मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडौं
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७७ माघ ७ बुधबार ०२:१९:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

स्वस्तिमाको आँखामा रंगमञ्चको रङ

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडौं
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७७ माघ ७ बुधबार ०२:१९:००

अनामनगरको मण्डला थिएटरमा मंगलबार विशेष कार्यक्रममा पत्रकारसँग सवाल–जवाफका क्रममा लेखक तथा पत्रकार नारायण वाग्ले भन्दै थिए, ‘यो (पल्पसा क्याफे) प्रेमकथा नै भन्छु । एउटा समयको प्रेमकथा हो ।’ यो पुस्तकलाई बुझ्न उनले पहिलेको समयमा फर्कन जरुरी रहेको बताए । यसअघि उनको भनाइ थियो, ‘मैले कहिल्यै पनि द्वन्द्वको कथा भनेको छैन ।’ तर, समीक्षकहरूले चाहिँ पल्पसा क्याफेलाई द्वन्द्वको कथा भनिदिएको उनले बताए । अक्सर पाठकहरूको पनि प्रतिक्रिया आउँछ, पल्पसा क्याफे द्वन्द्वकै कथा हो । प्रेम त छ, त्यसलाई ऊवेलाको परिस्थितिले थिचिदिएको छ । लेखकको आफ्नै तर्क, पाठक÷समीक्षकका आफ्नै तर्क । सायद, उपन्यासको सौन्दर्य नै यही हो । 

कस्तो लाग्यो त ‘पल्पसा क्याफे’ ? यही उपन्यासमाथि तयार भइरहेको नाटकमा पल्पसाको भूमिका निभाउँदै गरेकी अभिनेत्री स्वस्तिमा खड्कालाई सोधियो । उनको जवाफ थियो, ‘किताब पढ्दा जनयुद्धकालीन समयको चित्रांकन पाएँ ।’ अनि उपन्यासकी पात्र पल्पसामाथि कस्तो इमेज बनेको थियो ? ‘पल्पसाभन्दा पनि त्यो परिस्थितिको दृश्यांकन भयो,’ उनले भनिन् ।

पल्पसा क्याफेकी पल्पसाको अवतारमा देखिने अभिनेत्री स्वस्तिमाले यसअघि कहिल्यै प्रत्यक्ष रूपमा नारायण वाग्लेलाई भेटेकी थिइनन् । त्यही कार्यक्रममा भेट्ने अवसर जु¥यो । वाग्लेसँग प्रथम भेट हुँदाको अनुभव उनी यसरी साट्छिन्, ‘उहाँ मञ्चमा बोलिरहँदा उहाँले लेखेको किताब रिकल भइरहेको थियो । उपन्यासका ती अवस्था र परिवेशमा पुगिरहेकी थिएँ । अनि उहाँले नै लेख्नुभएको हो नि है भन्ने भइरहेको थियो ।’

०००

कक्षा ७ मा पढ्दा श्रव्यमार्फत छिचोलेकी थिइन् स्वस्तिमाले ‘पल्पसा क्याफे’ । पाना पल्टाएरैचाहिँ अलि ढिला पढिन्, तर तीनपटक । पहिलोपटक फेरि कथा छिचोल्न, दोस्रोपटक पात्रको दृश्यांकनका लागि, तेस्रोपटक कथाको सेटिङ बुझ्न । जसको कारण नाटकै थियो, जो नाट्यकर्मी विमल सुवेदीले निर्देशन गर्दै छन् । यसै उपन्यासको ‘पल्पसा’ बनेर स्वस्तिमा रंगमञ्चमा उत्रिँदै छिन् । तर, स्वस्तिमा पल्पसाको आँखाबाट मात्र जनयुद्ध अथवा नारायण वाग्लेकै शब्दमा त्यो समयलाई हेर्दै छैनन् । उनले के कसरी जनयुद्धलाई देखेकी थिइन् र महसुस गरेकी थिइन्, त्यो अनुभूति र बुझाइको रङ पनि पल्पसामा मिसाउँदै छिन् । 

जनयुद्धकालीन समयमा स्वस्तिमाले प्राथमिक तह पनि छिचोलेकी थिइनन् । त्यसवेलाको बालसुलभ बुझाइ अर्कै थियो उनको । जनयुद्ध उनका लागि त्रास थियो । भय थियो । बन्दुक र गोलीको कथा थियो । मान्छे मरेको खबर थियो । घरका ठूलाबडा, आफन्तहरूबाट सुनेकी जो थिइन् । सुनेको कुरालाई आफ्नै बालचेतले अथ्र्याएकी थिइन् । 

यस हिसाबले पनि अब पल्पसा नारायण वाग्लेको किताबकी पल्पसा मात्र रहनेछैनन् । यसमा स्वस्तिमा खड्का पनि मिसिनेछिन् । उनको जवाफले यही भनिरहेको थियो । पल्पसा र स्वस्तिमाबीच सेतुको काम निर्देशक विमलकै जिम्मामा छ । नाट्य रूपान्तरण गरेका लेखक सुरज सुवेदीकै काँधमा छ । यस समयकी स्वस्तिमा र त्यस समयकी पल्पसाको मिश्रित अनुहार नियाल्ने अवसर भने आउँदो वैशाखपछि मात्र जुर्नेछ । नाट्य लेखक सुरज र निर्देशक विमलले पल्पसालाई उपन्यासको पानाबाट बाहिर जो निकालेका छन् । 

‘रिडिङ... रिडिङ.... रिडिङ.... ।’

मात्र रिडिङ अर्थात् लगातार अध्ययन । रिसर्च रिडिङ, नाटकको स्क्रिप्ट रिडिङ, उपन्यास रिडिङ, पात्र र परिवेश अनि समय रिडिङ । यो बीचमा स्वस्तिमाले निरन्तर गरेको काम यही हो । अनि लगातार रिहर्सल । तर, अझै ‘प्रपर आउटलाइन’ (स्वस्तिमाकै शब्द) तयार भइसकेको छैन ।

यही अभ्यासबीच उनले बुझिन्, ‘नाटक त सिनेमाजस्तो नहुँदो रहेछ ।’ लगातारको अध्ययन । लगातारको अभ्यास । अन्तिममा लगातारको प्रस्तुति । त्यो पनि प्रत्येक दिन दर्शक साक्षी राखेर । रेकर्डेड अभिनय दर्शकको अघि हलमा पस्कने बानी लागेकी स्वस्तिमालाई दबाब र चुनौती महसुस त हुने नै भयो । एक टेक डन भएपछि हजारौँ दर्शकबीच नाटक जो पुग्दैन । ‘तर, चुनौती पनि मजा लागिरहेको छ,’ उनी मुस्कुराउँदै भन्छिन् ।

नाटक त नाटक भयो, तर सिनेमा ? के नेपाली सिनेक्षेत्रमा पनि यस्तै मिहिनेत हुन्छ ? उनको अनुभवले भन्छ, ‘हुँदैन । पक्का हुँदैन ।’ सिनेमाको प्रि–प्रोडक्सनमै ठूलो हेलचेक्र्याइँ भइदिन्छ । ठूलो गल्ती त्यहीँ भइदिन्छ । स्क्रिप्ट लक हुनुअघि धेरै काम उधारै हुन्छन् । उता स्क्रिप्ट लेखिरहेको हुन्छ लेखक, आधाउधी सकिएको पनि हुँदैन । यता सिनेमाको घोषणा हुन्छ । प्रदर्शन मिति पनि तय हुन्छ । सानो कुरा मात्र बिग्रँदैन, धेरै कुरा बिग्रिएर आउँछ । ‘तर, नाटकमा सानो कुरा भन्ने नै हुँदैन । सानो गल्ती भन्ने नै हुँदैन ।’

०००

सिनेमामा केही मिलेन भने ‘भोलि सेटमै मिलाऔँला’ भनेर काम थाती राखेका घटना स्वस्तिमासँग धेरै छन् । वर्कसपको कुरा आउँछ अचेल । तर, भनेजस्तो राम्रो हुँदैन, उनकै अनुभवले भन्छ । वर्कसप, प्रि–प्रोडक्सनमा समय दिने हो भने कलाकारबीच बन्डिङ हुन्छ, निर्देशकको आइडियाबारे छलफल हुन्छ, निर्माताको चाहनामाथि विमर्श हुन्छ । तर, यी सब दूरदूरकी बात भइदिने स्वस्तिमा खुलेर बताउँछिन् । ‘खासमा हामी सिनेमामा गम्भीर छैनौँ । सबै कुरालाई सहज रूपमा लिन्छौँ । हाम्रो सिनेमा बनाउने सबै प्रोसेस नै गलत भइरहेको छ,’ उनी भन्छिन् । 

मेकअप कलाकारसम्म आफ्नो काम र पेसाप्रति गम्भीर नभएको घटना यथावत् छँदैछन् । पेसा नै सिनेमा भएपछि पेसागत धर्म यथावत् भइजान्छ । तर, करोडौँ लगानी गरेका निर्मातासम्म कामप्रति गम्भीर नभइदिने गर्छन् । ‘कलाकारलाई त समय दिएर पेलेर राम्रो काम निकाल्नुपर्ने हो, त्यो हुँदैन,’ उनको गुनासो यस्तै छ, ‘डेडिकेसन नै छैन कसैको ।’ 

तर, स्वस्तिमाको छ त ? ‘कहिलेकाहीँ थोरै तयारी गर्छु, एकछिन समय लाग्छ भनेर सेटमा भन्यो भने दशथरी कुरा आइजान्छन् । यसलाई कुर्नुपर्छ भन्छन् । प्रोडक्सन कस्ट बढेको कुरा हुन्छ । त्यसपछि त्यही परिवेशभित्र नछिरी धरै हुन्न,’ लगातार बोलिरहन्छिन् उनी । तर, पल्पसा क्याफेमा सुरुवातमा स्वस्तिमाको ४५ मिनेटको सिन छ । डाइलग छन् । यसैमा घोत्लिरहेकी छिन् । उनलाई घोत्लन ऊर्जा र सहयोग गर्ने काम निर्देशक विमलले गरिरहेका छन् । 

विमल सन् २०१८ मा पोखरामा बेपत्ता पारिएका नागरिकको कथा सामूहिक रूपमा भन्न ‘प्ले मेकिङ वर्कसप’ मा सहभागी थिए । पीडित परिवारसँग भेटेर कथा सुने । नाटकमा उतारे ‘खबर हराएको चिठी’ नाम दिएर । मञ्चन गरे । तर, द्वन्द्वको विषय उठाउने चाहना अचानक बढेर आयो विमलमा । 

हुटहुटी चिर्न कथा खोजिबस्दा पल्पसा क्याफे विमलको हात प¥यो । नारायण वाग्लेले कार्यक्रममा भनेजस्तो विमललाई पल्पसा क्याफे प्रेमकथा मात्रै लागेन । सायद, द्वन्द्वकालीन समयको प्रेमकथा लाग्यो कि ! तर, विमल द्वन्द्वकालीन समयको कथा भन्न पल्पसा क्याफेतिर लागे । त्यही क्याफेमा दर्शकलाई नाटकको स्वाद दिलाउन स्वस्तिमा पनि लागिपरेकी छिन् । समापिका गौतम, साजनकुमार सुनुवार, जेनु सुनुवार, दिपेश राई, बच्चु हिमांशु, रामप्रसाद परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राई पनि कलाकारका रूपमा देखिँदै छन् । सुजन ओली, नवराज पराजुली, लेनिन बन्जाडे, रामप्रसाद बस्याल, रेनुका कार्की, रामप्रसाद परियार, राजेन्द्र श्रेष्ठ, देव न्यौपाने, आलोक लम्साल र अभिषेक गैरेहरू नेपथ्यबाट लागिपरेका छन् ।