीच १३ गते सम्झौता गरिएको थियो । त्यसयता पनि निरन्तर रकम दिलाएर अहिले ८ करोडमा झरेको छ,’ उनले भने ।

उनले किसानको रकम दिलाउन मन्त्रालयको तर्फबाट जतिसक्दो धेरै प्रयत्न भइरहेको बताए । ‘अहिले ८ करोड १ लाख रुपैयाँ बाँकी छ । यसलाई भुक्तानी दिलाउन हामी क्रियाशील छौँ । किसानहरूको बैंक खाता नभएको, बैंक खाता अपडेट नभएको, किसानहरूलाई सम्पर्क गर्दा नआएकोलगायत समस्या छन् । यी समस्या हल गरेर चाँडोभन्दा चाँडो किसानको रकम भुक्तानी गर्न हामीले सिडिओ कार्यालयलाई आग्रह गरेका छौँ,’ रेग्मीले भने । मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले किसानको रकम उठाउन मन्त्रालयले अधिकतम पहल गरिरहेको बताए ।