मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ५ सोमबार ०८:३८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुमुखोला तोरीखेत सिँचाइ आयोजनाको विवाद टुंगियो

एक साताबाट निर्माण सुरु हुने

Read Time : < 1 मिनेट
२०७७ माघ ५ सोमबार ०८:३८:००

दोलखाको कालिञ्चोक गाउँपालिकामा निर्माण हुने भनिएको गुमुखोला तोरीखेत सिँचाइ आयोजनाको विवाद टुंगिएको छ । स्थानीय अवरोधका कारण दुई वर्षदेखि अलपत्र बनेको उक्त आयोजनामा शुक्रबार बसेको सर्वपक्षीय भेलाले विवाद समाधान गरेको हो । 

०७८ जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको आयोजना स्थानीयबीच कुरा मिल्न नसकेपछि अलपत्र बनेको थियो । शुक्रबार दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीसहित आयोजना निर्माणस्थलमा भएको भेलाले स्थानीयको आवश्यक मागको सम्बोधन गर्ने निर्णय गरेपछि आयोजना निर्माणको बाटो खुला भएको हो ।

भेलामा समन्वय समिति दोलखाका संयोजक डबल पाण्डे, कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी, उपाध्यक्ष कालिका पाठकलगायत लापिलाङ र सुनखानीका स्थानीयसहित सरोकारवाला सहभागी थिए ।

शुक्रबार आयोजना निर्माण हुने मुहान क्षेत्र गुमुखोलामा भएको भेलाले उपभोक्ता समिति पुनर्गठन गर्ने, दुवै क्षेत्रका स्थानीयसहितको समिति निर्माण गर्ने, आयोजनाको बीचबीचमा चेम्बर राख्नेजस्ता सहमतिसहित विवाद टुंगिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । आयोजनामा आवश्यक जनशक्ति क्षमताका आधारमा स्थानीयलाई नै प्राथमिकता दिइने, क्षति भएका संरचनाको मर्मत तथा निर्माण गर्नेजस्ता सहमति भएको कार्यालयका प्रमुख इन्जिनियर मनीष महर्जनले जनाएका छन् । 

कालिञ्चोक गाउँपालिका– ६ को पाटागाउँ, तल्लो लेप्टुङसहित वडा नम्बर ७ को झमार्सी, तोरीखेतलगायत ठाउँमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गर्न लागिएको उक्त आयोजना मुहान क्षेत्र र आसपासका स्थानीयबीच कुरा मिल्न नसकेपछि अलपत्र अवस्थामा थियो । ७.१ किलोमिटर लम्बाइ रहेको गुमुखोला तोरीखेत सिँचाइ आयोजनाको १६ सय मिटर क्षेत्रफलमा पाइप र बाँकी भागमा आरसिसी क्यानलको डिजाइन रहेको कार्यालयका इन्जिनियर नेत्रप्रसाद पौडेलले जानकारी दिए ।