१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ ५ सोमबार ०६:५०:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

बाइडेनको शपथग्रहण सामान्य हुने

अधिकांश कार्यक्रम भर्चुअल, १२ सयको मात्रै उपस्थिति रहने

Read Time : > 2 मिनेट
२०७७ माघ ५ सोमबार ०६:५०:००

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । ह्वाइट हाउसले ४६औँ राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रमबारे केही तथ्य सार्वजनिक गरेको छ । यसपटक शपथ कार्यक्रम पहिलाको जस्तो भड्किलो तथा भव्य हुनेछैन । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रम निकै सामान्य बनाइएको अमेरिकन एजेन्सीहरूले जनाएका छन् । कार्यक्रममा बढीमा १२ सयको उपस्थिति रहने डेमोक्रेटिक पार्टीले बताएको छ ।

ह्वाइट हाउस र डेमोक्रेटिक पार्टीको भनाइअनुसार बाइडेनको शपथ कार्यक्रम ७० देखि ८० प्रतिशतसम्म भर्चुअल हुनेछ । यसको तयारी सुरु भइसकेको डेमोक्रेटिक पार्टीका सांसद जेम्स क्लिबर्गले बताएका छन् । ‘हामी यसपटक लगभग ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल माध्यमबाट गछौँ,’ जेम्सले भने । सो दिन प्रत्येक राज्यको राजधानीमा फरक–फरक सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रममा फ्रन्टलाइनमा बसी काम गरेका र निधन भएका व्यक्तिहरूको स्मरण गरिनेछ । 

वासिंटन पोस्टले अघिल्लोपटकको शपथ कार्यक्रममा दुवै सदनका सांसदलाई दुई लाख टिकट वा पास दिने गरेको उल्लेख गरेको छ । जोसँग टिकट वा पास हुन्थ्यो, ती व्यक्ति सहजै शपथ कार्यक्रममा सहभागी हुन पाउँथे । कोभिडका कारण यसपटक एक सांसदलाई केवल दुईवटा टिकट दिइएको छ । शपथका दिन प्रत्येक सांसदले आफूसँगै एक व्यक्ति मात्र पाहुनाका रूपमा ल्याउन सक्छन् । 

स्वास्थ्य प्रोटोकलमा विशेष ध्यान
वालस्ट्रिट जर्नलले शपथ कार्यक्रममा मुख्य गरी कोभिडबाट सुरक्षित रहन प्रोटोकललाई विशेष ध्यान दिइएको जनाएको छ । कार्यक्रममा सहभागी पाहुना, पदाधिकारी तथा सांसदहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने हुन्छ । यसको सबै जिम्मेवारी मेडिकल प्रमुख डा. डेभिड केसलले लिएका छन् । प्र्रत्येक पाहुनाले स्यानिटाइजर गर्नुपर्ने, पन्जा लगाउनुपर्ने तथा ज्वरो नाप्नुपर्ने प्रावधान बनाइएको छ । कोभिडबाट सुरक्षित रहन सबै किसिमको प्रोटोकल अपनाइने डेभिडले बताएका छन् । 

औपचारिक परेड भाषण
सपथ कार्यक्रमपछि राष्ट्रपति तथा उपराष्ट्रपति ‘पास इन रिभ्यु’मा सहभागी हुनेछन् । निकै सानो सैनिक परेडमा राष्ट्रपति तथा उपराष्ट्रपतिले भाग लिनुलाई ‘पास इन रिभ्यु’ भनिन्छ । यसअघिका राष्ट्रपतिको सपथ कार्यक्रममा सैनिक परेड हुँदा निर्वाचित राष्ट्रपतिले सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा भएको सन्देश दिने प्रचलन थियो । यसपालि बाइडेनले यस्तो कुनै पनि कार्यक्रम नराखेको न्युयोर्क टाइम्सले जनाएको छ । 

सैनिक परेडपछि राष्ट्रपति बाइडेनले भाषण दिने कार्यक्रम छ । सो क्रममा उनले आफूलाई जिताउने सबै समर्थक तथा मतदातालाई धन्यवाद दिनेछन् । साथै, उनले आफ्नो कार्यकालमा अमेरिकन जनतासमक्ष सहयोगको अपिल गर्नेछन् । यसपछि बाइडेन क्यापिटल हिलबाट राष्ट्रपति कार्यालय ह्वाइटहाउस जानेछन् । क्यापिटल हिल र ह्वाइटहाउसबीचको दूरी दुई किलोमिटर छ । कोरोना महामारी नभएको भए यो दुई किलोमिटरभित्र पर्ने सडकका दायाँबायाँ कम्तीमा तीन लाखले बाइडेन ह्वाइटहाउस जाँदै गरेको हेर्न सक्थे ।

सन् २००९ मा पहिलोपटक राष्ट्रपति हुँदा बाराक ओबामाको शपथ कार्यक्रम कीर्तिमानले भरिएका थिए । शपथ कार्यक्रममा २० लाख सहभागी भएका थिए । सन् २०१७ मा ट्रम्पले शपथ लिँदा ६ लाख सहभागी थिए । ४६औँ राष्ट्रपतिको शपथ कार्यक्रममा वर्तमान राष्ट्रपति तथा उपराष्ट्रपतिको स्वागत मन्तव्य राखिएको छैन ।

शपथकै दिन निवर्तमान राष्ट्रपति तथा फस्र्ट लेडीको सम्मान कार्यक्रम समावेश गरिन्छ । ट्रम्प नआउने भएपछि यो कार्यक्रम नहुने भएको हो । ६ जनवरीमा क्यापिटल हिलमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले गरेको हिंसात्मक गतिविधिपछि क्यापिटल हिलदेखि ह्वाइटहाउससम्म कडा सुरक्षा व्यवस्था बनाइएको वासिंटन पोस्टले उल्लेख गरेको छ । राजधानी वासिंटन डिसीमा विशेष सुरक्षा सतर्कता हुनेछ । 

शपथको दिन ट्रम्पले के गर्लान् ?
राष्ट्रपति ट्रम्पले निर्वाचनमा पराजित भएलगत्तै आफू शपथ कार्यक्रममा उपस्थित नहुने बताइसकेका छन् । ट्रम्पको कार्यकाल अब तीन दिन मात्र बाँकी छ । अमेरिकी तथा विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले ट्रम्पले २० जनवरीका दिन फ्लोरिडामा एक र्‍यालीको आयोजना गर्न सक्ने जनाएका छन् । यदि उनले र्‍याली आयोजना गरेनन् भने उनी स्कटल्यान्डमा रहेको निजी गल्फ कोर्समा जान सक्नेछन् । ट्रम्प निजी ७५७ बोइङ लिएर फ्लोरिडास्थित मार ए लेगो रिसोर्टमा जाने सम्भावना पनि रहेको बताइन्छ ।
 एजेन्सीहरूको सहयोगमा